बैठकमा देउवामाथि गम्भीर आरोप

बैठकमा देउवामाथि गम्भीर आरोप


काठमाडौं/ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बहुचर्चित बैठक जनकपुरमा आज बुधबार दिउँसोसम्म चलेर समाप्त हुने भएको छ । २४ गतेदेखि सुरु भएको यस बैठकले महाधिवेशनको तिथिको टुङ्गो आज गर्नेछ । हिजोको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको कार्यशैलीप्रति घोर आपत्ति जनाउँदै केही सदस्यहरूले उहाँमाथि गम्भीर आरोप लगाए । तर, देउवाले आफूमाथि लागेको गम्भीर आरोपहरूलाई आत्मसात् गर्नुको सट्टा आरोप नै गलत भएको जवाफ दिएर उम्कने चेष्टा गर्नुभयो । यसअघिका दुईवटा बैठकमा पनि अनुपस्थित रहेर आफ्नो असहमति जाहेर गर्नुहुने नेतृ शैलजा आचार्य यसपटकको बैठकमा पनि उपस्थित हुनुभएन । शैलजा आचार्यको अनुपस्थितिलाई बैठकमा सबैजसोले महत्व नदिएझैँ गरे, तर यसलाई प्रायः सबै सदस्यले गम्भीरताका साथ लिएका भने अवश्य थिए । सुश्री आचार्यको अनुपस्थितिबाट तत्काललाई प्रधानमन्त्री शेरबहादुर देउवालाई भने निकै सजिलो भएको महसुस सबैले गरे ।

अस्ति २४ गते एक बजेदेखि सुरु हुने भनिएको बैठक केन्द्रीय सदस्य चिरञ्जीवी वाग्ले र मंगलादेवी सिंहलाई पर्खनुपरेको कारण झन्डै एक घन्टा ढिलो सुरु भएको थियो । सुरुको दिन बैठकमा खासै छलफल हुन पाएन । एकैक्षण चलेर बैठक स्थगित गरिएको थियो । भोलिपल्ट २५ गते बैठक पूर्वनिर्धारित समयभन्दा केही ढिलो सुरु भयो । बैठकमा सुश्री शैलजा आचार्यका अतिरिक्त महन्त ठाकुर र रामबाबु प्रसाईंको पनि उपस्थिति थिएन । ठाकुर अस्वस्थताका कारण अनुपस्थित रहनुभयो भने प्रसाईं आफूले पहिल्यै केन्द्रीय समितिको कोषाध्यक्ष पदबाट राजीनामा दिएको कारण उपस्थित हुनुभएन । प्रसाईंको राजीनामा आजको बैठकले सम्भवतः स्वीकृत गर्नेछ । एक केन्द्रीय सदस्यका अनुसार प्रसाईंको राजीनामा स्वीकृत गर्ने निधो हिजोकै बैठकले गरिसकेको छ ।

छलफलको क्रममा प्रधानमन्त्री देउवामाथि केही सदस्यहरूले सरकारको नेतृत्व गर्न कमजोर रहेको र राप्रपातिर ढल्केको आरोप लगाएका थिए । तर, देउवाले सो आरोपलाई स्वीकार गर्नुभएन । बरु भन्नुभयो, ‘आमा र बाबुबीच समन्वय हुन आवश्यक छ, नत्र तिनबाट जन्मेका बच्चा अलपत्र पर्नेछन् र झगडाको बीउ पनि त्यही हुनेछ ।’

बैठकमा सबैभन्दा लामो बहस महाधिवेशनको तिथिसम्बन्धी कुरालाई लिएर भएको थियो । रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, मणि लामालगायतका केही सदस्यले महाधिवेशन सार्नुपर्ने कुरामा निकै जोड दिएका थिए । जुन आजकै बैठकमा पनि जारी रहन सक्ने सम्भावना छ । तर, सभापति कृष्णप्रसाद भट्टराईले हिजोकै बैठकमा महाधिवेशन फागुनमा गर्नुपर्ने राय व्यक्त गर्नुभएको बुझिएको छ ।

एक भरपर्दो सूत्रले जनाएअनुसार महाधिवेशन फागुनको अन्तिम सातामा गर्ने सहमति पनि हिजोकै बैठकमा भइसकेको छ । पोखरा महासमितिको बैठकले महाधिवेशन फागुनमा गर्ने भनी निर्णय गरिसकेको हुनाले त्यसलाई केन्द्रीय समितिले फेरबदल गर्न नमिल्ने भएको कारणले पनि फागुनमै महाधिवेशन गर्नुपर्ने भएको कुरा केन्द्रीय समितिका एक सदस्यले बताए । आज बुधबार दिउँसो बैठकको समाप्तिसँग जारी गरिने विज्ञप्तिमा महाधिवेशनको तिथि घोषणा गरिनेछ । फागुनको अन्तिम साताको अन्तिम दिनलाई नै महाधिवेशनको प्रारम्भिक दिन बनाइने सम्भावना रहेको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिको विस्तार सम्बन्धमा पनि व्यापक छलफल भयो । बढीमा १० जनासम्म सदस्यहरू केन्द्रीय समितिमा थप गरिने सामान्य सहमति रहेको कुरा बैठकका सहभागीले बताएका छन् । यसरी सदस्यहरू थप गर्दा सभापति भट्टराईले एक्लै गर्नुहुने हो वा सहमतिका आधारमा गर्नुहुने हो सो भने स्पष्ट हुन सकेको छैन । त्यस्तै विस्तारित समितिको घोषणा कहिले हुने भन्ने पनि जानकारीमा आएको छैन । तर, केन्द्रीय समितिमा संलग्न गराइन सक्ने सम्भावित नामहरूमा प्रदीप गिरी, बलबहादुर केसी, नीलाम्बर पन्थी, योगप्रसाद उपाध्याय, ओमकार श्रेष्ठ, कमलेशकुमार शर्मा, डा. रामशरण महत, चक्र बास्तोला, गोविन्दराज जोशी, अरविन्द ठाकुर, हरि नेपाल आदिको चर्चा रहेको छ । तर, महाधिवेशनको मुखमा आएर यसरी केन्द्रीय समिति विस्तार गर्न खोज्नु अर्थपूर्ण मानिएको छ ।

बैठकले फ्रान्सका पूर्वराष्ट्रपति एवम् समाजवादी नेता फ्रास्वा मित्तराँको निधनप्रति एक शोक प्रस्ताव पनि पारित गरेको छ । पार्टीको क्रियाशील सदस्यताबापतको शुल्क रु. १००।– र साधारण सदस्यताबापतको शुल्क रु. ५।– लाई बढाएर कतिपय जिल्लामा अनियमित तरिकाले थप रकम अनुल्ने गरेकोप्रति आपत्ति जनाउँदै बैठकले अब आइन्दा त्यसरी थप रकम असुल गर्न नदिइने र जहाँ जस–जसबाट थप रकम उठाइएको छ, त्यो सम्बन्धित व्यक्तिहरूलाई नै फिर्ता दिइने निर्णय लिएको छ । त्यसैगरी शिक्षकहरूलाई पार्टीको सदस्यता दिने–नदिने भन्ने विषयमा पनि बैठकमा निकै छलफल चल्यो । अधिकांश सदस्यले शिक्षकहरूलाई सदस्यता दिन नहुने राय व्यक्त गरेका थिए । बैठकले सरकार र पार्टीबीच समन्वय ल्याउन एक विशेष किसिमको पुल निर्माण गर्ने भएको छ । त्यसअनुरूप बनाइने समितिमा को–को रहने हुन् हिजोसम्म निधो भइसकेको थिएन । त्यस्तै, प्रधानमन्त्री र मन्त्रीहरूलाई हप्तामा एकपटक पार्टी कार्यालयमा अनिवार्य रूपले जानुपर्ने व्यवस्था मिलाउने निर्णय पनि पार्टीले लिएको छ । हिजोको बैठकमा रामचन्द्र पौडेलको संयोजकत्वमा गठित एक समितिले वर्तमान राजनीतिक स्थितिबारे एक विश्लेषणात्मक प्रतिवेदन पेस गरेको थियो । पार्टीको महाधिवेशनलाई निर्धारित समयमा राम्ररी सम्पन्न गर्न महाधिवेशनसम्ममा गर्नुपर्ने काम (क्रियाशील सदस्यता वितरणको अन्तिम तिथि, जिल्ला र क्षेत्रका अधिवेशनहरू सम्पन्न गरिसक्नुपर्ने अन्तिम तिथि आदि समेत) उल्लेख गरिएको एक क्यालेन्डर निर्माण गरी प्रकाशित गर्ने निर्णय पनि बैठकले लिएको छ ।

(घटना र विचार, २०५२ पुस २६ गते बुधबार)