म्यानमारमा भेटियो अट्ठाइस हिन्दू नागरिकको शव

म्यानमारमा भेटियो अट्ठाइस हिन्दू नागरिकको शव


म्यानमारको उत्तरी राज्य राखिनको माउङ्गताउ क्षेत्रमा २८ जना हिन्दू गाउँलेको शव भेटिएको छ । म्यानमारको सरकारी समाचार समितिले दिएको समाचारअनुसार गत अगस्त २५ मा आराकान रोहिङ्गा सल्भासन आर्मी (एआरएसए) अतिवादीका करिब ३ सय आतंककारीले गरेको आक्रमणमा ती २८ व्यक्ति मारिएको अनुमान गरिएको छ । यद्यपि यस विषयमा अझै अनुसन्धान जारी रहेको छ ।

म्यानमारको राखिन राज्यमा रोहिङ्गा मुसलमान समूदायको बसोबास रहेको छ । उक्त समुदायका नागरिकहरुको बस्तीमा गत अगस्ट २५ बाट जारी द्वन्द्वमा चार लाख ३६ हजार नागरिक भागेर बङ्गलादेश बिस्थापित भएका छन् ।

बङ्गलादेश जाने क्रममा र राखिन राज्यमा नै द्वन्द्वको क्रममा सयौँ व्यक्तिले ज्यान गुमाएका छन् । ज्यान गुमाउने रोहिङ्गा मुसलमान र हिन्दू दुवै रहेका छन् ।

रोहिङ्गा समुदायसँगको झडपका कारण ती हिन्दूहरु मारिएका हुनसक्ने अनुमान गरिएको भए पनि यसको तथ्य भने बाहिर आएको छैन ।