यसरी मारिए जंगबहादुरका खलक !

यसरी मारिए जंगबहादुरका खलक !


सैनिक विद्रोह गरी श्री ३ प्रणोद्वीप सिंहको हत्या गराई बागदरबार पुगेपछि वीरशमशेरले आफ्नो मातहतका ‘चार रेजिमेन्ट’ सेनाका जवानलाई हातहतियारसमेतले लैस गराई बागदरबारलाई चारैतर्फबाट घेर्न लगाई ‘भीमसेनस्तम्भ’ धरहराबाट विगुल फुक्न लगाए । भारदारहरू जङ्गी, निजामती सबै धमाधम आई बागदरबारभित्र पस्न थाले, तर बाहिर निस्कन नपाएबाट धेरैले ‘कोतपर्व’को स्मरण गर्न थाले । वीरशमशेरले भाइ खड्गशमशेरलाई काकाहरूका छोरा, भतिजाहरूलाई पक्री ल्याउन अह्राए । खड्गशमशेरले तुरुन्त ठाउँ–ठाउँमा गारत–सैनिक जवानहरूका टोली खटाई पठाए, तर ती गारतका कमान्डरहरू र सेनाका जवानलाई निज खड्गशमशेरले देख्नासाथै गोली हानी हत्या गरिदिनू भन्ने आदेश दिई पठाएछन् ।

गारतमध्ये एक गारत मनहरा दरबार पुगी भूतपूर्व प.क.ज. जगातजंग राणा बहादुरको नोभेम्बर २१ ता. १८८५ ई. का दिन जम्मा ३७ वर्ष ८ महिनाको उमेरमा ‘सैनिकद्वारा’ गोली हानी हत्या गरियो । निजका छोरा द.क.ज. जुद्धप्रतापजंग राणा बहादुर (नाति जर्नेल) आफ्नो थापाथलीस्थित दरबार (हाल थापाथली नेपाल राष्ट्र बैंक सिंह महल) बाट विद्रोहको सूचना पाई ‘ब्रिटिस रेजिडेन्सी–लैन’ मा शरण लिन पुगिसकेका थिए । त्यहाँ अरू शरण लिन पुगेका काकाहरू पद्मजंग, रणवीरजंग, केदार नरसिंह, ध्वजनरसिंह, भूपेन्द्रजंग, डम्बरजंग, ललितजंग, युद्धप्रतापजंगहरूले खाली हात आएपछि केले जीविका चलाउने भनेकाले फेरि आफ्नो थापाथली दरबार फर्के । त्यहाँबाट डोकोमा आफ्नो भएको चल सम्पत्ति (रुपैयाँ, जवाहरात, सुन) इत्यादि राखी छोप–छाप पारी नाम्लो लगाई सो डोको बोकी, सुरुवाल फुकाली पटुका बेरी, भोटोमाथि इस्टकोट मात्र लगाई भरियाझैँ नचिनिने बनी फेरि ब्रिटिस–रेजिडेन्सीतर्फ जान लाग्दा (हाल थापाथली माइतीघरबाट आर्मी हेडक्वार्टरतर्फ जाने बाटोको मोडमै ‘टुकुचाको पुल’ जो हाल पनि छँदै छ) सो काठको पुल पुग्नुअगावै जुद्धप्रतापजंगले हाल–आर्मी हेडक्वार्टरतर्फबाट गारत आएको देखी उनी सो पुलमुनि लुक्न पुगे ।

गारतका जवानहरूले जुद्धप्रतापजंग लुकेको देखी पक्रे । पहिले त जुद्धप्रतापजंगलाई गारतले चिन्न सकेनछ, तर भरियाझैँ भई गएका उत्तरतर्फका कमान्डिङ जनरल स्व. श्री ५ महाराजाधिराज सुरेन्द्रकी जेठी शाहज्यादीतर्फका नाति, स्व. श्री ३ महाराज जंगबहादुरका छोरा मुखिया जर्नेल (जंगीलाठ) जगतजंग कुँवर राणाजीका जेठा छोरा जो जन्मनासाथै मेजर जनरलको पद पाएकाले नाङ्गै खुट्टा हिँड्न सकेनन्, तसर्थ खुट्टामा मोजा र चाँदीको खिपवाल–बेलायती ‘ब्यारेट कम्पनी’को जुत्ता लगाएकाले गारतले चिनी निजको त्यहीँ हत्या गरी धन–सम्पत्ति तत्कालीन कमान्डर मेजर ललितमानसिंह बस्नेतले हत्याए । यसरी बाबु–छोराहरूको सोही रात हत्या गरियो । हत्या हुँदा जुद्धप्रतापजंग कुँवर राणाजीको उमेर जम्मा बीस वर्षको थियो ।

वीरशमशेरले जगतजंगको हत्याको सूचना पाएपछि ‘पक्रनू भनेको किन हत्या गरेको ?’ भनी खड्गशमशेरसँग प्रश्न गर्दा निजले, ‘पक्री ल्याउनू भनेकोमा हत्या नै गर्नुपर्ने अवस्था परेबाट गारतले हत्या गरेछ’ भनी जवाफ दिए । वीरशमशेरले पनि निजको हत्या भएकोमा त्यति चिन्ता गरेनन् । पछि जुद्धप्रतापजंगको हत्या भएको सूचना पाई वीरशमशेरले ज्यादै दुःख माने, कारण उनी ज्यादै मिलनसार र नम्रभाषी थिए । भाइ खड्गशमशेरलाई त केही भन्न गर्न सकेनन्, तर जुद्धप्रतापजंगकै हत्या गरेकाले वीरशमशेरले यिनलाई कत्ति रुचाउँदैनथे रे– ‘बेवकुफ हुन्’ भन्दथे रे, बरु सौतेनी मामा इमानसिंह बस्नेतलाई खुवै रुचाउँथे ।

सैनिक विद्रोह गरेकै भोलिपल्ट सबेरै नोभेम्बर २२ ता. १८८५ ई. का दिन जनरल वीरशमशेरलाई श्री ५ महाराजाधिराज पृथ्वी वीरविक्रम शाहदेवले ‘श्री ३ महाराज कास्की–लमजुङको’ खिताबको साथै प्रधानमन्त्री तथा सर्वोच्च प्रधानसेनापतिको पदका साथै नेपाल अधिराज्यको सम्पूर्ण अधिकार सार्वभौमसत्ताको लालमोहर गरिदिए । यसरी जम्मा ३२ वर्ष ११ महिनाको उमेरमा उपरोक्त पद र खिताबको साथै सार्वभौमसत्ता प्राप्त गर्न वीरशमशेर सफल भए ।

वर्ष दिनअगाडि वि.सं. १९४१ कात्तिक १० गते आफ्ना स्व. बुबाज्यू प्रधानसेनापति धीरशमशेरले श्री पशुपतिनाथको आर्यघाटमा मृत्यु हुनु एक दिनअगाडि मृत्युशैय्याबाट आफ्नी काँगडा–गढवाल्नी नानी जुहारकुमारी देवी– जुद्धशमशेरकी मुमाज्यूप्रति गरेको मागलाई स्मरण गरी श्री ३ महाराज वीरशमशेरले उमेर पुगेका सबै भाइलाई बोलाई मृत्यु शैय्याबाट बुबाज्यूको आखिरी मागलाई तिमीहरूले बिर्सिएका छैनौ होला, तसर्थ ‘जुहारकुमारी’लाई के दिने के गर्ने भनी प्रश्न गरे ? उपस्थित सबै भाइहरूले– ‘महाराजबाट जो निगाहा !’ भने ।

मैले दिएको कुरालाई तिमी भाइहरू सबैले मञ्जुर गर्दछौ त ? भनी पुनः वीरशमशेरले प्रश्न गरे । उपस्थित सबै भाइहरूले, ‘महाराजबाट निगाहा भएको कुरालाई हामी सहर्ष स्वीकार गर्दछौँ भने । वीरशमशेरले स्वीकार गर्दछौ भने ‘जुहारकुमारीको छोरा जुद्धशमशेरको भात चलाई रोलमा समेत राखिदिन्छु’ भने । महाराजजस्ता दाज्यू, त्यसमा पनि मृत्यु शैय्याबाट आफ्नै बुवाको मागलाई कसरी औ कुन भाइले विरोध गरून्, जब कि स्व. श्री ३ जंगले स्व. हिरण्यगर्भदेवी (मैयामहारानी) को आग्रहबाट नन्दकुमारी देवीका छोराहरू खड्ग, देव, चन्द्र र भीमशमशेरहरूको वि.सं. १९२३ चैतमा भात चलाएझँै जुद्धशमशेरको पनि श्री ३ वीरशमशेरले भात चलाई रोलमा समेत राखे । जुद्धशमशेरको भात चली रोलसमेत पाएपछि उनकी मुमा जुहारकुमारी उनका छोरा जुद्धशमशेरले दुःख पाउने कुरै भएन ।

(पुरुषोत्तमशमशेर जबराको श्री ३ हरूको तथ्य वृत्तान्तबाट)