ग्वान्झाउ एसियाड-श्रीविक्रम भण्डारी

ग्वान्झाउ एसियाड-श्रीविक्रम भण्डारी


विदेशमा समेत नेपालको चीरहरण
घरको झगडालाई विदेशमा समेत छताछुल्ल पारेका खेलकुद पदाधिकारीहरू अहिले ग्वान्झाउमा समेत साँढेजुधाइ गरिरहेका छन् । लाजर्-र्सम सबै पोलेर खाएका ती पदाधिकारीहरू खेलाडीको उत्कृष्ट प्रदर्शनभन्दा आफ्नो दुनो सोझ्याउन व्यस्त देखिएका छन् । सर्वोच्च अदालतले अवैधानिक घोषित गरिसकेको ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको एनओसीले ग्वान्झाउमा पनि ताण्डव देखाएपछि अहिले नेपाली खेल परिसरमा खैलाबैला मच्चिएको छ । खेलाडीहरूको भविष्यलाई दृष्टिगत गर्दै राष्ट्रपति रामवरण यादवले अहिले कुनै विवाद ननिकाल्न गरेको अनुरोधको फाइदा उठाउँदै अवैधानिक ओेलम्पिक कमिटीका पदाधिकारीहरूले ग्वान्झाउमा समेत आफ्नो कर्तुत देखाएका छन् । अवैधानिक एनओसीले नेपालबाटै सहमतिमै एसियाड यात्रा गर्ने प्रतिबद्धता जनाए पनि उनीहरूले व्यवहारमा त्यो कुरालाई उतार्न नसक्दा अन्तर्राष्ट्रियस्तरमा नेपालको बेइज्जत भएको छ । कुरा र काममा निकै भिन्नता देखाएको एनओसीले मुलुकको तरल राजनीतिक अवस्थाको फाइदा उठाउने क्रममा विदेशमा समेत नेपालको चीरहरण गर्न चुकेनन् ।
एकपछि अर्को विवाद खडा गर्दै आएको अवैधानिक एनओसीले ग्वान्झाउमा पनि छेपारोले झैं रंग फेरेपछि नेपालको मान, सम्मान र प्रतिष्ठासमेत दाउमा लागेको छ । तर्सथ चीनको व्यापारिक सहर ग्वान्झाउमा आयोजना भइरहेको १६औँ एसियाडमा नेपालको सहभागिता अन्योलमा परेको छ । खेलकुदको सर्वोच्च संस्था राष्ट्रिय खेलकुद परिषद्ले आफूले छनोट गरेका १४ वटा खेल मात्र आधिकारिक भएको जानकारी आयोजक समितिलाई गराएको छ । साथै आफ्नो टोलीनेतामा खेलकुदमन्त्री गणेश नेपाली र सेभ द मिसनमा राखेपका सदस्यसचिव हरिबाबु चौधरी रहेको खुलासा गरेको छ । धोकामाथि धोका दिँदै आएका अवैधानिक एनओसीका पदाधिकारीहरूले ग्वान्झाउ एसियाडमा आएर पनि धोका दिएका हुनाले राखेपले यस्तो कदम उठाएको परिषद् स्रोतले बताएको छ । अवैधानिक ओलम्पिक कमिटीको हस्तक्षेप विदेशमा झन् बढेकोले राखेपको अस्तित्वलाई जोगाउन पनि उक्त कदम चालिएको स्रोतले भनेको छ ।
नेपालमै सेभ द मिसनको विवादले शिखर छोए पनि अन्तिम समयमा आएर मन्त्री गणेश नेपालीलाई नेपाली टोलीको जिम्मेवारी सुम्पिएको थियो । मन्त्री नेपालीले नेपाली टोलीको नेतृत्व गर्ने भएपछि विवाद केही मत्थर भएको थियो । आफूले टोलीको नेतृत्व गर्ने जिम्मेवारी पाए पनि अवैधानिक एनओसीको गोलमोटल कुराबाट परिचित मन्त्री नेपालीले ग्वान्झाउमा आफ्नो हैसियत के हुने हो त्यसबारेमा पहिल्यै शङ्का व्यक्त गरेका थिए । आखिर मन्त्री नेपालीको गरेको शङ्का अहिले सही सावित भएको छ । अवैधानिक एनओसीले टोलीनेताको हैसियतलाई रबर स्ट्याम्पको रूपमा प्रमाणित गरिदिएको छ । मन्त्री नेपाली मात्रै टोलीनेताको नाममै सीमित हुन पुगेका छन् । मन्त्री नेपाली र सदस्यसचिव चौधरीलाई तलबाट लोप्पा खुवाउँदै नेपाली टोलीको नेता र सेभ द मिसनमा उमेशलाल श्रेष्ठलाई खडा गरेको छ । नेपाली खेलाडी र विदेशीहरूलाई समेत तीनछक्क पार्दै नेपालका दुई सेभ द मिसन मैदानमा देखिएपछि नेपालको खेलकुदको विवाद अन्तर्राष्ट्रियस्तरमा समेत नराम्ररी उजागर भएको थियो । आची गर्नेलाई भन्दा देख्नेलाई लाज भइसक्दा पनि अवैधानिक ओलम्पिक कमिटीका पदाधिकारीहरूले आफ्नो हर्कत देखाउनमा कुनै कसर बाँकी राखेनन् । ग्वान्झाउ एसियाडको मार्चपासको समयमा सेभ द मिसनको रूपमा झुल्किएका उमेशलाल श्रेष्ठले आफू असली सेद मेसिनको दाबी गरेपछि राखेप र एनओसीको विवादले अझ उग्ररूप लिएको थियो । ग्वान्झाउ एसियाडमा सहभागिता जनाइरहेका एक खेलाडीले यो जग हसाउने कुरा भयो, घरको झगडा घरमै मिलाएको भए राम्रो हुन्थ्यो भन्दै चिन्ता र आक्रोश प्रकट गरेका थिए । ती खेलाडीले योे घटनाले सबै खेलाडी अन्योलमा परेको बताउँदै खेलाडी को सक्कली र को नक्कली हो भनेर छुट्याउन गाह्रो भइरहेको बताए ।
नेपालमा भएको सहमतिअनुसार सदस्यसचिव हरिबाबु चौधरीलाई सेभ द मिसन बनाउने र त्यसको साटो ओलम्पिक कमिटीले आफ्नै प्रयासमा लान लागेको ६ वटा खेललाई एसियाडमा समावेश गनुपर्ने निर्णय भएको थियो । सो कुराको पालना राखेपले अक्षरशः गरे पनि एनओसी भने ग्वान्झाउ पुगेपछि आफ्नो प्रतिबद्धतामा ठीक विपरीत वनेको थियो । यसरी आफूमाथि धोकामाथि धोका भएको आत्मसात् गर्दै सदस्यसचिव चौधरीले बाँकी ६ वटा खेल कबड्डी, बुद्धिचाल, जिम्न्यास्टिक, गल्फ र साइक्लिङसँग राखेपको नाता तोडेका थिए । ती खेलहरूलाई नेपाल सरकारले नपठाएको जानकारी दिँदै अवैधानिक संस्थाहरूबाट गएका खेलहरू अवैधानिक हुने बताएका छन् । ती खेललाई कसको स्वार्थसिद्ध गर्न एसियाडमा पठाइएको हो त्यो आफूलाई राम्रोसँग थाहा भएको बताउँदै चौधरीले त्यसबारेमा स्पष्टीकरण सोधिने र कारबाहीको प्रक्रिया अगाडि बढाइने बताएका छन् । खेलकुदमा विकासभन्दा विवाद बढी गर्ने व्यक्तिहरूबाट खेलकुदको भलो नहुने बताउँदै यस्ता व्यक्तिहरूप्रति सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्ने चौधरीले माग गरेका थिए ।
तर्सथ अहिले १६ एसियाडमा नेपालको सहभागिता दुई खेमामा विभाजित हुन पुगेको छ । नेपाली खेलकुदलाई बिथोल्न बोकाको बायाँ खुट्टाको कार्य गर्दै आएका अवैधानिक एनओसीका महासचिव जीवनराम श्रेष्ठले उमेशलाल श्रेष्ठलाई उचालेर खेलकुदमा अर्को बेथिति मच्चाएका छन् । खेलकुदमा कुनै अस्तित्व नभएका तर पारिवारिक राजनीतिक शक्तिका कारणले खेलकुदमा घुस्न पाएका श्रेष्ठलाई जीवनरामले एसियाडमा बलिको बोका बनाएका छन् । आए आँप गए झटारो भन्ने उक्तिलाई आत्मसात् गरेका जीवनरामले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न उमेशलाललाई अघि सारेको सूत्रको दाबी छ । आफ्नो कार्यकालमा एनओसीलाई निकै गौण ठान्ने जीवनरामले राखेपमा दानापानी सकिएपछि आफूले खाएको थालमा प्वाल पार्दै आएका छन् । ध्रुवबहादुर प्रधानपछि एनओसीको अध्यक्ष बन्ने सपना देखेका जीवनरामको महत्त्वाकाङ्क्षा र रणनीतिमा सर्वोच्चले पानी फेरिदिएपछि उनी अहिले मौकामा चौका मात्र हानिरहेका छन् । ग्वान्झाउबाट नेपाल फरि्कएपछि एनओसीबाट लखेटिनुपर्ने सत्यतालाई आत्मसात् गरेका जीवनरामले मर्ने बेलामा हरियो काँक्रो जसरी उमेशलाललाई सेभ द मिसनको रूपमा प्रस्तुत गरेको सूत्रको दाबी छ । हेरौँ, अन्तर्राष्ट्रिय मान्यताको धाक लगाउँदै सर्वोच्चको निर्णयलाई समेत चुनौती दिइरहेका दुवै श्रेष्ठ नेपाल फर्केपछि कस्तो जवाफ दिने हुन् त्यतिबेलासम्म कर्ुर्नु नै बेस होला ।

राखेपको उर्दीले कबड्डी पुनः विवादमा
राष्ट्रिय खेलकुद परिषद्को छनोटमा नपरेको कबड्डीलाई अन्तर्राष्ट्रिय शक्तिको आधारमा अवैधानिक नेपाल ओलम्पिक कमिटीले ग्वान्झाउ लाने निर्णय गरेको थियो । विवादित र दुईवटा सङ्घ अस्तित्वमा रहेको कबड्डी सङ्घलाई राखेप र एनओसीले काखी च्याप्दै आएका छन् । राखेपलाई कुनै जानकारी नदिई बिनाप्रशिक्षण र छनोट ग्वान्झाउ लाने निर्णय गरेपछि राखेपले मान्यता दिएको लालकुमार लामाको सङ्घले आपत्ति प्रकट गर्दै खेलाडीहरूलाई ग्वान्झाउ नपठाउन राखेपमा निवेदन दिएको थियो । सोही पत्रको आधारमा हालै राखेपले ग्वान्झाउमा सहभागिता जनाउन तयारी गरिरहेका विभागीय टोलीलाई त्यहाँ नपठाउन पत्राचार गरेको छ । राखेप र मन्त्रालयको पत्र पाएपछि आफ्ना ६ जना खेलाडीलाई नेपाल प्रहरीले ग्वान्झाउ नपठाउने निर्णय गरेको छ । प्रहरीको यो निर्णयसँगै एसियाडमा कबड्डीको सहभागिता अन्योलमा परेको छ । एनओसीका पदाधिकारीहरू जसरी भए पनि खेलाडीलाई ग्वान्झाउमा ल्याउने प्रयत्न जुटेका छन् भने खेलाडीहरू दुई ढुङ्गाको तरुलमा नराम्रो फसेेका छन् । खेलाडीहरू सरकार र आफ्नो संस्थाको आदेशबिना एक कदम पनि अगाडि बढ्ने स्थितिमा छैनन् ।

महिला क्रिकेटको र्समनाक प्रदर्शन
मार्सल आर्टस्का खेलहरूसँगै १६औँ एसियाडमा पदकको आशा गरिएको महिला क्रिकेटले र्समनाक प्रदर्शन गरेको छ । आफूभन्दा निकै कमजोर टिम जापानसँगको पहिलो खेलमा १० विकेटले पराजित भएको छ । जापानसँगको खेलमा मात्र ६२ रनमा समेटिएको नेपालले बलिङमा खासै प्रदर्शन गर्न सकेन । कमजोर आँकिएको जापानले बिनाविकेटको क्षतिमा नेपालमाथि विजय हासिल गरेको थियो । यसरी पदकको प्रबल दाबेदार महिला टिमले गरेको प्रदर्शनले नेपालले पदक जित्ने सम्भावना निकै झिनो बनेको छ । जापान, बंगलादेश र चीनले आ-आफ्ना खेल जितेर अगाडि बढिसकेको अवस्थामा नेपालका लागि सेमिफाइनल यात्रा अन्योलमा परेको छ । बंगलादेशसँग १० विकेटले पराजित भएको हङकङसँग नेपालले मंगलबार दोस्रो खेल खेल्दै छ । हङकङलाई उक्त खेलमा नेपालले पराजित गरे पनि सेमिफाइनलमा पुग्नका लागि बंगलादेश र जापानबीचको पराजित टिमसँग पुनः भिडन्त गर्नुपर्नेछ । यदि यी दुई खेलमा नेपालले विजय हासिल गरे सेमिफाइनलमा प्रतियोगिताकैै सशक्त टिम बंगलादेशको सामना गर्नुपर्नेछ । क्रिकेट अनिश्चितताको खेल भएकोले जे पनि हुन सक्छ । अर्थात् नेपाली महिला क्रिकेट टिमले यसअघि अन्तर्राष्ट्रियस्तरमा उत्कृष्ट प्रदर्शन गरेर थुप्रै उपलब्धि हासिल गरिसकेको हुनाले पदकको सम्भावनालाई बचाएकै छ भन्दा अतिसयोक्ति नहोला । यसका लागि नेपालले मंगलबार हुने हङकङसँगको खेल जित्नैपर्ने हुन्छ ।

उसुले जगायो पदकको आशा
एघारौँ सागमा उत्कृष्ट प्रदर्शन गरेका उसुका खेलाडीले ग्वान्झाउ एसियाडमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । उसुको सान्सौ ६० केजी तौल समूहमा झरना गुरुङले उत्कृष्ट प्रदर्शन गर्दै बंगलादेशकी खेलाडीलाई पराजित गरेकी हुन् । एघारौँ सागकी स्वर्णपदक विजेता बंगलादेशकी प्रतिद्वन्द्वी खान्दोकरा मास्क बासोनालाई पराजित गर्दै भरना क्वार्टरफाइनलमा प्रवेश गरेकी हुन् । अब झरनाको भिडन्त लाओसकी खेलाडीसँग हुनेछ । झरना यो खेलमा विजय भएमा कम्तीमा पनि नेपालको झोलीमा कास्य पदक पर्नेछ । त्यस्तै उसुका अर्का खेलाडी मंगलसिंह थारूले आफ्नो पहिलो खेलमा विजय हासिल गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थारूले अफगानिस्तानका खेलाडी अमिरी अमिर शाहलाई सोझो सेटमा पराजित गरेका थिए । पदक सुनिश्चित पार्न थारूले सोमबार फिलिपिनी खेलाडीलाई पराजित गर्नुपर्नेछ । उनले यो खेलमा सफलता प्राप्त गरे कम्तीमा पनि कास्य पदकका हकदार बन्नेछन् ।