पञ्चेश्वरको वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा

पञ्चेश्वरको वातावरणीय व्यवस्थापन योजना अन्तिम चरणमा


नेपाल र भारतको सीमामा बग्ने महाकाली नदीमा प्रस्तावित पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । वातावरण विज्ञहरूको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयसँग छलफल गरेर विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो ।

परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञहरू टोलीको अध्ययन–अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो ।

अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ । नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो ।

स्थानीयको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरूको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरूको सुझाव संकलन गरेको हो ।

आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिम रूप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेसनलका वतावरण विज्ञ अजयभक्त माथेमाले बताए । कारोबार दैनिक