जसले तीस महिलालाई एचआईभी संक्रमित तुल्याए !

जसले तीस महिलालाई एचआईभी संक्रमित तुल्याए !


इटलीका ३३ वर्षीय भ्यालेन्टिनो तलुटो सन् २००६ देखि नै एचआईभी संक्रमित थिए । आफ्नो अवस्थाबारे उनलाई राम्रो जानकारी थियो । तर, आफू एक संक्रमित भएर पनि उनले जानीबुझीकन ५३ जना महिलासँग शारीरिक सम्बन्ध राखे, जसमध्ये तीस महिला उनकै कारण एचआईभी संक्रमित बन्न पुगे ।

ती मध्येका एक किशोरी त जम्मा १४ वर्षकी थिइन् जोसँग भ्यालेन्टिनोले यौन सम्बन्ध शुरु गरेका थिए ।

समाचार एजेन्सी एएफपीका अनुसार यौन सम्बन्धका क्रममा जब महिलाले कण्डोम प्रयोग गर्न आग्रह गर्थे, त्यस्तोबेला भ्यालेन्टिनो कण्डोमले आफूलाई एलर्जी हुने तर्क दिँदै खुल्ला सम्पर्क गर्दथे । यति मात्र होइन, उनी महिला पार्टनरलाई आश्वस्त तुल्याउन ‘आफूले भर्खरै मात्र एचआइभी टेस्ट गराएको, निगेटिभ रिपोर्ट आएको छ’ भनी बनावटी कुरा गरेर ढाँट्दथे ।

भ्यालेन्टिनोसँगको यौन सम्पर्कपछि आफूलाई एचआईभी भएको शंका लागेर उनसँग प्रश्न गर्ने महिलाहरुलाई पनि उनी ‘होइन… मलाई त त्यस्तो समस्या छैन’ भन्दै सहजै ढाँट्दथे ।

तर, ढाँटछल धेरै समय टिकेन । उनको जघन्य कर्तुत खुलासा भयो, र अब त उनलाई २४ वर्षको जेल सजायसमेत तोकिएको छ ।

भ्यालेन्टिनोले महिलाहरुसँग राखेको सम्बन्धका कारण अन्य तीन पुरुष र एक बच्चालाई समेत एचआईभीले गाँजेको पाइएको छ । तैपनि उनका वकिलले मानिसहरुको आफ्नै असावधानीले यस्तो भएको जिकीर गरेर अदालतमा सुनुवाईका बेला उपस्थित पीडितहरु लगायतका मानिसलाई स्तव्ध तुल्याए ।

पीडितपक्षले जन्मकैदको सजाय माग गरेका भए पनि अदालतले चाहिँ जम्मा २४ वर्षको सजाय सुनाएको छ । यसबाट पीडक भ्यालेन्टिनोले आफूलाई अन्याय परेको ठानेका छन् भने पीडित महिलाहरुले पनि उसलाई थोरै सजाय गरेको भन्दै आफूहरुमाथि अन्याय भएको नै महसुस गरेका छन् । (एजेन्सीहरुको सहयोगमा)