सन्यासी बन्दै अर्बपति जवान जोडी

सन्यासी बन्दै अर्बपति जवान जोडी


तपाईंसँग अर्बौंको सम्पत्ति छ, उद्योग–धन्दाहरू छन्, आफ्नै सपिङ कम्प्लेक्स छ, त्यसमाथि उमेर वा जवानी छ र साथमा पाँच वर्षमुनिको नाबालक सन्तान पनि छ, अनि यी सबै त्यागेर साधु–सन्यासीको जीवन अपनाउ भनी कसैले भन्छ भने सक्नुहोला ? निश्चय पनि यो सहज काम होइन । साधारण मानिसले यस्तो असाधारण फैसला लिन गाह्रै पर्छ ।

तर, मध्यप्रदेश (भारत)स्थित निमच नामक स्थान निवासी सुमित राठौर र उनकी पत्नी अनामिकाको निम्ति यस्तो कठिन फैसला पनि सहज बन्यो । लण्डनमा पढेर त्यहीँ काममा जमेका तर पछि पारिवारिक व्यवसाय सम्हाल्न भारत फर्केका ३५ वर्षीय सुमित र ३४ वर्षीया इञ्जिनियर अनामिका डेढ अर्ब बढीको सम्पत्ति र आफ्नी तीन वर्षीया छोरीप्रति समेत मोह टुटाएर यही सेप्टेम्बर २३ देखि विधिवत रूपले दीक्षा लिई सन्यासी बन्दैछन् ।

यसरी जवान उमेर, घरपरिवार, बन्द–व्यवसाय चटक्कै छोडेर सन्यासी पथ नअपनाउन परिजनहरूले निकै अनुनय–विनय गरे, तर राठौर दम्पत्तिले कसैको केही सुनेनन् । चार वर्षअघि मात्र विहे गरेको यो दम्पतिले ब्रह्मचर्य ब्रत पालना गर्न थालेको त अझ दुई वर्ष पूरा भइसकेको रहेछ । ब्रह्मचर्य धारणमा मिलेको सफलताबाट उत्साहित हुँदै उनीहरू सन्यासी बन्ने अठोटमा पुगेका रहेछन् ।

राठौर दम्पत्तिले भारतकै सुरतस्थित साधुमार्गी जैन आचार्य महाराजबाट सन्यास–पथको दीक्षा लिन लागेको समाचारलाई बीबीसीले महत्वका साथ प्रकाशित गरेको छ । सुमित र अनामिकाले यतिबेला मौन ब्रत लिएका छन् । यसर्थ पनि कसैको केही जवाफ दिइरहनुपर्ने झमेलाबाट ती एक प्रकारले मुक्त छन् । सुमितका बाबु पनि छोरा–बुहारीको यस सनसनीपूर्ण फैसलाबारे मुख खोल्न चाहँदैनन् । तीन वर्षकी छोरी इभ्यालाई उनीहरूले कसरी त्याग गर्न सके ? मानिसहरू तीनछक परेका छन् ।