‘जिएसटी’को मारमा जडिबुटी व्यवसायी !

‘जिएसटी’को मारमा जडिबुटी व्यवसायी !


जडीबुटी निकासीमा भारत सरकारले वस्तु तथा सेवा कर (जिएसटी) लगाएपछि नेपाली जडीबुटी व्यवसायी थप समस्यामा परेका छन् । यसअघि केही वर्षदेखि भारतको उत्तर प्रदेश सरकारले लगाएको ‘ट्रान्जिट परमिट’को मार खेप्दै आएको नेपाली जडीबुटीमाथि हाल आएर वस्तु तथा सेवा कर जिएसटीसमेत लगाइएकाले व्यवसायीले आफूहरू दोहोरो मारमा परेको जनाएका छन् ।

‘ट्रान्जिट परमिट’ का कारण घट्दै गएको जडीबुटी निकासी जिएसटीका कारण झनै घट्ने जडीबुटी व्यवसायी संघ नेपालका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताउनुभयो । उहाँका अनुसार जडीबुटी निकासीमा अवरोध बनेको ‘ट्रान्जिट परमिट’ को झण्झट हटाउन देशभरिका व्यवसायीले माग गर्दै आएका बेला झन जिएसटी थपिएपछि अब निकासीमा ठूलो समस्या भएकोे छ ।

सरकारको जडीबुटी नीति व्यावहारिक नहुँदा देशभित्रै र बाहिर विभिन्न प्रकारका अनावश्यक प्रक्रिया पूरा गर्नुपरेको र विभिन्न थरिका कर तिर्नु परेकाले करोडौँको जडीबुटी व्यवसाय नै धरासायी हुन थालेको उहाँको भनाइ छ ।

मध्यपश्चिमाञ्चलका पहाडी जिल्लाका किसानले उत्पादन र संकलन गरेको जडीबुटी नेपालगञ्जका व्यवसायीले भारतलगायत तेस्रो देशमा निर्यात गर्दै आएका छन् । जडीबुटीको निकासीमा नयाँ कर थपिँदा जडीबुटी किसानबाट मूल्य घटाएर जडीबुटी खरिद गर्नुपर्ने अवस्था सिर्जना भएको व्यवसायीको भनाइ छ । त्यसले गर्दा किसानलाई पनि समस्या पर्ने निश्चित भएको छ ।

बाँकेबाट रासस प्रतिनिधिले जनाएअनुसार जडीबुटी निकासीका लागि सिमानामा पुगेपछि विभिन्न अवरोध गरिँदा व्यवसायीले जडीबुटीअनुसार किलोको दरले अनावश्यक खर्च पनि तिर्नु परेको उनीहरूको गुनासो छ । जडीबुटी भारत निकासी गर्दा व्यवसायीले जडीबुटीअनुसार किलोका दरले अनावश्यक खर्च नदिँदासम्म विभिन्न निकायले विभिन्न बहानामा रोक्ने र दुःख दिने गरेका छन् ।

सिमानामा भारतीय सुरक्षाकर्मी र भन्सारका कर्मचारीलाई खर्च नदिँदा झन समस्या भई जडीबुटी नाकामै लामो समयसम्म थन्काउनु पर्दा कुहिन थालेपछि अनावश्यक खर्च दिएर निकासी गरिरहेको एक व्यवसायी बताउँछन् । ‘ट्रान्जिट परमिट’ प्रणाली लागू भएपछि निकासी झन्झटिलो हुँदा अधिकांश व्यवसायीले निकासी नै बन्द गरेपछि धेरै गोदाममा थन्किएको छ ।

नेपालगञ्ज नाकाबाट भारत, अमेरिका, चीन, पाकिस्तान, बंलादेश, फ्रान्स, स्विजरल्याण्ड, अस्ट्रेलिया, जर्मनलगायतका मुलुकमा जडीबुटी निर्यात हुँदै आएको छ । ती मुलुकमा रिठ्ठा, अमला, टिम्मुर, काउलो, सतुवा, बोझो, सालनदाना, चिराइतो, प्राउनबोक्रा, सुठो, सोफनल, दालचिनी, अमरदाना, जटामसीलगायतका जडीबुटी निर्यात हुने गर्छन् ।