सुष्मिताको अर्को नाटक -राजन घिमिरे

सुष्मिताको अर्को नाटक -राजन घिमिरे


नायिका सुष्मिता केसीका प्रशंसक, उनका फ्यान अनि सुष्मितालाई चिन्ने-जान्नेहरूलाई स्पष्ट थाहा छ कि सुष्मिता भुवनकी श्रीमती हुन् र त्यही कारणले गर्दा नै सुष्मिताको थर केसी हुन पुगेको हो ।
केसी थरले नै चिनिएकी सुष्मिताको फेसबुक हेर्नेहरू जोकोही पनि यतिबेला झुक्किन पुगेका छन् । पहिले सुष्मिता केसीकै नामले फेसबुकमा देखापरेकी उनी केही दिन यतादेखि सुष्मिता बमजनको नामले आएकी छिन् । आफ्ना पति नायक भुवन केसीसँग खटपट भएपछि भुवनको थरबाट पनि विक्षिप्त हुन पुगेकी सुष्मिताले भुवनको जीवनमा आउनुअगाडिकै आफ्नो जन्मघरको थर राखिन् अहिले बमजन ।
भुवनसँगको सम्बन्धबाट मात्र होइन उनको थर देखेर पनि दिक्क मानेकी सुष्मिता यतिबेला बमजन भएपछि सबै झुक्किएका छन् तर उनले आफ्नो ‘फेसबुक’ मा भने तस्बिर त्यही राखेकी छिन् तर थर भने फेरेकी छिन् । त्यसो त सुष्मितालाई आज यो स्थानसम्म पुर्‍याउन भुवनकै हात र साथ रहेको छ भन्दा कसैले पनि नकार्न सक्दैन र यसमा सबैबाट एउटै जवाफ आउन सक्छ कि- ‘हो’
भुवनसँग मन नमिलेपछि उनको थरलाई नै घृणा गरेर थर फेरेकी सुष्मिताले एउटा कुरा भने हेक्का नै राखिनन् कि सुष्मिता नाम पनि उनलाई भुवनले नै दिएका थिए । दार्जिलिङकी रजनीलाई भुवनले काठमाडौंमा ल्याएर सुष्मिता बनाएका थिए । सुष्मिताको वास्तविक नाम भने रजनी थियो पहिले । भुवनको थरलाई घृणा गर्ने सुष्मिताले भुवनले राखिदिएको नाम भने किन नफेरेको होला – सबै प्रश्न गर्न थालेका छन् । कतै रजनी अर्थात् सुष्मितालाई पनि सस्तो चर्चा र लोकप्रियताका लागि जे पनि गर्न तयार हुने भुवनकै रोग त लागेन –

गोपाल भुटानीको उपेक्षा †
कुनै कलाकर्मीहरूको देहान्त भयो भने उनको सम्झना र श्रद्धाञ्जलीको नाममा लाखौँ विज्ञानपन छापेर ‘हामीले केही गर्‍यौँ’ भनेर नाक फुलाउने धेरै कलाकर्मीलाई थाहा छैन कि यतिबेला पुराना कलाकर्मी एवम् द्वन्द्व-निर्देशक गोपाल भुटानी आर्थिक अभावमा जीवन-मरणको अवस्थामा छन् । त्यसो त थाहा पाएर पनि बुझ पचाउनेहरूको ठूलै जमघट रहेको नेपाली चलचित्रकर्मीहरूको भीडमा कलाकारहरूको हकहितको नाममा धेरै सङ्घ/संस्थाहरू पनि नखुलेका होइनन् तर यी सबैले आफ्नै भुँडी भर्ने काम मात्र गरेका छन् । चलचित्र उद्योगको बहस, अन्तरक्रियाको नाममा लाखौं खर्चिनेहरूले बुझनुपर्छ कि एउटा सिङ्गो इतिहास ओछ्यान परेको छ तर उनीहरू सिङ्गो इतिहासलाई भुल्न खोजिरहेका छन् ।
गोपाल भुटानीले अशक्ततता र आर्थिक अभाव व्यहोरिरहेको अवस्थामा उनलाई चलचित्रकर्मीहरूले खासै सहयोग नगरेको वास्तविकता घामजस्तै र्छलङ्ग भइरहेको समयमा यो हप्ता चलचित्र विकास बोर्डले भुटानीलाई आर्थिक सहयोग प्रदान गरेर गतिलो र उदाहरणीय कार्य गरेको छ । चलचित्रको विधापिच्छे नै सङ्घसंस्था खोल्ने चलचित्रकर्मीहरूको ध्यान नगएको समयमा चलचित्र विकास बोर्डले तारिफ गर्न लायकको आर्थिक सहयोग गरेर भुटानीको मन मात्र जितेको छैन कि भुटानीलाई सहयोग गर्नुपर्छ भनेर आवाज उठाउनेहरूको धन्यवादको पात्र पनि भएको छ चलचित्र विकास बोर्ड । विकास बोर्डका सदस्यद्वय सपना घिमिरे, रामवीर मानन्धर र प्रशासन अधिकृत अनुपम निरौलाले गोपाल भुटानीलाई आर्थिक सहयोग हस्तान्तरण गरेका थिए ।

यिनलाई पनि चिनौँ
सिनेमा निर्माण गर्ने उनको सोच त उनमा पहिलेकै हो तर, पारिवारिक कारण त्यो सोच त्यतिबेला पूरा गर्न नपाएकी राधिका श्रेष्ठको सोच यतिबेला आएर पूरा भएको छ । लामो समयदेखि आधुनिक र भजन गीतमार्फत श्रोतामाझ चिनिएकी राधिकालाई अब दर्शकहरूले पनि चलचित्र निर्मात्रीको रूपमा चिन्न पाउने भएका छन् ।
राधिकाले निर्माण गरेको चलचित्र आजका युवा र मन परेपछि… यतिबेला प्रदर्शनका लागि तयार भएको छ । आजका युवालाई रवीन्द्र खड्काले निर्देशन गरेका हुन् भने मन परेपछिका निर्देशक सुमन दाहाल हुन् । गीत गायन अनि चलचित्र निर्माणसँगै दिनदुःखीको सेवा र समाजसेवामा समर्पित राधिकाले काठमाडौंको डिल्लीबजारमा हार्मोनिक डिजिटल रेकर्डिक स्टुडियो पनि सञ्चालन गरेकी छिन् ।
ç नमशिवाय नामक भजन गीतिसङ्ग्रह उनले बजारमा ल्याइसकेकी छिन् भने जयजय दुगा माता अर्को एल्बम उनी बजारमा ल्याउँदै छिन् । यसैबीच फेरि याद आयो आधुनिक गीतिसङ्ग्रह पनि राधिकाको बजारमा आउन लागेको एल्बम हो ।
आफूले गीत गाउनु र चलचित्र निर्माण गर्नु केवल व्यावसायिकताका लागि मात्र नभएको कुरा उनी बताउँछिन् । एल्बम र चलचित्र प्रदर्शनीपश्चात् आएको मुनाफा असहाय बालबालिका र वृद्ध-वृद्धाहरूको सहयोगार्थ उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् उनले ।

‘कस्तो हुनुपर्छ चलचित्र -’
सिनेमा कस्तो बन्नुपर्छ – कस्तो सिनेमा बनेमा दर्शकहरू सिनेमाप्रति आकर्षित हुन्छन् वा दर्शकहरूलाई सिनेमाप्रति आकर्षित गर्न कस्तो विषय र कथा छान्न सक्नुपर्छ – भन्नेबारेमा यो हप्ता ठूलै बहस भयो काठमाडौंमा अनि बहसमा चलचित्र क्षेत्रबाहेकका अन्य विधा र क्षेत्रका व्यक्ति र व्यक्तित्वहरूको सहभागिता पनि बाक्लै थियो । हरेक वर्ग, तह र तप्कामा नेपाली सिनेमा र यस क्षेत्रसँग सम्बन्धित कुराहरू पुर्‍याएर जनचासो बढाउने मामिलामा लामो समयदेखि लागिपरेको चलचित्र निर्देशक समाज र विशेष गरेर यो संस्थाका अध्यक्ष केपी पाठकलाई धन्यवाद दिए सबैले । निर्देशक समाजको बहस राम्रै भएको प्रतिक्रिया दिए सबैले भने यस्तो अन्तरक्रियाले निरन्तरता पाउनुपर्ने कुरातर्फ पनि जोड थियो सबैको- ‘यो एउटा विचार आदान-प्रदान गर्ने थलो पनि हो । विचार आदान-प्रदान नगरीकन कसरी निचोड निस्कन्छ र † अनि त्यो निचोडलाई कार्यान्वयन पनि गर्न सक्नुपर्छ,’ समाजका अध्यक्ष केपी पाठक भन्छन् । यस्तो कार्यक्रमलाई निरन्तर रूपमा अगाडि बढाउने योजनामा रहेको चलचित्र निर्देशक समाजका अध्यक्ष पाठकले बताए ।
बहसमा व्यक्त भएका विचार, सोच र भनाइलाई एउटा सही बाटो, उद्देश्य र गन्तव्यको रूपमा अङ्गीकार गरेर निर्देशक समाज अगाडि बढ्ने कुरा बताए निर्देशक समाजका अधयक्ष केपी पाठकले । ‘यो साझा चौतारी हो । सबैले आफ्नो सोच र विचार पोख्न र राख्न सक्छन् यहाँ,’ पाठकको भनाइ थियो ।