बुटिक व्यवसायमा महिलाको आकर्षण, घरमै बसेर मनग्य आम्दानी

बुटिक व्यवसायमा महिलाको आकर्षण, घरमै बसेर मनग्य आम्दानी


आर्थिक अवसर, खुला परिवेश, अनि ‘म पनि केही गर्न सक्छु’ भन्ने महत्वाकांक्षी भावनाले महिलाहरु परम्परागत चुल्होचौकोबाट बाहिर निस्किएर उद्योग व्यवसायमा लागेका छन् ।

यसैक्रममा मोरङको उर्लाबारीमा बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी उर्मिला राई (श्रेष्ठ) सफल महिला उद्यमी भएर समाजमा ज्वलन्त उदाहरण बनेकी छिन् । उर्लाबारी –३ निवासी राईले सञ्चालन गरेको अविश बुटिक पछिल्लो समय बुटिक पारखीका बीच लोकप्रिय बन्दै गएको छ ।

फेशनको आधुनिक दुनियामा रमाउन चाहने पछिल्लो युवापुस्तामाझ उनको बुटिक डिजाइन लोकप्रिय बन्दै जाँदा उहाँले व्यवसायको दायरासमेत बढाएर लागेकी छिन् । पाँच वर्षअघि उर्लाबारी–२ मधुमल्ला रोडमा करिब पाँच लाखको लागतमा सञ्चालन गरेको उनको व्यवसाय हाल ३० लाख बराबरको बन्न पुगेको छ । कुनै समय स्थानीय स्तरमा मात्र सीमित उनको निर्माण सामग्री पछिल्लो समय देशका विभिन्न भूभागमा मात्र नभएर विदेशमा समेत रुचाइएको पाईन्छ ।

लेङ्गा, कुर्ता सुरुवाल, साडी आदीमा आकर्षक बुट्टा भरेर डिजान गर्न माहिर उनको व्यवसायले अमेरिका, बेल्जियम, अष्ट्रेलिया, हङकङ जस्ता देशहरुमा बस्दै आएका नेपाली महिलाहरुको मन जित्न सफल भएको छ । उनी त एउटा प्रतिनिधि पात्र हुन् । पथरी शनिश्चरे–१ की मनमायाँ लिम्बु पनि बुटिक व्यवसाय सञ्चालन गर्दै आएकी छिन् । उनले पाँच जनालाई रोजगारीसमेत दिएकी छिन् ।

त्यसैगरी पथरी ८ की निर्मला धिमालले बुटिक व्यवसाय सञ्चालन गरेर राम्रो भविष्य खोजिरहेकी छिन् । निर्मलाले तीन जनालाई रोजगारी दिएकी छिन् । त्यसो त उहाँले डिजाइन गरेको बुटिकका विभिन्न पहिरनहरु स्थानीय कलाकारदेखि राष्ट्रियस्तरका कलाकारहरुले विभिन्न कार्यक्रमहरुमा समेत लगाइ सकेको उनको भनाई छ । तीन दर्जन भारतीय तथा नेपालीलाई रोजगारसमेत उपलव्ध गराउन सफल उनीहरुले बुटिकका सामग्री निर्माणसँगै यसैमा आफनो भविष्य खोज्ने नयाँ पुस्तालाई समेत तालीम दिँदै आएका छन ।

राससका अनुसार उनले स्वदेशमै व्यवसाय गर्नेदेखि लिएर वैदेशिक रोजगारीमा जाने जो कोहीलाई समेत उहाँहरुले सुलभ मूल्यमा तालीमको आयोजना गरेकी छिन् । फेसन डिजाइन आफैँमा सिर्जनासँग सम्बन्धित भएकाले यसमा नयाँपन र परिवर्तनको अपेक्षा गरिन्छ । फेसन डिजाइनिङ अहिले विश्वमै करिअर निर्माणका लागि आधार बनेको छ ।