व्यापार घाटा साढे १ खर्ब पुग्यो, विदेशिने युवाको संख्यामा पनि उच्च गिरावट

व्यापार घाटा साढे १ खर्ब पुग्यो, विदेशिने युवाको संख्यामा पनि उच्च गिरावट


यो वर्षको दुई महिनामै व्यापार घाटा १ खर्ब ५१ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको तुलानामा यसवर्ष साउन, भदौको अवधिमा करिब १२ प्रतिशतले व्यापारघाटा बढेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ४८ दशमलव १ प्रतिशतले बढेको थियो । भदौमा अवधिमा निर्यात–आयात अनुपात ८ दशमलव २ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८ दशमलव ८ प्रतिशत रहेको थियो ।

दुई महिनामा निर्यात ३ प्रतिशतले बढेर १३ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ७ दशमलव ७ प्रतिशतले बढेको थियो ।

उक्त अवधिमा पशु आहार, धागो, तयारी पोश्साक, पिना, वनस्पती घिउलगायतका वस्तुको निर्यात बढेको छ । तर, जुस, अलैंची, उनी गलैंचा, जीआई पाइप, टुथपेस्टलगायत वस्तुको निर्यात घटेको जनाइएको छ ।

भदौसम्म आयात ११ प्रतिशतले बढेर १ खर्ब ६५ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४३ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा भारतबाट भएको आयात ८ दशमलव १ प्रतिशत, चीनबाटको आयात २६ दशमलव ३ प्रतिशत र अन्य मुलुकबाट भएको आयात १० दशमलव ७ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

सो अवधिमा पेट्रोलियम पदार्थ, हवाईजहाजका पार्टपुर्जा, सुन, सिमेन्ट, सञ्चारका साधन तथा पुर्जालगायत वस्तुको आयात बढेको छ । तर, कृषि औजार तथा पार्टपुर्जा, खाने तेल, चाँदी, सेनिटरी वेयर्स, विद्युतीय सामग्रीलगायत वस्तुको आयात घटेको छ ।

यसैविच,साउन र भदौमा १ खर्ब १५ अर्ब ५५ करोड रुपैयाँ रेमिटयान्स मुलुक भित्रिएको छ । यो दुई महिनाको व्यापार घाटाको रकमभन्दा कम हो । गत वर्षको सोही अवधिको तुलनामा यो ०.७ प्रतिशतको वृद्धि हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिटयान्स आप्रवाह ६ दशमलव ६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकको संख्या (पुनः श्रमस्वीकृति बाहेक) मा उच्च गिरावट आएको छ । श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भदौसम्म ७ दशमलव २ प्रतिशतले घटेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १० प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा मलेसिया जाने कामदारको संख्यामा उच्च वृद्धि भएको तर साउदी अरेबिया र कतार जानेको संख्यामा उल्लेख्य गिरावट आएको राष्ट्र बैंकको तथ्यांक छ ।