देशको लागि मरेका सैनिकको नाम राष्ट्रपतिले सम्झन नसकेपछि…

देशको लागि मरेका सैनिकको नाम राष्ट्रपतिले सम्झन नसकेपछि…


आतंककारी समूह आइएसको आक्रमणबाट मारिएका एकजना अमेरिकी सैनिककी श्रीमतीले आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको टेलिफोनले झनै दुःखी बनाएको बताएर सनसनी मच्चाएकी छिन् ।

अक्टुबर महिनाको सुरुमा नाइजेरमा आइएससँगको भिडन्तका क्रममा मारिएका चारजना अमेरिकी सैनिकमध्येका एकजना थिए सार्जेन्ट ला डेभिड । डेभिडकी श्रीमतीले दिएको सो अभिव्यक्ति यतिखेर अमेरिकी मिडियामा व्यापक रुपमा आएको छ । राष्ट्रपति ट्रम्पले समवेदना व्यक्त गर्न उनलाई टेलिफोन गर्नुभएको बताइएको छ ।

समवेदना व्यक्त गर्ने क्रममा राष्ट्रपति ट्रम्पले आफ्नो श्रीमानको नाम सम्झन नसकेको दुःखेसो उनले पोखेकी छिन् । उनले अमेरिकी सञ्चारलाई पनि सो प्रतिक्रिया दिएकी छिन् ।

उनले भनेकी छिन्– मेरा श्रीमानले देशको लागि ज्यान गुमाउनुपरेको छ र त्यो पीडा त मसँग छँदै नै छ । त्यसैमा पनि समवेदना दिनका लागि भन्दै मुलुकका राष्ट्रपतिले फोन गर्दा पनि देशको लागि मारिएका सहिदको नाम सम्झिन नसक्नुले मलाई थप पीडा दिएको छ ।

डेभिडकी श्रीमतीले एक अमेरिकी टेलिभिजनसँग कुरागर्दै सोमबार सो दुखेसो गरेकी थिइन् । उनले राष्ट्रपतिको टेलिफोनले आफूलाई झन रुवाएको बताएकी थिइन् ।

डेभिडकी गर्भवति पत्नी मेशिया जनसनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्ना दिवंगत पतिको नाम सम्झन कठिन अनुभव गरेको र यस्तो थाहा पाउनुपर्दा आफूलाई झनै ठूलो चोट पुगेको बताएको समाचार आएको थियो ।

नाइजरमा इस्लामिष्ट उग्रवादीहरुको हमलामा चार जना अमेरिकी सेना मारिएका थिए । त्यसमा परी सार्जेन्ट ला डेभिड जनसनको पनि मृत्यु भएको थियो ।