सिद्धिने त्रासले ‘सेक्स–होलिडे’

सिद्धिने त्रासले ‘सेक्स–होलिडे’


हरेक देशमा महत्वपूर्ण चाडपर्व, उत्सव–महोत्सव एवम् विभिन्न अवसरमा सरकारले सार्वजनिक बिदाको व्यवस्था गरेको हुन्छ । यो सामान्य कुरा हो । तर, नागरिकलाई यौनसम्पर्कमा लिप्त रहनका लागि भनी सरकारले डेट तोकेरै बिदा प्रदान गर्छ भने योचाहिँ हाम्रा लागि अनौठो विषय नभइरहन सक्दैन । यस्तो रोचक व्यवस्था भएको देश हो– रुस । रसियन सरकारले हरेक वर्ष १२ सेप्टेम्बरलाई ‘सेक्स होलिडे’को रूपमा मनाउने व्यवस्था गरेको छ, जो वर्षौंदेखि जारी छ । यसरी यौनसम्पर्ककै लागि भनेर छुट्टीको व्यवस्था किन गर्नुपरेको होला भन्ने जिज्ञासा जाग्नु स्वाभाविक नै छ । वास्तवमा जनसङ्ख्याको गिर्दो अवस्थाबाट अत्तालिएर आफ्ना नागरिकलाई यौनसम्पर्कका लागि प्रेरित गर्न सरकारले यस्तो अनौठो प्रणाली बसाएको हो । सरकारले नागरिकलाई विशेष आग्रह गरेरै भनेको हुन्छ कि जनसङ्ख्या वृद्धिका लागि योगदान दिएर देशलाई गुन लगाऊ, छुट्टीलाई यौनसम्पर्कको कार्यमा उपयोग गर ! राष्ट्रपति पुटिनले सन् २००६ मा राष्ट्रलाई सम्बोधन गर्दै जनसङ्ख्या बढाउनका लागि सेक्स होलिडेको घोषणा गरेका थिए । उनले धेरै सन्तान जन्माउने जोडीलाई नगद पुरस्कारसमेत घोषणा गरेका थिए । ज्ञात रहोस्, यौन सम्बन्धका लागि दिइएको १२ सेप्टेम्बरको छुट्टीको ठीक नौ महिनाका दिन बच्चा जन्माउने जोडीलाई रुसी सरकारले सरप्राइज गिफ्टको समेत व्यवस्था गरेको छ । विश्वकै ठूलो मुलुक रुसको कुल जनसङ्ख्या लगभग साढे पन्ध्र करोड मात्रै छ भने यहाँ पुरुषको तुलनामा महिलाको सङ्ख्या अत्यधिक छ ।