जंगबहादुरको आखिरी दिन

जंगबहादुरको आखिरी दिन


जंगले आफू ज्यादा दिन बाँच्दिनँ भन्ने कुरा शायद महसुस गरी श्री ५ सुरेन्द्रसँग तराईतर्फबाट फर्की सर्कारको चाकरी गर्न फर्कन्छु वा फर्कन्न भनेका थिए । कसै–कसैले त आखिरी चाकडी गर्नाको निमित्त माथि भऱ्याङबाट तलसम्म श्री ५ सुरेन्द्रलाई बोकेर चाकरी गरेका थिए पनि भनेका छन् । जेहोस्, जंगलाई फर्कन्छु वा फर्किन्न भन्ने त अवश्य परेको थियो, यसैकारण होला शायद यो सालको सिकार सवारीमा श्री ३ जंगले भाइ–छोराहरू कसैलाई पनि साथ नलगी सवारीसाथ श्री ३ बडामहारानी हिरण्यगर्भदेवी (मैया महारानी), पुतली महारानी, मिश्रीमहारानी, राम्री महारानी, मीना महारानी (दाखचोके महारानीहरू) को साथ भतिजा कर्णेल अम्बरजंगलाई ‘हजुरिया’ गरी लगे । अरू साथमा चचेरा भाइ जनरल बखतजंग, कर्णेल रणमेहर अधिकारी, कर्णेल रणसिंह सिजापती, कप्तान दलभञ्जन, लेफ्टिनेन्ट जगतबहादुर राजभण्डारी, लेफ्टिनेन्ट समरबहादुर राजभण्डारी इत्यादिलाई जंगले साथै लगेका थिए । काठमाडौंमा कायममुकायम प्रधानमन्त्रीमा प्रधानसेनापति रणोद्वीपसिंह थिए ।

तराईमा श्री ३ जंगको पहिलो मुकाम थानकोटमा रह्यो, त्यसपछि मार्खुमा अनि सुपारीटारमा, त्यसपछि हेटौँडामा क्याम्प खडा भयो । त्यहाँबाटै श्री ३ जंगको सिकार पनि सुरु भयो । हेटौँडामा केही जरायो मात्र सिकार गरे । त्यहाँबाट श्री ३ जंगको जमुनियामा क्याम्प स¥यो । त्यहाँ ३ बाघ, १ चितुवा र १ बँदेल जंगले मारे । सिम्रौनगढमा पुरानो किल्लाको अवलोकन गरे । जमुनियाबाट क्याम्म उठी पत्थरघट्टामा क्याम्प स¥यो । त्यहाँ जंगले प्रशस्त जनावर मारे ।

पत्थरघट्टाबाट क्याम्प अधमरामा स¥यो, त्यहाँबाट मगरटार, जनकपुर, धनुषा कमला नदीको किनारा, मुकी नदीको किनारा, बहुरिया, नयाँगाउँ र वालङ नदीको किनारामा श्री ३ जंगको क्याम्प खडा गरी जनवरी १५, १८७७ का दिन बालम गाउँमा श्री ३ जंगको क्याम्प खडा भयो । त्यहाँ ५ दिन मुकाम गरी सिकार खेले । जनवरी २० का दिन महौलियामा सिकार सवारी क्याम्प खडा भयो । त्यहाँबाट रिमारीको बाटो गरी, फेब्रुअरी २३ का दिन बहरीमा श्री ३ जंगको क्याम्प खडा भयो । त्यहाँ श्री ३ जंगको अत्यन्तै मन परेको जंगप्रसाद हात्ती मरेको सूचना जंगले पाई अरू दुःखी भए ।

यता काठमाडौंतर्फ जनवरी १८७७ मै ‘दिल्लीदरबार’ को निमित्त ब्रिटिस–भारत सरकारको तर्फबाट ‘भायसराय लर्ड लिटन’ (Viceroy Lord lytton) ले नेपाल सरकारलाई पनि निम्त्यायो । नेपाल सरकारको तर्फबाट प्रतनिधित्व गर्दै कमान्डिङ जनरल धीरशमशेर राजदूतको हैसियतले दिल्लीतर्फ प्रस्थान गरे । निजलाई ब्रिटिस–भारत सरकारका तर्फबाट पन्ध्र तोपको सलामीसमेत दागि सम्मान गरेझैं ग¥यो, तर नेपाली प्रतिनिधिलाई भारतको राजा–रजौटाहरूसँगको स्थान दिएर नेपाल सरकारलाई पनि ब्रिटिस–भारतकै उपनिवेश (Colony) झैँ गरी देखाउने कूटनीतिक चाल अङ्ग्रेजले चल्यो । सो बुझी खरो प्रकृतिका धीरशमशेरले ‘नेपाललाई अफगानिस्थानको अमीरको प्रतिनिधिहरूसँगै नेपाल सरकारको प्रतिनिधिलाई पनि फरेन ब्लक (Foreign Block) मै स्थान दिई राख्ने हो भने नेपाली प्रतिनिधि भई आएको म बस्दछु, अन्यथा काठमाडौं फर्कन्छु’ भनेकाले नेपाली प्रतिनिधिलाई फरेन ब्लक (Foreign Block)मै स्थान दिए औ दिल्ली दरबार सकी धीरशमशेर काठमाडौं फर्के । वि.सं. १९३३ फागुन सुदी ८ रोज ४ का दिन श्री ५ महाराजाधिराज सुरेन्द्रले ४७ वर्षको उमेरमा स्व. प्रधानसेनापति कृष्णबहादुरकी पुण्ड्यकुमारी देवीसँग विवाह सम्पन्न गरे । पुण्ड्यकुमारी देवीको पनि आजीवन कन्या भई विचार थियो, तर पछि एक दिन भए पनि श्री ५ बडामहारानी हुन पाइने लोभबाट विवाह गर्न मञ्जुर गरिन् र विवाह सम्पन्न भयो । यो विवाह हुँदा श्री ३ तराईतर्फ सिकारको निमित्त गइसकेका थिए ।

तराईतर्फ श्री ३ जंगको सिकार क्याम्प ‘बाहिरी’मा खडा भएको अवसरमा फेब्रुअरी २४ का दिन श्री ३ जंगले साधारण खालको ठूलो बाघ मारे । हौदा कसेको हात्तीबाट ओर्लेर, खालाको काठी कसेको सानो ढोइ हात्तीमा चढे औ क्याम्पतर्फ फर्कन लाग्दा रूखमा मयुरको भालेलाई देखी हात्ती अडाई राहुतसँगबाट बन्दुक लिई सो मयुर राम्रैसँग ताकेर फायर गरे, मयुरलाई गोली लाग्नु त परै जाओस् मयुर रूखबाट उड्नसम्म उडेन । जंग गजब बानी तुरुन्त अर्को फायर गरे, मयुर उड्यो गोली लागेन । मयुरलाई गोली लगाउन नसकेकोमा जंगले आश्चर्य माने साथै आँखा कम देखेको अनुभव गरे ।

१९३३ फागुन १३ गते गोविन्द द्वादशी, तदनुसार फेब्रुअरी २५, १८७७ का दिन सबेरै पूजा–पाठ सकी दानसमेत गर्ने कार्यक्रम श्री ३ जंगले सके । त्यसपछि ‘बहिरी’बाट क्याम्प सार्ने आदेश जंगले दिएर ‘विगुल’ समेत फुक्न लगाए । त्यसै अवसरमा श्री ३ जंगलाई सर्वप्रथम दिसा लाग्यो, त्यसपछि जाडो लागी पालबाहिर आई घाम तापे, तुरुन्त गर्मी महसुस गरी पालभित्र–बाहिर गर्न थालेकाले श्री ३ जंग बिरामी भएको महसुस गरी मैया महारानीले क्याम्प नसार्नको खातिर ‘हल्ट’को विगुल फुक्ने आदेश दिइन्, साथै हजुरिया कर्णेल अम्बरजंगलाई पनि बोलाउन पठाइन् । अम्बरजंग आई हल्टको विगुल किन बज्यो भन्ने कुराको जानकारी लिन चाहे । जंगले महारानीहरूसँग ‘त्यो बोल्ने को हो ?’ भनी प्रश्न गरे । महारानीहरूले ‘भतिजा अम्बरजंगलाई पनि नचिनिबक्सेकोमा साह्रै ताज्जुव लाग्यो’ भनिन् । श्री ३ जंगले पनि ‘म ज्यादै गलिसकेको छु साथै मेरो आँखाको शक्ति बिल्कुल हराइसक्यो अब मेरो आखिरी समय आइपुग्यो’ भने ।

अकस्मात् आँखा नदेख्ने औ दिसासमेत लाग्ने भएबाट मुटुमा बोसो लागेको स्पष्ट हुन्छ । नेपाली वैद्यराज कृष्ण गोविन्द तुरुन्तु आई नारी हेरी ‘नारी’ दब्दै गइरहेको इशारा महारानीहरूलाई गरे । उपस्थित सबै महारानीहरू रुन थाले ।

मैया महारानीले तागतको निमित्त तुरुन्त ‘अष्टमण्डप’ तयार गरी चम्चाद्वारा खुवाइन्, तर श्री ३ जंगले दाँत बाँधिसकेको कारण अष्टमण्डप खुवाउन सकिनन् । तुरुन्त श्री ३ जंगमा एक भयानक कम्पन भयो र गलैँचामाथि राखिएको बिछ्याउनाबाट तल गलैँचामा लडे । तुरुन्त पाल्कीको व्यवस्था गरेर पाल्कीमा श्री ३ जंगलाई राखी साथमा मैया महारानीसमेत बसिन् ।

श्री ३ जंगलाई ‘बहिरी’ क्याम्पबाट म्यानामा राखी बागमती नदीको किनारा ‘पत्थरघट्टा’तर्फ लगिहाले । त्यस अवसरमा श्री ३ जंगको सिकार सवारीसाथ छ हजार जवान सेना थिए । पत्थरघट्टातर्फ जाँदा बाटोमा श्री ३ जंगले रगत बमन गरेकाले बाटोमा मृत्यु होला भन्ने डर भयो, तसर्थ ‘रिफेल पल्टन’बाट क्षेत्रीहरू छानी तिनीहरूलाई पाल्की बोक्न लगाए । आखिर श्री ३ जंगलाई बागमतीको तीर ‘पत्थरघट्टा’ पु¥याइयो । त्यहाँ श्री ३ जंगले कहिले आँखा खोल्ने, कहिले बन्द गर्ने क्रिया धेरैबेरसम्म गरे । त्यसपछि आधा रातको बीचमा नबुझिने केही शब्द उच्चारण गरे । जम्मा ३० वर्षसम्म नेपाल अधिराज्यको शासनको वागडोर आफ्नो हातमा लिई राणाशासनको जन्मदाता, सूर्यचन्द्र अङ्कित नेपाल राष्ट्रको झन्डाका रखवाला, कास्की–लमजुङका श्री ३ महाराज, प्रधानमन्त्री औ सर्वोच्च प्रधानसेनापति जीसीबी, जीसीएसआई, थोङ–लिन–पिम्मा–कोकाङ–वाङ–स्यान, सर जंगबहादुर कुँवर राणाजी (वीरनरसिंह कुँवर) को नेपालको इतिहासमा दिग्विजय मच्चाई सोही दिन आधारातको समयमा उनान्साठी वर्ष आठ महिनाको उमेरमा शान्तिपूर्वक मृत्यु भयो ।

(पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरुको तथ्यवृत्तान्त’बाट)