क्याटलोनिया स्वतन्त्रता घोषणापछि उब्जिएका प्रश्न

क्याटलोनिया स्वतन्त्रता घोषणापछि उब्जिएका प्रश्न


–दिलीप शर्मा

स्पेनबाट स्वतन्त्र हुने वा नहुने बिषयमा विवादास्पद निर्णय लिएको एक महिना नपुग्दै स्पेनको क्याटलोनिया क्षेत्रको संसद्ले शुक्रबार स्वतन्त्रताको पक्षमा मतदान गरेको छ । क्याटलोनियाको स्वतन्त्रताका लागि निर्णय लिने सन्दर्भमा भएकोे गोप्य मतदानलाई एकताका पक्षधरहरुले बहिष्कार गरेका छन् ।

क्याटलोनिया संसदमा रहेका १३५ सदस्यमध्ये एकता पक्षधर करिब ५० सांसदले स्वतन्त्रता घोषणा गर्न संसदबाट अनुमोदन गराउन भएको मतदानमा उपस्थिति जनाएनन् अर्थात् मतदानलाई बहिस्कार गरे ।

मतदानमा सहभागी ८२ जनामध्ये स्वतन्त्रताको पक्षमा ७० जनाले मतदान गरे भने विपक्षमा १० मत प¥यो । दुई सांसद्ले मतपत्रमा कुनै पनि समूहको पक्षमा मतदान गरेनन् अर्थात् मतपत्र खाली खसाले ।

स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटलोनियाले अक्टोबर १ मा विवादास्पद जनमत संग्रह गरेको थियो । स्पेनको सन् १९७८ को संविधानले आत्मनिर्णयको अधिकारको प्रावधान नरहेकोले क्याटलोनिया ले जनमतसङ्ग्रहमार्फत स्वतन्त्रताको पक्षमा लिइएको निर्णय कानून विपरीत हुने वा नहुने यहाँको उच्च अदालत तथा केन्द्र सरकार र प्रशासकको अडान छ । त्यसैले जनमतसङ्ग्रहलाई अवैध भनिँदै आएको छ ।

यसमा स्पेनी राजा, संवैधानिक अदालत तथा प्रधानमन्त्री लगायत एकताका पक्षधर नेताहरूको एक मत छ । यूरोपेली महासङ्घ पनि स्पेनको विखण्डनको विपक्षमा नै देखिएको छ । इयू प्रमुख डोनाल्ड टस्कले केही दिन पहिले इयूलाई स्वतन्त्रताको पक्षमा मध्यस्थता गर्न कारलस पुज्डमोनले गरेको अनुरोधलाई अस्वीकार गर्नुभएको थियो । क्याटलोनियाको संसद्ले स्वतन्त्रताको पक्षमा मतदान गरेको भन्दै क्षेत्रीय सरकारले शुक्रबार नै क्याटलोनियाको स्वतन्त्रता भएको घोषणा गरेको छ ।

इतिहास

स्पेनको उत्तरपूर्वी भागमा रहेको क्याटलोनियाकोे राजधानी बार्सिलोना हो । आधुनिक स्पेन र पोर्चुगलसमेत रहेको आइबरेनियन प्रायद्वीप क्षेत्रमा रहेको आरागनकी रानी पेट्रोनिलीया र बार्सिलोनाका धनाढ्य राजा रामोन बेरेन्गुएर चौँथोबीच विवाह भएपछि आरागन र क्याटलोनिया लाई आफ्ना सन्ततिका लागि सन् ११५० स्थापना गरिदिएको राज्य थियो । यसका आफ्नै भाषा, कानून र रीतिरिवाज थिए । उक्त राज्य राजा फिलीप पाँचौँले शासन सम्हाल्नुुपूर्व निर्विवाद रह्यो । सन् १७०७ मा भेलेन्सिया, सन् १७१४ मा क्याटलोनियालाई पराजित गर्दै अन्तिममा सम्पूर्ण प्रायद्वीपमा राजा फिलीप पाँचौँले कब्जा गरेपनि असन्तुष्ट पक्षले त्यसवेलादेखि नै आफ्नो भाषा, भूमि, संस्कृति र जनताको स्वतन्त्रताका लागि सङ्घर्ष जारी राखे ।

सोही समयदेखि क्याटलोनिया ली राष्ट्रवादीहरूले निरन्तर रूपमा स्पेनबाट विभिन्न अधिकारका माग गरिरहेका थिए । स्वतन्त्रताका लागि भएको प्रयासले २०० बर्षको निरन्तरको चर्को दबाबपछि सन् १९३२ मा स्पेन सरकारबाट क्याटलोनिया लाई स्वायत्तताको अधिकार दिएको थियो ।

तर, सात बर्षपछिनै सन् १९३९ मा स्पेनमा फ्रान्सिस्को फ्रान्को शक्तिमा आएसँगै क्याटलोनियालीले प्राप्त गरेका सीमित उपलब्धि पनि खोसिए । फ्रान्कोले नियोजित ढंगले क्याटलोनिया ली राष्ट्रवादप्रति भएका सम्पूर्ण प्रयत्नलाई दबाएका थिए । उनको शासन कालमा शुद्धीकरणका नाममा हजारौँ क्याटलोनियालीलाई मृत्युदण्डसमेत दिइएको बताइन्छ । सन् २००६ मा स्पेनले क्याटलोनियालाई अलग राज्यको मान्यता र कर संकलन गर्न सक्ने अधिकार प्रदान गरेको थियो । तर, सन् २०१० मा स्पेनको संवैधानिक अदालतले सरकारको उक्त निर्णयलाई अवैध घोषणा गरिदियो ।

क्याटलोनिया स्पेनकै सबैभन्दा धनी क्षेत्र हो । यहाँ ठूला उद्योगधन्दा छन् । स्पेनका धातु, खानेकुरा प्रशोधन गर्ने उद्योगधन्दा, औषधि तथा रसायनसँग सम्बन्धित उद्योग क्याटलोनियामा नै छन् । यहाँ बार्सिलोनालगायतका प्रख्यात स्थान छन् जसले बर्सेनी लाखौँ पर्यटक आकर्षित गरेको छ । स्पेनको कुल जनसंख्याको १६ प्रतिशत ओगटेको यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशतको योगदान दिएको छ ।

स्वतन्त्रता घोषणासँगै उब्जिएको सङ्कट

सो मतपरिणाम सुनेर क्षेत्रीय संसदभवन बाहिर भेला भएका स्वतन्त्रता पक्षधर समूहले खुशी व्यक्त गरेका थिए तर मत परिणाम आएसँगै क्याटलोनियाको राजनैतिक परिवर्तनले आर्थिक सङ्कट चुलिएर जानसक्ने सङ्केत शुक्रबारनै यहाँको सेयर बजारले देखाएको छ । स्वतन्त्रताको पक्षमा मतदान भएपछि सेयर बजारमा भारी गिरावट आएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्पेनको केन्द्र सरकारले क्याटलोनियाको संसदले गरेको निर्णय स्पेनी कानून विपरीत भएको हवाला दिँदै म्याड्रिडलाई यो मान्य नहुने भन्दै क्याटलोनियामाथि हस्तक्षेप गर्ने संवैधानिक शक्तिको अभ्यास गर्ने तयारी गरेको बुझिएकोे छ । प्रधानमन्त्री मारिआनो राखोइले क्याटलोनिया प्रशासनलाई भंग गर्न केन्द्रिय संसद् ९सिनेट०को अनुमति माग्नुभएको छ । सम्भवत शनिबारनै स्पेनी प्रधानमन्त्रीे राखोयले क्याटलोनियाबारे अवलम्बन गरिने नीतिको घोषणा गर्नुहुनेछ ।

उहाँले सिनेटरहरुसमक्ष क्याटलोनियामाथि प्रत्यक्ष शासन गर्ने प्रस्ताव पेश गर्नुभएको छ भने क्याटलोनियाली क्षेत्रका नेता पुज्डमोन, उहाँका उपराष्ट्रपति तथा सबै क्षेत्रीय मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको छ ।

प्रधानमन्त्रीको मागप्रति सिनेटमा समर्थन रहेको बताइन्छ तर यसको पुष्टि हुन अब लामो समय नपर्खिनु पर्ला । राखोईले अर्को कुनै विकल्प नै नभएकाले क्याटलोनियामा “कानून, प्रजातन्त्र र स्थायित्व” फर्काउन आफूले कडा कदम चाल्नु परेको उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्रीले क्याटलोनिया को क्षेत्रीय सरकार भङ्ग गरी नयाँ निर्वाचनका लागि आगामी डिसेम्बर २१ मा मिति तोक्नुभएको छ ।

प्रधानमन्त्रीले क्याटलोनियाली क्षेत्रीय निर्णयबाट स्पेनको राजनितीमा कुनै प्रभाव नपर्ने भन्दै नागरिकलाई शान्त रहन आग्रह गर्नुभएको छ । उहाँले क्याटलोनिया मा विधिको शासन पुनः स्थापना गरेरै छाड्ने अडान व्यक्त गर्नुभयो ।

स्वतन्त्रताको पक्षमा गरिएको मतदान र केन्द्र सरकारले विधिको शासन गर्ने घोषणासँगै स्पेनमा राजनैतिक संकट थप चर्किने शङ्का स्पेनवासीमा सन्त्रास फैलिएको छ । केन्द्र सरकारले अब क्याटलोनियामा प्रत्यक्ष शासन गर्ने जनाएको छ ।

दुई साताअघि क्याटलोनियाका विखण्डनकारी नेता विद्राही नेता पुज्डमोनले सरकारले स्पेनबाट अलग हुने निर्णय गरेको, तर त्यसको कार्यान्वयन केही सातापछि मात्र गरिने घोषणा गरेको थियो । सो घोषणासँगै स्पेन सरकारसँग वार्ताका लागि क्याटलोनियाका विखण्डनकारी नेताहरूले अन्तर्राष्ट्रिय मध्यस्थताका लागि आह्वान गरेका थिए । यसलाई यूरोपियन यूनियनले अस्वीकारनै गरेको थियो भने अन्यत्रबाट पनि पहलकदमी भएन । यसको अर्थ यो हो कि क्याटलोनिया को स्पेनसँग छुट्टिने निर्णयलाई सघाउन अहिलेसम्म कसैले अग्रसरता देखाएको छैन ।

अक्टोबर १ मा स्पेन प्रहरीको हस्तक्षेपका बीच सम्पन्न जनमत संग्रहमा ९० प्रतिशतले स्वतन्त्रताको पक्षमा मतदान गरेको क्याटलन सरकारले दाबी गर्दै आएको छ । स्पेनको संवैधानिक अदालतले सो जनमत संग्रह अवैधानिक भएको जनाएको थियो । क्याटलोनियालाई विखण्डनकारीले स्वतन्त्रता घोषणा गरेलगत्तै स्पेनी प्रधानमन्त्री राखोयले सम्पूर्ण स्पेनवासीलाई शान्त रहन आग्रह गरे । क्याटलोनियालाई केन्द्रीय सरकारको अधिनमा राख्ने उनले बताए ।

यसैबीच, स्पेनी संसद्ले संविधानको धारा १५५ बमोजिम क्याटलोनियालाई दिएका सम्पूर्ण अधिकार खोस्ने विषयमा मतदान गर्ने तयारीमा रहेको छ । धारा १५५ ले स्वायत्तता निलम्बन गर्ने पूर्ण अधिकार सरकारलाई छैन । यसलाई संसद्ले अनुमोदन गर्नुपर्छ । केन्द्र सरकारले क्याटलोनियामा विखण्डनकारी नेतालाई पक्राउ गर्ने, त्यहाँको वित्तीय कम्पनी, प्रहरी र सार्वजनिक सञ्चार माध्यममाथि नियन्त्रण गर्ने तयारीसमेत गरेको सञ्चारमाध्यममा खबर आएका छन् । केन्द्र सरकारले संविधानको धारा १५५ सक्रिय तुल्याउने बताएको छ जसअनुसार क्याटलोनियामा पहिलो पटक केन्द्र सरकारको प्रत्यक्ष शासन हुनेछ ।

स्पेनको केन्द्रीय सरकारले क्याटलोनिया क्षेत्रका प्रहरी प्रमुखलाई पदमुक्त गरिसकेकोे छ । क्याटलोनियाको क्षेत्रीय संसद् र सरकारलाई भङ्ग गरिएको घोषणा गरेको भोलिपल्ट केन्द्रीय सरकारले क्याटलोनियाका क्षेत्रीय प्रहरी प्रमुखलाई बर्खास्त गरेको हो ।

स्पेनी राजा फेलिप छैटौँले क्याटलोनिया स्पेनको ‘महत्वपूर्ण हिस्सा रहेको र रहिरहने’ बताउनुभएको थियो । क्याटलोनिया स्वतन्त्रतासम्बन्धी विवादमा स्पेनी राजाको योे दोस्रो पटकको हस्तक्षेप हो ।

उत्तरी शहर अभिएदोमा आयोजित एउटा पुरस्कार वितरण समारोहमा बोल्दै राजा फेलिपेले क्याटलोनिया ली सरकारले विभाजन सिर्जना गरिरहे पनि स्पेनले लोकतान्त्रिक संस्थामार्फत समस्याको हल गर्ने कुटनैतिक प्रतिक्रिया दिनुभएको थियो ।

क्याटलोनिया लाई स्वतन्त्र हुन दिनुपर्ने माग गर्दै बार्सिलोनामा हजारौँ विद्यार्थीसहित प्रदर्शकारीले केन्द्र सरकारविरुद्ध बिहीबार जुलुसमा सहभागिता जनाए । यसबाट क्याटदोनीयाली विखण्डनकारी नेतालाई उर्जा मिलेको पाइन्छ । विश्वका कुनै पनि आन्दोलन युवा विद्यार्थीको समर्थन पछि तात्ने तथा निर्णायक बन्ने गरेका छन् । शुक्रबारै स्वतन्त्रताको पक्षमा मतदान भएको छ । क्षेत्रीय सरकारको अधिकार कटौती गर्ने वा नियन्त्रण गर्ने केन्द्रीय सरकारका विरुद्धमा विद्यार्थीले गरेको नाराबाजी क्षत्रीयसरकारका लागि केन्द्रसँगको सम्बन्ध भत्काउन बलियो नैतिक आधार पनि भएको छ । क्याटलोनियाली युवाको भविष्य स्पेनबाट नछुट्टिएको अवस्थामा अन्धकार हुने क्याटलोनियाली नेता पुज्डमोनले बताउनुहुन्छ ।

स्वतन्त्रताको विपक्षमा केन्द्र सरकारसँगै उभिएको स्पेनको विपक्षी दलका अनुसार आउँदो जनवरीमा क्याटलोनियामा संसद्को चुनाव गराउने योजना छ ।


(विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाकोे सहयोगमा तयार)