नियन्त्रण भएन विद्युत् चोरी

नियन्त्रण भएन विद्युत् चोरी


ललितपुर जिल्लामा विद्युत् चोरी नियन्त्रण हुन सकेको छैन । कार्यालयले अनुगमन र कारबाही गरिरहे पनि चुहावट नियन्त्रण नभएको लगनखेल केन्द्रका प्रमुख वीरेन्द्रकुमार सिंहले बताउनुभयो । संगठितरुपमा चोरी भएकाले नियन्त्रण गर्न गाहो भएको उहाँको भनाइ छ ।

च्यासल, लुखुसी, सुबहाल, सुन्धारालगायतका स्थानमा विद्युत् चोरी भइरहेको छ । नगरको भित्री भाग र चक्रपथ बाहिर विद्युत् चोरी भइरहेको छ । चक्रपथ बाहिर हरिसिद्धि, ठैंब, सानागाउँ, सुनाकोठीलगायतका स्थानमा विद्युत् चुहावट बढी हुने गरेको सिंहले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “स्थानीयको मानसिकता परिवर्तन नगरी चुहावट नियन्त्रण हुँदैन ।”

कार्यालयले नियमित अनुगमन गरिरहेको छ । स्थानीय टोल सुधार समिति र प्रशासनसँग मिलेर विद्युत् चुहावट भए/नभएको अनुगमन भइरहेको छ । अनुगमनका लागि स्थानीय निकाय अग्रसर हुनुपर्नेमा सिंहको जोड छ । उहाँ भन्नुहुन्छ, “स्थानीय निकायले गर्दा बढी प्रभावकारी हुन सक्छ ।”

गत साउनमा मात्रै विद्युत् चुहावट १७.१३ प्रतिशत छ । गत आवको चुहावट १२.६१ प्रतिशत रहेको थियो । आव २०७२/७३ मा १२ प्रतिशत र आव २०७१÷७२ मा १८.८९ प्रतिशत विद्युत् चुहावट रहेको थियो ।