मेक्सिकोमा शक्तिशाली भूकम्प : एक सय तीसको मृत्यु

मेक्सिकोमा शक्तिशाली भूकम्प : एक सय तीसको मृत्यु


मेक्सिकोमा गएको शक्तिशाली भूकम्पमा परी १ सय ३० जनाको मृत्यु भएकोछ । राजधानीमै दर्जनौँ घरहरु भत्किएका छन् । अहिले खोजी तथा उद्दार कार्य जारी छ । स्कुलका भत्किएका भवनहरुमा बालबालिका फसेको आशंका गरिएको अधिकारीहरुले बताएका छन् ।

भूकम्पका कारण अहिलेसम्म एक सय ३० जना भन्दा बढी मानिसको ज्यान गएको पुष्टि भएको मेक्सिकोका सरकारी अधिकारीले जनाएका छन् । मेक्सिकोको पोएब्ला राज्य केन्द्रविन्दु भएर ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण मोरेलोस, पोएब्ला र मेक्सिको सिटीमा बढी क्षति पु¥याएको छ । अहिले उद्धार तथा राहतको काम भइरहेको छ ।

भूकम्पका कारण धेरै भवन भत्किएको र भत्किएका भवनमा मानिस फसेकाले ज्यान गुमाउनेको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीले बताएका छन् । मेक्सिको सिटीको विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ भने भवनहरु खाली गरिएका छन् । मेक्सिकोमा पछिल्लो समय भूकम्पले ठूलो क्षति गरेको छ । सेप्टेम्बरको सुरुमा मेक्सिकोको दक्षिणी क्षेत्र केन्द्रविन्दु भएर गएको ८ दशमलव १ रेक्टर स्केलको भूकम्पका कारण ९० जनाको ज्यान गएको थियो ।

मंगलबार राति गएको भूकम्पको केन्द्रविन्दु पोएब्ला राज्यको एटेनटिङ्गो नजिक रहेको छ । यो राजधानी मेक्सिको सिटीबाट एक सय २० किलोमिटर पर पर्छ । भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाएका मध्ये ६४ जना मोरेलोस राज्यका छन् । यस्तै पोएब्लामा २९ जनाको ज्यान गएको छ । मेक्सिको सिटीमा ३० जनाको ज्यान गएको पुष्टि भएको छ । १० हजार भन्दा बढी मानिसको ज्यान जाने गरी ३२ वर्षअघि गएको भूकम्पको वर्षगाठ मै भूकम्प गएको हो ।