राणा ,पञ्चायतसंग लडेको काँग्रेसलाई वाम एकताले असर गर्दैन : पौडेल

राणा ,पञ्चायतसंग लडेको काँग्रेसलाई वाम एकताले असर गर्दैन : पौडेल


नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राणा ,पञ्चायत र दरबारसंग लडेर देशमा प्रजातन्त्र ल्याउन सफल काँग्रेसलार्इ, वाम एकताले केही असर नपर्ने बताएका छन् । वाम एकता राजनीतिक अस्थिरताका निम्ति सृजना गरिएको भन्दै नेता पौडेलले नेपाली जनता एकपटक फेरि राजनीतिक अस्थिरताविरुद्ध एकजुट हुनुपर्नेमा जोड दिए ।

काँग्रेस केन्द्रीय कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ लाई लक्ष्य गरी आयोजना गरेको घोषणापत्र तयारी सुझाव संकलन कार्यक्रममानेता पौडेलले काँग्रेस निरंकुश राणा शासन, पञ्चायती व्यवस्था, दक्षिणपन्थी र दरबारिया शक्तिसँग लड्दै आएको नेपालको ऐतिहासिक पार्टी भएको र यसको इतिहासलाई कसैले मेटाउन नसक्ने दाबी गरे ।

कम्युनिस्ट कहिल्यै लोकतन्त्रवादी हुन नसक्ने बताउँदै नेता पौडेलले कम्युनिस्ट अधिनायकवादविरुद्ध लोकतन्त्रवादी संगठित हुनु आजको आवश्यकता भएको बताए । काँग्रेसको घोषणपत्रमा सुशासन, निमुखालाई न्याय र विपन्नलाई आय, कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सहकारी, शिक्षा, स्वास्थ्यसम्बन्धी विषय समेट्न उनले सुझाव दिए ।

काँग्रेस नेता महेश आचार्यको संयोजकत्वमा तयार हुने नेपाली काँग्रेस घोषणपत्र, २०७४ मा समेट्नुपर्ने विषयमा काँग्रेस निकट विभिन्न पेशागत संघले रचनात्मक सुझाव दिएका थिए । सुझाव दिनेमा नेपाल महिला संघका अध्यक्ष उमा रेग्मी, प्रजातान्त्रिक चिकित्सक संघका अध्यक्ष केके राई, नेपाल ट्रेड युनियनका उपाध्यक्ष गणेश निरौला, नेपाल शिक्षक संघका अध्यक्ष केशव निरौलालगायत थिए ।