उत्तर कोरिया, भेनेजुएला र चादलाई अमेरिका भ्रमणमा रोक !

उत्तर कोरिया, भेनेजुएला र चादलाई अमेरिका भ्रमणमा रोक !


सुरक्षा खतरा औंल्याउँदै अमेरिकाले उत्तर कोरिया, भेनेजुएला, र चादका नागरिकलाई अमेरिका भ्रमणमा रोक लागाएको छ । यी तीन देशसहित अमेरिका भ्रमणमा जान नपाउने विश्वका नागरिकको सूचीमा अब आठ देश परेका छन् ।

पहिलेका पाँच र उल्लिखित तीन गरी आठ देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाएको नयाँ घोषणासम्बन्धी विज्ञप्ति अमेरिकी राष्ट्रपतिको कार्यालयले आइतबार प्रकाशन गरेको समाचारमा जनाइएको छ ।

यसअघि इरान, लिबिया, सोमालिया, सिरिया र यमनलाई अमेरिका भ्रमणमा ९० दिनको लागि रोक लागाइएको थियो । ती देशले अमेरिका प्रवेश गर्न नपाउने सूचना यसअघि घोषणा गरिएको ९० दिन गत आइतबार नै सकिएको छ।

उक्त तीनमहिने अवधि समाप्त भएकै दिन अमेरिकाले अर्को व्यवस्था नभएसम्मका लागि यी तीन समेत थप गरी आठ देशले अमेरिका प्रवेश नपाउने सूचना जारी गरेको हो ।

यस देशहरुबाट अमेरिका पुग्ने नागरिकलाई रोक्नुको कारण विशेषगरी सुरक्षा खतरा नै रहेको अमेरिकाले जनाएको छ । अमेरिकाले आफ्नो सुरक्षाका लागि तथा अमेरिकालाई आतङ्ककारी आक्रमणबाट रोक्न यो निर्णय गरेको आइतबार अबेर राती राष्ट्रपति ट्रम्पले घोषणा गरेका छन् । यसरी उत्तर कोरिया र चादका नागरिकलाई पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ भने इरान, लिबिया, सोमालिया, सिरिया र यमनको नागरिकलाई यसअघि नै लगाइएको प्रतिबन्धमा थप गरिएको छ ।

राष्ट्रपति ट्रम्पले यसअघि प्रतिबन्ध लगाउनुभएका छ वटा मुस्लिम राष्ट्रमध्ये सुडानलाई भने फुकुवा गरिएको छ । उत्तर कोरिया र भेनेजुएलालाई पनि हाल अमेरिका भ्रमणमा रोक लगाइएपछि यस अघि लगाइएका मुस्लिम बाहुल्यता रहेका राष्ट्रमा मात्र यो नीति सिमीत नरहेको बताइएको छ ।

नयाँ देशहरु उत्तर कोरिया, चाद र भेनेजुएलामाथिको यस प्रतिबन्धको नियम आगामी अक्टोबर १८ बाट लागू हुने बताइएको छ । तर यसअघि नै प्रवेशाज्ञा पाइसकेकाहरुलाई भने यो नयाँ कानुन लागू नहुने स्पष्ट गरिएको छ ।