एसियाडमा पत्तासाफ-श्रीविक्रम भण्डारी

एसियाडमा पत्तासाफ-श्रीविक्रम भण्डारी


नेपाल लँगौटी फुस्कनबाट बच्यो
ग्वान्झाउमा हालै सम्पन्न भएको १६औँ एसियाली खेलकुदमा नेपालको पत्तासाफ भएको छ । नेपालले २० वटा खेलमा सहभागिता जनाए पनि हात लाग्यो शून्य भएको छ । पदकको आशा गरिएका खेलका खेलाडीहरूले सोचेअनुरूप प्रदर्शन गर्न नसक्दा नेपालले यो नियति भोग्नुपरेको हो । बजेटको अभाव, राष्ट्रिय खेलकुद परिषद् र ओलम्पिक कमिटीको विवादले पनि खेलाडीहरूको प्रदर्शनमा निकै प्रभाव पारेको थियो । खेलाडीको तयारीभन्दा पनि आफ्नो दुनो सोझ्याउन लागिपरेका खेलकुद पदाधिकारीको रवैयाले गर्दा एसियाडमा नेपालको प्रदर्शन लाजमर्दो भएको हो । विगतका एसियाडमा मार्शल आर्टस्का खेलहरूले एसियाडमा नेपाललाई पदक दिलाउँदै आए पनि ग्वान्झाउ एसियाडमा भने पूर्ण रूपमा असफल भएका छन् । बिनातयारी ‘खाए खा नखाए घिच’को अवस्थामा एसियाडमा प्रतिस्पर्धा गर्न पुगेका खेलाडी अहिले नमीठो पराजयको स्वाद चाखेर स्वदेश फर्केका छन् । खेलकुदप्रति सरकारको रवैया, खेलकुद पदाधिकारीको हानथाप र विवादले गर्दा एसियाडमा नेपालको योे दुर्दशा भएको हो भन्दा अतिसयोक्ति नहोला ।
पहिलो एसियाडदेखि नै एसियाली खेलकुदमा सहभागिता दिँदै आएको नेपालको छवि यसपटक नराम्रोसँग धुमलिन पुगेको छ । तीन करोड ३३ लाख खर्च गरेर ग्वान्झाउ एसियाडमा सहभागिता जनाएको नेपालको हातमा केवल एउटा कास्य पदक हात लागेको छ । पदकको आशा गरेका खेलहरूले आत्मसमर्पण गरिसकेको अवस्थामा बक्सिङले कास्य पदक दिलाएर नेपालको नाङ्गिइसकेको इज्जतलाई बचाएको थियो । दीपक महर्जनले सोचेभन्दा उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा थाइल्यान्डका खेलाडीमाथि विजय हासिल गरेपछि नेपाल लँगौटी फुस्कनबाट बचेको थियो । एसियाडअघि दीपकबाट कसैले पदकको आशा गरेको थिएन । राष्ट्रको इज्जत दाउमा लागेको अवस्थामा दीपकले जुन साहसिक प्रदर्शन गरेर मुलुकलाई पदक दिलाए त्यो गुन सायदै कसैले बिर्सर्ेे । दीपकले जितेको कास्य पदक अहिले मुलुकका लागि अनमोल रत्नझैं भएको छ । हिजोसम्म खेलकुदमा दीपकको उपस्थितिलाई कर्केनजरले हेर्नेहरू अहिले उनको प्रशंसक बनेका छन् । बलेको आगो मात्र ताप्ने मानसिकताबाट ग्रस्त खेलकुद पदाधिकारीलाई अहिले नराम्रो थप्पड हान्न सफल भएका छन् दीपक ।
अब कुरो आउँछ, एसियाडमा सहभागिताका लागि सहभागिता कहिलेसम्म दिने ? नेपालका लागि सहभागिता नै ठूलो कुरा हो भने त केही छैन, अन्यथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता दिँदा सयौँचोटि सोच्ने बेला भइसकेको छ । अन्तर्राष्ट्रिय प्रतियोगिता भन्नेबित्तिकै त्यसमा राष्ट्रको प्रतिष्ठा जोडिएको हुन्छ । राष्ट्रको प्रतिष्ठा गाँसिएको प्रतियोगितामा सहभागिता गराउन सरकारले विशेष रूपमा ध्यान दिनुपर्छ । बजेटदेखि लिएर सम्पूर्ण तयारीको समयमै व्यवस्था गर्नुपर्छ । निश्चित खेलहरू जसले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सक्छन् त्यस्तालाई विशेष प्राथमिकतामा राख्नुपर्छ । एसियाली खेलकुदको इतिहास पल्टाउँदा नेपालले अहिलेसम्म मार्शल आर्टस् र पावर गेममा मात्र पदक जित्न सफल भएको छ । वास्तविकता यस्तो छर्लङ्ग हुँदाहुँदै पनि सहभागिताका लागि मुलुकको मानमर्दन गर्न कदापी मिल्दैन । तर, यसपटक यस्तै भएको छ । राखेपले १४ वटा खेल छनोट गरे पनि अवैधानिक ओलम्पिक कमिटीले राष्ट्रियस्तरमा समेत कुनै अस्तित्व नभएका खेललाई एसियाडमा सहभागिता गराएर मुलुकको हुमत लिने कार्य गरेको छ । उदाहरणका लागि जिम्न्यास्टिक खेललाई लिनु उपयुक्त होला । जसको राष्ट्रिय प्रतियोगितासमेत नभएको दशक बितिसकेको छ, त्यस्तो खेललाई एनओसीले के स्वार्थले एसियाडमा समावेश गर्‍यो ? प्रश्न गम्भीर बनेको छ ।
ओलम्पिकपछिको सबैभन्दा ठूलो चाडको रूपमा लिइने एसियाडमा अहिले सरकारभन्दा व्यक्तिहरू हावी भइरहेका छन् । जसले गर्दा अहिले अन्तर्राष्ट्रियस्तरमा नेपालले घोर बेइज्जतिको सामना गर्नुपरेको छ । जिम्न्यास्टिक खेललाई एसियाडमा सहभागिता गराएर नेपालले के पायो त ? प्रश्न उठ्नु स्वाभाविकै हो । आफ्नो हातमा डाडु-पन्यु छ भन्दैमा मुलुकको प्रतिष्ठामाथि खेल्ने अधिकार कसैले पनि गर्न मिल्दैन । तर, १६औँ एसियाडमा भयो यस्तै, ध्रुवबहादुर प्रधानले विवादित जिम्न्यास्टिकलाई एसियाडमा सहभागिता गराएर नेपालको इज्जतको च्रि्राच्रि्रा गर्ने दुस्साहस गरे । स्मरण रहोस्, यो खेलका खेलाडीहरूले एसियाडमा नेपालको इज्जतको धज्जी उडाउनसम्म उडाएका थिए । एसियाडमा जिम्न्यास्टिक खेलाडीहरू हाँसोका पात्र बनेका थिए । हचुवाको भरमा लगेका खेलाडीले लाजमर्दो प्रदर्शन गरेका थिए । प्रधानको स्वार्थका अगाडि बलिको बोका बनेका खेलाडीहरूले राष्ट्रका लागि खेले पनि रमिते बनेका प्रधानचाहिँ उनीहरूको प्रदर्शनमा ताली बजाएर काटिएको घाउमा नुनचूक दल्ने कार्य गरिरहेका थिए ।
बिनातयारीको परिणाम कस्तो आउँदोरहेछ त्यसलाई सबैले आत्मसात् गर्नुपर्ने जरुरी भइसकेको छ । अझ एसियाली खेलकुदजस्तो महत्त्वपूर्ण प्रतियोगितामा बिनातयारी उत्रिनु लाजमर्दो हुने ग्वान्झाउ एसियाडको परिणामले प्रस्ट पारेको छ । तर्सथ खेलाडीहरूले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउनुअघि आफूलाई दोहोर्‍याई-तेहेर्‍याई ऐनामा हेर्नुपर्ने जरुरी भइसकेको छ । खेल्न पाउनु मात्रै उपलब्धि होइन, आफू के उद्देश्यका साथ सहभागिता जनाउन लागेको हो त्यसको बारेमा जान्नुपर्ने भइसकेको छ । १० मिनेटको खेलले हिरो र जिरो बनाउने भएकोले आफ्नो औकातलाई खेलाडीहरूले कदापी बिर्सनुहुँदैन । एघारौँ सागमा हिरो बनेका प्राय: सबै खेलाडी ग्वान्झाउ एसियाडमा जिरो बनेका छन् । हिजो उनीहरूको हाईहाई थियो भने अहिले उनीहरू बाईबाईको अवस्थामा पुगेका छन् । तर्सथ खेलाडीहरूले पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्नुअघि आफ्नो तयारी र प्रशिक्षणको मूल्याङ्कन गर्न जरुरी भइसकेको छ । कसैको दबाब वा हचुवाका भरमा प्रतिस्पर्धामा उत्रिँदा वर्षौंको मिहिनेतले कमाएको प्रतिष्ठा पनि दाउमा लाग्ने भएकोले खेलाडीहरूले पटक-पटक सोच्नुपर्ने भइसकेको छ ।
यसरी समग्र रूपमा १६औँ एसियाडमा नेपाली खेलाडीको प्रदर्शनको विश्लेषण गर्दा बिर्सनलायक रह्यो भन्दा अतिसयोक्ति नहोला । दीपक महर्जनबाहेक सबै खेलाडी पदक जित्न असफल रहे । र पनि, केही खेलमा अझै पनि नेपालको सम्भावना बढेर गएको छ । १६औँ एसियाडमा बक्सिङ खेलाडीहरूले गरेको प्रदर्शन प्रशंसायोग्य रह्यो । बक्सिङका खेलाडीहरू सेमिफाइनल र क्वाटरफाइनलमा पुग्ने कसैले विश्वासै गरेको थिएन । तर, बक्सिङका खेलाडीले गरेको प्रदर्शनले नेपालीको मन जितेको छ । भलै एउटै पदक मात्र जित्न सफल भए पनि नेपालका लागि त्यो शान र गौरवको कुरा बनेको छ । पदकको निकै आशा गरिएका र विगतका एसियाडमा पदक जित्दै आएका तेक्वान्दो र करातेको यसपटक निराशाजनक प्रदर्शन रह्यो । एघारौँ सागमा सफलताको झण्डा गाडेका यी खेलहरूको प्रदर्शनमा निखार ल्याउन र खेलाडीलाई प्रोत्साहन गर्न राखेपले समयमै उचित कदम उठाएन भने भविष्यमा नेपालको योभन्दा पनि खराब हालत नहोला भन्न सकिँदैन । त्यसैले समयमै चेतना भया ।

सर्वोच्चको मानहानि
एनओसीको ८० हजार डलर गायब
विभिन्न कारणले विवादमा परेको अवैधानिक ओलम्पिक कमिटी पुन: विवादमा परेको छ । सर्वोच्चको आदेशको खिल्ली उडाउँदै अध्यक्ष ध्रुवबहादुर प्रधान र महासचिव जीवनराम श्रेष्ठले गैरकानुनी हर्कत गरेपछि एनओसी विवादमा तानिएको हो । सर्वोच्चको फैसलासँगै एनओसीको खाता रोकिए पनि श्रेष्ठ र प्रधान चलाखीपूर्वक विभिन्न बैंकहरूबाट रकम झिक्न सफल भएका थिए । उनीहरूले प्राइम, ग्लोबल, स्ट्यार्डड चार्र्टर्ड र बैंक अफ एसियाबाट ८० हजार डलर निकाल्न सफल भएको सूत्रले दाबी गरेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी -आईओसी) ले नेपाली खेलकुद र खेलाडीहरूको विकासका लागि प्रदान गरेको उक्त रकम प्रधान र श्रेष्ठ मिलेर झ्वाम पारेको खुलासा भएको छ । एनओसीका अन्य पदाधिकारीलाई समेत जानकारी नगराई प्रधान र श्रेष्ठले रकम हिनामिना गरेपछि अहिले एनओसीभित्रै ठूलो रडाको मच्चिएको छ ।
१६औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागिताका लागि आयोजक कमिटीले एनओसीलाई ३५ वटा फ्री टिकट उपलब्ध गराएको थियो । जसमध्ये अध्यक्ष प्रधानले १६ र महासचिव श्रेष्ठले १४ वटा आपसमा बाँडेका थिए । सो टिकटमा दुई छोरा र श्रीमतीसहित श्रेष्ठ ग्वान्झाउ पुगेका थिए भने बाँकी टिकट एमाले नेता योगेश भट्टराई र कार्यकर्तालाई बाँडेका थिए । स्मरण रहोस्, खेलाडीको टिकटमा भट्टराईदम्पती ग्वान्झाउ पुगेको समाचार यसअघि नै छापाहरूमा प्रकाशित भइसकेको छ । त्यस्तै अन्य १६ वटा टिकट प्रधानले आफ्ना ज्वाइँ, केही सञ्चारकर्मी र आसेपासेलाई बाँडेको थाहा भएको छ । प्रधानले पार्टीका कार्यकर्तालाई ग्वान्झाउ सयर नगराएपछि अहिले उनको पार्टीमा चर्को विरोध भइरहेको छ । बाँकी पाँच टिकट कसलाई दिइयो त्यसको बारेमा कुनै जानकारी आएको छैन ।
अवैधानिक ओलम्पिक कमिटीको गैरकानुनी हर्कतले सीमा नाघेपछि तीन साताअगाडि प्रगतिशील खेलकुद महासङ्घले सातदोबाटोस्थित एनओसीको कार्यालयमा ताल्चा लगाएको थियो । महासङ्घले एघारौँ साग, ओलम्पिक काङ्ग्रेस र १६औँ एसियाडका लागि आएको हजारौँ डलरको हिसाब माग्दै एनओसीमा ताल्चा लगाएको हो । रूपक ममोरियल फाउन्डेसनमा रहेको एनओसीको कार्यालयको ताल्चा खुलाउन प्रधानले उक्त फाउन्डेसनका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दीपकुमार उपाध्यायलाई ग्वान्झाउबाट फोन गर्दै हारगुहार गरेको थाहा भएको छ । उपाध्यायले महासचिव केशव मरहठ्ठालाई सम्पर्क गर्न भनेपछि प्रधानले मरहठ्ठाको पाउमा पनि छाँद हालेको सूत्रले बताएको छ । पछि मरहठ्ठाले आफूलाई यसबारे कुनै जानकारी नभएको र आफंै आएर मिलाउनु भनेपछि प्रधानको यो प्रयास पनि असफल भएको थियो । प्रगतिशील खेलकुद महासङ्घले जसले ताल्चा खोल्छ त्यसलाई भौतिक कारबाही गर्ने बताएपछि अहिलेसम्म एनओसीको ताल्चा खोल्ने कसैले आँट गर्न सकेको छैन । सूत्रका अनुसार महासङ्घका पदाधिकारीलाई सम्झाएर ताल्चा खुलाउन अहिले पनि प्रधान र श्रेष्ठले आफ्ना निकटका व्यक्तिहरूलाई अह्राएको थाहा भएको छ ।
महासङ्घले ताल्चा खोल्न नमानेपछि साम, दाम, डण्ड, भेदको रणनीति अख्तियार गरर््र्ने क्रममा प्रधानले एनओसीको झ्याल खोल्न सफल भएका छन् । कार्यालयमा ताल्चा लाग्दा एनओसीका गोप्य कुराहरू लिक हुने र आफ्नो कर्तुत सार्वजनिक हुने डरले प्रधानले केही समय पहिले एनओसीकै कर्मचारीलाई मध्यरातमा झ्यालबाट भित्र पस्न लगाई सम्पूर्ण गोप्य कागजात ल्याउन अह्राएका थिए । नुनको सोझो गर्ने क्रममा ती कर्मचारीले एक बोरा कागतपत्र लिएर गएको स्रोतले बताएको छ । स्रोतले ती कर्मचारीले उक्त महत्त्वपूर्ण फाइलहरू कहाँ लगेर गए त्यसको बारेमा खोजी भइरहेको बताएको छ । केही दिन पहिले मात्र घटेको घटना हुनाले अहिले पनि एनओसीका झ्याल खुलै रहेको देख्न सकिन्छ । यसरी एनओसीबाट गोप्य कागजात लैजाँदा पनि चाल नपाएको महासङ्घले भोलि ताल्चा खोल्दा खाली कोठा मात्र देख्ने सूत्रले दाबी गरेको छ ।
नेपाली खेल जगत्मा धूर्त खेलाडीको रूपमा चिनिने प्रधान र श्रेष्ठले आफ्नो स्वार्थसिद्ध गर्न अहिले ठूलो खेल खेलिरहेको थाहा भएको छ । एनओसीबाट लखेटिने पक्कापक्की भइसकेपछि उनीहरूले आफुलाई बचाउन काङ्ग्रेसी नेता राजीवविक्रम शाहलाई हात लिएको बुझिएको छ । शाहलाई विशेष अतिथि बनाएर ग्वान्झाउको सयर गराएका प्रधानले अब उनको काँधमा बन्दुक राखेर पड्काउने प्रयत्न गरिरहेका छन् । किशोरबहादुर सिंहको पालामा एथलेटिक्स सङ्घको अध्यक्ष बन्न पुगेका शाहलाई जीवनरामले सङ्घबाट निकालेका थिए । रुक्मशमशेर राणाका कट्टर आलोचकका रूपमा रहेका शाहलाई आफ्नो मोहरा बनाउँदा फाइदा पुग्ने देखिएकोले प्रधानले यो चाल चलेको बुझिएको छ । तर, विडम्बना सबै कुरा ऐनाजस्तै छर्लङ्ग हुँदाहुँदै पनि शाह किन प्रधान-श्रेष्ठको मोहरा बनेका हुन् बुझ्न सकिएको छैन । जुन व्यक्तिले आफूलाई सङ्घबाट बेइज्जतिपूर्वक निकालेको थियो आज त्यही व्यक्तिको इसारामा शाह नाच्नु कसको दर्ुभाग्य हो समय सोचे कल्याण हुनेछ ।
त्यस्तै प्रधान र श्रेष्ठले ३५ हजारको टिकटलाई ७२ हजारको बनाएर प्रतिटिकट ३७ हजार कमिशन खाएको स्रोतले खुलासा गरेको छ । स्मरण रहोस्, यसको भुक्तभोगीमा एनओसीका कोषाध्यक्ष उपेन्द्रकेसरी न्यौपाने पनि परेका छन् । न्यौपानेले टिकटको रकम यत्रोविधि नपर्ने कुरा प्रधानलाई बताएपछि अहिले प्रधानलाई हिसाबकिताब मिलाउन निकै गाह्रो भएको छ । खाँदै जाँदा अलकत्रालाई समेत नछोडेका र आर्थिक घोटालामा चर्ुर्लुम्म डुबेका प्रधान र श्रेष्ठले न्यौपानेलाई जसरी भए पनि मिलाउन आग्रह गरे पनि उनले आफू यो मामिलामा नपर्ने बताएपछि अहिले एनओसीभित्रै ठूलो आन्तरिक विवाद उत्पन्न भएको छ । असोज १८ गतेको सर्वोच्चको फैसलापछि कुनै कानुनी हैसियत नभएका प्रधान र श्रेष्ठले अहिलेसम्म सर्वोच्चको खिल्ली उडाउँदै आएका छन् । सर्वोच्चको फैसलाको विरुद्धमा बारम्बार गैरकानुनी कदम उठाउँदै आएका प्रधान र श्रेष्ठले सर्वोच्चको मानहानि गर्दै आएका छन् । उनीहरूको हर्कतले सर्वोच्चको मानहानि भएको ठहर गर्दै प्रधान अध्यक्ष रहेको ओलम्पिक कमिटीका विरुद्ध मानहानिको मुद्दा निकट भविष्यमै दर्ता हुन गइरहेको सूत्रले बताएको छ । स्मरण रहोस्, अक्टुबर ४ तारिखमा सर्वोच्चले प्रधान अध्यक्ष रहेको एनओसीलाई अवैधानिक भएको फैसला सुनाएको थियो ।

सेभ द मिसनको नाटक
१० हजार डलर झ्वाम
अवैधानिक ओलम्पिक कमिटीका उपाध्यक्ष उमेशलाल श्रेष्ठलाई ग्वान्झाउ एसियाडमा ‘सेभ द मिसन’ बनाउन एनओसीले १० हजार डलर नजराना दिएको खुलासा भएको छ । सेभ द मिसनको विवादले शिखर छोए पनि अन्त्यमा एनओसी र राखेपका पदाधिकारीहरूबीच सम्झौता भएको थियो । सदस्यसचिव हरिबाबु चौधरीलाई सेभ द मिसनको दौडबाट बाहिर राख्न राखेपका पदाधिकारीहरूले एनओसीसँग १० हजार डलर लिएको सूत्रले बताएको छ । परिषद्का एक सदस्यको नेतृत्वमा सहमति भएको र पछि सबै पदाधिकारीहरूले उक्त रकम बाँडचुँड गरेको थाहा भएको छ । एनओसीबाट प्राप्त उक्त रकम सबै पदाधिकारीले प्राप्त गरे पनि लामा थर गरेका सदस्यले भने नपाएको बुझिएको छ । ग्वान्झाउ उड्नुअघि एनओसीका पदाधिकारीले विभिन्न बैंकबाट निकालेको ८० हजार डलरमध्ये १० हजार राखेपका पदाधिकारीहरूलाई दिएका थिए ।
ग्वान्झाउमा सेभ द मिसनको बारेमा विवाद नगर्न र उमेश श्रेष्ठलाई नै सेभ द मिसन मान्न उक्त रकम प्रदान गरिएको थियो । सोही मिलेमतोलाई आत्मसात् गर्दै अर्थात् नुनको सोझो गर्दै ग्वान्झाउमा राखेपका पदाधिकारीहरूले कुनै प्रतिपाद गरेका थिएनन् । उद्घाटन समारोहको समयमा हरिबाबु चौधरी सेभ द मिसनको रूपमा देखिए पनि पछि उनले उक्त दाबी छोडेका थिए । चौधरीले गरेको नाटकको त्यसबेला समाचार बने पनि वास्तविकता भने त्यस्तो थिएन । सुनियोजित तरिकाले चौधरीलाई सेभ द मिसनको रूपमा उतारेर सर्प पनि मर्ने लौरो पनि नभाँचिने रणनीति अख्तियार गरिएको थियो । चौधरीले आफूलाई दिएको भूमिकामा राम्रो अभिनय गरेपछि उनले पनि गतिलै पुरस्कार हात पारेको सूत्रले बताएको छ । यसरी ग्वान्झाउ एसियाडमा निर्धक्कसँग सेभ द मिसनको भूमिका निभाएका श्रेष्ठले आफ्ना सहयोगी मित्रहरूलाई डलरको कमाल भन्दै हिँडेका थिए ।
ग्वान्झाउ उड्नुअघि र ग्वान्झाउ पुगिसक्दा पनि सेभ द मिसनको हो भन्नेबारेमा टुङ्गो लागेको थिएन । एनओसीले श्रेष्ठलाई अनसिन रूपमा सेभ द मिसन बताउँदै आए पनि सार्वजनिक भने गर्न सकेको थिएन । उक्त विवादलाई साम्य पार्न उल्टै राखेप र एनओसीका पदाधिकारीहरू खेलकुद मन्त्रालयमा बैठक बसी युवा तथा खेलकुदमन्त्री गणेश नेपालीलाई नेपाली टोलीको टोलीनेता बनाउने निर्णय गरेका थिए । मन्त्री नेपालीले एसियाडमा आफ्नो हैसियत के हुने हो आफूलाई नै थाहा नभएको कुरा सार्वजनिक रूपमा बताएपछि मिलेमतोको गन्ध त्यसैबेला आएको थियो । सो कुरालाई पुष्टि गर्दै मन्त्री नेपाली चार दिनमै स्वदेश फरि्कनुले पनि ठूलै साँठगाँठ भएको मान्न सकिन्छ ।

एसियाडमा चीनको एकछत्र राज
आयोजक राष्ट्र चीनले १६औँ एसियाडमा एकछत्र राज गरेको छ । ४५ देशका १० हजार खेलाडीले सहभागिता जनाएको ग्वान्झाउ एसियाडमा चीनले पहिलो स्थान हासिल गरेको थियो । चीनले एसियाडमा ऐतिहासिक कीर्तिमान कायम गर्दै एक सय ९९ स्वर्ण, एक सय रजत र ९८ कास्यसहित कुल चार सय १६ पदक जित्न सफल भएको थियो । चीनले ग्वान्झाउमा जितेको एक सय ९९ स्वर्णमध्ये १ सय २८ स्वर्ण पहिलोपटक एसियाडमा सहभागिता जनाएका खेलाडीले जितेका थिए । यो विजयसँगै चीनले लगातार आठौंपटक प्रथम स्थान हासिल गर्न सफल भएको छ । चिनियाँ टोलीका सेभ द मिसन तथा खेलकुद उपमन्त्री दुआन शिजीले चीनले हासिल गरेको ऐतिहासिक सफलतामा मुलुकको विकास भएको बताएका छन् । दुआनले एसियाडको सफलता आउँदो लण्डन ओलम्पिकका लागि पर्याप्त नभएको प्रस्ट पार्दै त्यसका लागि अहिल्यैदेखि तयारीमा जुट्ने बताएका थिए । एसियाडमा पदकको वषर गरेको चीनले अब आफ्नो टार्गेट लण्डन ओलम्पिकलाई बनाएको छ । ग्वान्झाउ एसियाडमा दोस्रो स्थान दक्षिण कोरियाले प्राप्त गरेको थियो । कोरियाले सुधारिएको प्रदर्शन गर्दै ७६ स्वर्ण, ६५ रजत र ९१ कास्य पदक जितेको थियो । त्यस्तै, तेस्रो स्थान हासिल गर्ने जापानले ४८ स्वर्ण, ७४ रजत र ९४ कास्य जितेको थियो ।
दक्षिण एसियाली मुलुक भारतले ग्वान्झाउ एसियाडमा छैटौँ स्थान हासिल गर्दै १४ स्वर्ण, १७ रजत र ३३ कास्य पदक जितेको थियो । ग्वान्झाउ एसियाडमा उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशले पहिलोपल्ट ऐतिहासिक स्वर्ण पदक जितेको थियो । बंगलादेशले उक्त स्वर्ण एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएको क्रिकेट खेलमा जितेको थियो । बंगलादेशका लागि निकै सफल मानिएको ग्वान्झाउ एसियाडमा बंगलादेशले एक स्वर्ण, एक रजत र एक कास्य पदक जितेको थियो । ग्वान्झाउ एसियाडमा सहभागिता जनाएका राष्ट्रहरूमा श्रीलङ्का, माल्दिभ्स, भुटान, टिमोर, ब्रुनाई, तुर्केमेनिस्तान, कम्बोडिया, प्यालेस्टाइन र यमनले मात्र पदक जित्न सकेनन् । ग्वान्झाउ एसियाड सफलताका साथ सम्पन्न भएपछि आउँदो १७औँ संस्करणका लागि दक्षिण कोरियाले झण्डा बोकेको थियो । आउँदो एसियाड सन् २०१४ मा दक्षिण कोरियाली सहर इन्चेनमा हुने पक्का भएको छ ।