दुर्गममा वित्तीय सेवा अझै पुगेन, बैंक नहुँदा कारोबारमा समस्या

दुर्गममा वित्तीय सेवा अझै पुगेन, बैंक नहुँदा कारोबारमा समस्या


दुर्गममा वित्तीय सेवा अझै पुग्न नसकेको पाइएको छ । सरकारले बैंक तथा वित्तीय संस्थालाई दुर्गममा वित्तीय पहुँच पु–याउन निर्देशन दिएपनि सरकारको निर्देशन बैंकहरुले पालना गरेका छैनन् ।

बैंक स्थापना हुन नसक्दा डडेल्धुरा जिल्लाका पाँचवटा गाउँपालिकामा आर्थिक कारोबार गर्न समस्या भएको छ ।

गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना गर्ने भनिए पनि यहाँका सातवटा स्थानीय तहमध्ये पाँचवटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

आर्थिक कारोबार गर्नका लागि सेवाग्राही मारमा परेका छन् । भागेश्वर, अजयमेरु, आलिताल, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । कार्यालयको काम छोडेर सानो रकमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

आलिताल गाउँपालिकाबाट रु दुई हजार ५०० रकम साँट्न वा जम्मा गर्नका लागि सदरमुकाम पुग्नुपर्ने हुन्छ । आलितालबाट सदरमुकाम आउँदा रु ३०० गाडी भाडा र दुई दिनको खाने बस्न खर्च लगाउँदा सो रकमभन्दा बढी खर्च हुने गरेको छ । आलितालजस्तै अजयमेरु, नवदुर्गा र गन्यापबाट पनि सदरमुकाम आउन जान मात्रै रु एक हजारभन्दा बढी खर्च हुन्छ ।

“बैंकले विविध कारण देखाएर ढिलासुस्ती गरिरहेका छन्,” अजयमेरु गाउँपालिकाका उपप्रमुख कलावती भाटले भन्नुभयो ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ स्थानीय तहमा बैंक नहुँदा जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम धाउँदा स्थानीय तहका कार्यालयको काम प्रभावित हुने गरेको छ । गाउँपालिकाका कर्मचारी र पदाधिकारी सदरमुकाम धाउनमा व्यस्त रहँदा समयमै काम नहुने गरेको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले बैंक स्थापनाका लागि गाउँपालिकालाई आश्वासन दिएको भए पनि हालसम्म स्थापना हुन नसक्दा सेवाग्राहीका साथै स्थानीय तहमा संकलन हुने राजस्व जम्मा गर्न समस्या हुने गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टको भनाइ छ ।

स्थानीयस्तरमा सरकारले कामको थालनी गरेसँगै आवश्यक पर्ने कार्यालय तथा बैंक चाँडो स्थापना गरिनुपर्ने सर्वसाधारण बताउँछन् ।