वाम गठबन्धनमा तालमेल र उम्मेदवारीले चुलियो असन्तुष्टि

वाम गठबन्धनमा तालमेल र उम्मेदवारीले चुलियो असन्तुष्टि


आसन्न निर्वाचनमा चुनावी तालमेल गरेका वाम गठबन्धनभित्र तालमेल र उम्मेदवारी चयनका विषयमा ठाउँ–ठाँउमा असन्तुष्टि चुलिएको छ । असन्तुष्टि बढेसँगै कतिपय स्थानमा वाम गठबन्धन भित्रैबाट बागी उम्मेदवारीसमेत परेको छ ।

माओवादी सचिवालय सदस्य तथा पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले गठबन्धनका तर्फबाट उम्मेदवारी दिएको जाजरकोटमा एमालेका गोविन्द्रविक्रम शाहीले बागी उम्मेदवारी दिएका छन् ।

पूर्वसांसदसमेत रहेका शाहीले मात्र होइन, जाजरकोटकै प्रदेशसभाको (क) मा पनि गठबन्धन भित्रैबाट बागी उम्मेदवारी परेको छ ।

प्रदेशमा गठबन्धनका उम्मेदवार माओवादी उम्मेदवार गणेश सिंहविरुद्ध एमालेका निरज आचार्यले बागी उम्मेदवारी दिएका छन् ।रामेछापमा वाम गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी उम्मेदवार श्यामकुमार श्रेष्ठविरुद्ध उनकै पार्टीका दुईजना जिल्ला नेताले बागी उम्मेदवारी दिएका छन् ।

बिनाविभागीय राज्यमन्त्रीसमेत रहेका श्रेष्ठविरुद्ध पूर्वसभासद्समेत रहेकी लक्ष्मी गुरुङ र मैनकुमार मोक्तानले बागी उम्मेदवारी दिएका छन् ।

रामेछापकै प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका एमालेका जिल्ला अध्यक्ष शान्ति पौडेलविरुद्ध माओवादीका हेमन्त पौडेलले बागी उम्मेदवारी दिएका छन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।