स्वर्गीय राजा भूमिबोलको अन्त्यष्टि २६ अक्टुबरमा गरिँदै

स्वर्गीय राजा भूमिबोलको अन्त्यष्टि २६ अक्टुबरमा गरिँदै


– श्रीविक्रम भण्डारी (थाईल्याण्ड, बैङ्कक)

थाईल्याण्डका लोकप्रिय राजा भूमिबोल अदुल्यादेजको देहावसान भएको एक वर्ष बितिसक्दा पनि उहाँको अन्त्यष्टि भएको छैन । देहावसान भएको एक वर्षपछि उहाँको अन्त्यष्टि राजकीय सम्मानसहित गरिने थाई सरकारले घोषणा गरे पनि साइत नजुरेका कारणले अन्त्यष्टिमा ढिलाई भएको थियो ।

राजा भूमिबोलको देहावसान ८८ वर्षको उमेरमा १३ अक्टोबर २०१६ मा भएको थियो । लामो समयसम्म थाइल्याण्डमा शासन गर्नुभएका भूमिबोलको शासनकालमा थाईल्याण्डले हरेक क्षेत्रमा विकासको फड्को मारेको थियो । जनप्रिय राजाको रुपमा विख्यात भुमिबोललाई थाईल्याण्डका जनता भगवान विष्णुको अवतारकै रुपमा मान्छन् ।

करिव ७ दशकसम्म थाईल्याण्डको राज्यसत्ता सम्हाल्नुभएका भूमिबोलको २६ अक्टुबर २०१७ मा अन्त्यष्टिको साईत जुरेको छ । उहाँको अन्त्यष्टि ग्य्राण्ड प्यालेस अर्थात सनामलुवाहु राजदरबारभित्र गरिने भएको छ । उहाँको अन्त्यष्टिमा विश्वका चर्चित राजनेता र राष्ट्रप्रमुखहरुको पनि उपस्थिति रहने बताइएको छ । राजा भूमिबोलको अन्यष्टि बौद्ध धर्म परम्पराअनुसार हुनेछ । थाईल्याण्डमा ८० प्रतिसत जनता बौद्धमार्गी छन् ।

राजा भूमिबोलको अन्त्यष्टिको दिन (२६ ओक्टुवर) थाईल्याण्ड पूर्ण रुपमा बन्द रहने जानकारी प्राप्त भएको छ । उक्त दिन सम्पूर्ण यातायात, कलकारखाना, उद्योग, पसल र सुपर मार्केट स्वर्गीय राजालाई श्रद्धान्जली प्रकट गर्न पूर्ण रुपमा बन्द गरिने भएको हो । थाईल्याण्डको चौविस घण्टा खुल्ने सुपर मार्केट सेभन इलेभन पनि त्यो दिन बन्द हुने बताइएको छ ।

राजा भूमिबोलको अन्त्यष्टि नभएको हुँदा अहिले पनि थाइल्याण्ड शोक मनाइरहेको अवस्थामा छ । विभिन्न कार्यक्रम गरिए पनि त्यसको ब्यानर कालो रङ्गको प्रयोग गरिएको छ । सातौँ तिरक तेक्वान्दो च्याम्पियनसिपमा पनि कालो ब्यानरको प्रयोग गरिएको थियो । साथै जुरी तथा निर्णायकहरूले समेत कालो पोसाक प्रयोग गरेका थिए ।

स्वर्गीय राजा भूमिबोलको अन्त्यष्टिमा ९० मिलियन अमेरिकी डलर खर्च हुने अनुमान गरिएको छ ।