हरियो तरकारीको मूल्य दोब्बर

हरियो तरकारीको मूल्य दोब्बर


तिहार लगत्तै ब्यापारीहरुले बजारमा हरियो तरकारीको मूल्य दोब्बर बनाएका छन् । उनिहरुले बजारमा कृत्रिम अभाव देखाएर व्यापारीहरुले तरकारीको मूल्य दोब्बर बनाएका हुन् ।
आयातमा भएको सामान्य कमीको फाइदा उठाउँदै व्यवसायीले मनपरी ढंगले मूल्य बढाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्तामा परेको छ ।

तिहारमा तरकारीको खपत धेरै हुने भएकाले व्यवसायीले आयात कम भएको भन्दै शतप्रतिशत मूल्य बढाएका छन् । तिहार अघि प्रतिकेजी एक सय रुपैयाँ रहेको बोडीको मूल्य अहिले दुई सय रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिकेजी एक सय रुपैयाँ पर्ने सिमीको मूल्य १ सय ८० रुपैयाँ पुगेको छ । प्रतिकेजी ६० देखि ७० रुपैयाँ रहेको सानो गोलभेडाको मूल्य १ सय २० रुपैयाँ पुगेको छ । त्यस्तै प्रतिकेजी ६० रुपैयाँ पर्ने भेन्टाको मूल्य बढेर १ सय रुपैयाँ पुगेको छ । प्रतिकेजी ७० रुपैयाँ रहेको काँक्रोको मूल्य १ सय ३० पुगेको छ ।

त्यसैगरी, प्रतिकेजी ७० रुपैयाँ रहेको काउलीको मूल्य बढेर १ सय ३० रुपैयाँ पुगेको छ भने प्रतिकेजी ३० रुपैयाँ रहेको मुलाको मुल्य बढेर ५० रुपैयाँ पुगेको छ । अधिकांश तरकारीको मूल्य बढ्दा आमउपभोक्ताले महंगोमा खरिद गर्नुपरेको छ । तिहारमा खपत धेरै हुँदा व्यवसायीले मुल्य बढेर आएको भन्दै दोब्बर मूल्य बढाएर उपभोक्ता ठगिरहेका छन् । शंखमुखका खुद्रा व्यापारीले रमेश थापाले कालीमाटी बजारमै तरकारीको मुल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य बढेको बताए । करेला, सिमी र बोडीको सिजन नभएकाले मूल्य बढेको उनको भनाई छ ।

तिहारका कारणले बजारमा तरकारीको आयातमा सामान्य कमी भएको कालीमाटी बजार विकास समितिले जानकारी दिएको छ । समितिका उपसचिव विनय श्रेष्ठले आयात कम भएकाले पनि तरकारीको मूल्य बढेको बताए । सामान्य अवस्थामा दैनिक ७ सय टन तरकारी कालीमाटीमा भित्रिने गरेकोमा अहिले ५ सय ५० देखि ६ सय टन आयात भएको समितिले जनाएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जनले तिहार र छठको मौका छोपी व्यवसायीले तरकारीमा दोव्बरले मूल्य बढाएको बताए । मनपरी मूल्यवृद्धि गर्ने व्यवसायीहरुलाई अनुगमनको दायरामा ल्याएर कारबाही गर्नुपर्ने उनले बताएको खबर कारोबार दैनिकमा छ ।