आखिर नवरात्रको महत्व के छ त ?

आखिर नवरात्रको महत्व के छ त ?


नवरात्र भन्दा बित्तिकै पहिलो दिन घटस्थापना गर्ने, नौ दिनसम्म शक्तिस्वरूपा भगवतीको पूजा गर्ने, देवी माहात्म्य पाठ गर्ने शक्तिपीठ दर्शन गर्ने र दशमीका दिन मान्यजनको हातबाट टीका, जमरा र प्रसाद लगाउने भन्ने बुझिन्छ ।

भारत, भुटान र बर्मालगायतका स्थानमा रहेका नेपाली मूलकाले पनि दशैं मनाउँछन् । छिमेकी मुलुक भारतमा पनि दशहराको रूपमा यो चाड मनाइन्छ ।

उनीहरू शक्तिपीठको दर्शन, सप्तशती चण्डी पाठ गर्ने र चोकचोकमा स्थापना गरिएकी देवीको पूजाआजा गर्ने, विभिन्न स्थानमा देवीले महिषासुर बध गरेको र रामले रावण बध गरेको प्रतीकस्वरूप नाटकलगायतका क्रियाकलाप गर्दछन् ।

नेपालीको जस्तो जमरा लगाउने चलन नभए पनि घटस्थापना गरी दशमीका दिन नदी सरोवरमा सेलाउने परम्परा छ । नेपालमा भने नवरात्रभरिको महत्व आफ्नै भए पनि घटस्थापना, फूलपाती, महाष्टमी, महानवमी र विजया दशमी चार दिनको महìव अझ बढी हुन्छ । केरा, दारिम, धान, हरिद्रा, मानक, कचु, बेल, अशोक र जयन्तीलाई फूलपाती वा नवपत्रिका भनिन्छ । यही फूलपातीका प्रत्येक पत्रमा एक–एक देवीको पूजा गर्ने चलन छ ।

दशैंघरमा गोरखा दरबारदेखि ल्याइएको फूलपाती भित्र्याउने चलन छ । नवरात्रभरि नै शक्तिपीठहरू भक्तजनको गन्तव्य बन्ने गर्दछन् । यस दिन विशेषगरी रातमा प्रत्येक दशैंघर तथा शक्तिपीठहरूमा कालरात्रि गर्ने चलन छ । तान्त्रिक विधिअनुसार कालरात्रि गर्ने विधि शास्त्रमा बताइएको छ । कालरात्रिका क्रममा कतिपय ठाउँमा बोका बलि दिइन्छ ।

शक्तिपीठहरूमा भने बोका राँगालगायतका पञ्चबलि दिने चलन छ । मांसाहार नगर्ने वा अहिंसावादीहरू भने कुभिण्डो, घिरौंलाजस्ता पदार्थ बलि दिन्छन् । काम, क्रोध, लोभ, मोह आदि दुर्गुण अन्त्य गर्न बलि दिएको विश्वास गरिँदै आएको छ । अर्कोतर्फ बलिको माध्यमबाट पशुलाई त्यसयोनिबाट मुक्ति दिएको भन्नेहरू पनि छन् ।

नवरात्रमा कन्यापूजा नवरात्रभर नवदुर्गाको पूजाका साथै प्रत्येक दिन एक एकवटी कन्यालाई पुज्ने चलन छ । प्रत्येक दिन फरक–फरक उमेर भएकी कन्यालाई वस्त्रअलंकार सहित पूजा गर्ने विधान छ । प्रत्येक दिन कन्या पूजा गर्न अनुकूल नहुँदा नवमीका दिन नौजना कन्यालाई पुज्ने गरिएको छ । नवमीका दिन तलेजु भवानीको मन्दिर पनि सर्वसाधारणका लागि खुल्ला हुन्छ ।

काठमाडौंँ, ललितपुर र भक्तपुरका कुमारी घरहरूमा कुमारीको पूजा गर्ने घुइँचो हुन्छ । तलेजु भवानीको मन्दिरमा कुमारीचोकको निर्माण गरी प्रत्येक वर्ष नवमीमा पूजा गर्ने चलन मल्लकालदेखि चलेको बताइन्छ । काठमाडौंँ र दोलखामा खड्गजात्रा काठमाडौंँको नेवार समुदायलाई दशैंका बेला खड्गजात्राको चटारो छ ।

दैवी शक्तिले आसुरी शक्तिलाई पराजित गरेको प्रतीकस्वरूप विजया दशमी वा एकादशीका दिन यो जात्रा गरिन्छ । असनमा मनाइने खड्गजात्रामा अन्नपूर्ण देवीको साधना गरिन्छ । यसैगरी टेबहाल, वटु, भद्रकाली, महाबौद्ध आदि स्थानमा कंकेश्वरी  किलागलमा श्वेतकाली र क्वहिटीमा नीलबाराहीको साधना गरिन्छ । असनको जात्रामा टोलका सबभन्दा कान्छा व्यक्तिको नेतृत्वमा जात्रा गरिन्छ ।

दोलखामा पनि भीमेश्वर क्षेत्रमा देवताले दैत्य विनाश गरेको प्रतीकस्वरूप खड्गजात्रा गर्ने चलन छ । यहाँको जात्रा अष्टमीका दिन भीमेश्वरलाई बलि दिएर सुरु हुन्छ ।

काठमाडौंँमा पचली भैरव दशैंकै पञ्चमीमा काठमाडौंँको टेकु दोभानमा नेवार समुदायले पचली भैरवको जात्रा गर्दछन् । घटस्थापनाका दिन पचली भैरवमा भएको भैरवको मुहारयुक्त पित्तलको घ्याम्पो पूजारीकहाँ लगी सरसजावट गर्ने र चौथीका दिन मन्दिरमा ल्याई  विधिपूर्वक महास्नान गराउने चलन छ ।

यसैगरी तिनमा नेवारी परम्पराअनुसारका प्रसादहरूले भरिन्छ  भोलिपल्टको रातमा सो घ्याम्पो बोकी जात्रा गर्ने चलन छ । पचली भैरवमा बाह्र वर्षमा एकपटक खड्गसिद्धि जात्रा गर्ने चलन पनि रहेको छ । खोकनामा सिद्धिकाली जात्रा भनिन्छ, ललितपुर खोकनाका बासिन्दाले दशैं मनाउँदैनन् ।

देशभरि दशैंको रौनक छाइरहँदा उनीहरू भने आफ्नै मौलिक सिकाली (सिद्धिकाली) जात्रा मनाउन व्यस्त रहन्छन् । यहाँका बासिन्दा न त जमरा नै राख्छन् न त विजया दशमीको टीका नै लगाउँछन् ।

आश्विन शुक्ल तृतीयादेखि फूलपातीको दिनसम्म सिकाली पर्व मनाइन्छ । स्थानीय रुद्रायणी मन्दिरमा पूजाआजा बलि जात्रा गरिन्छ ।  षष्टीको दिन खोकनाको सिद्धिकाली चौरमा जात्रा गर्ने र सप्तमीको दिन विभिन्न शक्ति अवतारहरूको रूप धारण गरी नाच देखाउने परम्परा छ ।

यसरी नवरात्रको महत्वलाई जानकारहरुले दर्साउने गरेका छन् । दसैंका निम्ति सबै जम्मा हुने, रमाइलो गर्ने र वर्षभरीको दुखः भुली मिठो खाई, राम्रो लगाई आफन्त जनहरुसँग घुलमिल हुने पर्वका रुपमा लिइन्छ ।