पहिलो अन्तर्राष्ट्रिय आर्बिटरःज्ञानेन्द्र खाइजु

पहिलो अन्तर्राष्ट्रिय आर्बिटरःज्ञानेन्द्र खाइजु


-श्रीविक्रम भण्डारी
त्यतिबेला आफ्नै बुबाले बुद्धिचाल खेलेको देख्दा अचम्म मान्ने उनले १२ वर्षको उमेरमै बुद्धिचाल खेललाई आत्मसात् गरेका थिए । शुभारम्भका दिनहरू प्रतिस्पर्धाभन्दा पनि सिक्नका लागि बिताएका उनले वास्तविक बुद्धिचाल भने १६ वर्षदेखि खेल्न थालेका थिए । गुरु रामप्रसाद कसुलाको प्रेरणाले २०४९ सालमा पहिलोपटक जिल्लास्तरीय बुद्धिचाल प्रतियोगितामा प्रतिस्पर्धा गरेका उनलाई गुरु चन्द्रनारायण शुद्धाकारले ‘राम्रो खेल्दो रहेछ’ भनेर जिल्लामा लगेपछि उनको भाग्य चम्केको थियो । यसरी छोटो समयमै उत्कृष्ट पर््रदर्शन गर्न सफल भएका ज्ञानेन्द्र खाइजु २०५७ सालमा भक्तपुर जिल्ला बुद्धिचाल सङ्घको सदस्य बन्न सफल भएका थिए ।
यतिवेला ज्ञानेन्द्रको चर्चाले शिखर छोएको छ । उनलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्बिटर हुने सौभाग्य प्राप्त भएको छ । खेलसँगै बुद्धिचाल खेलको विकासका लागि अनवरत रूपमा खटिँदै आएका ज्ञानेन्द्र २०५९ सालमा भक्तपुर जिल्लाको सचिव हुन पुगेका थिए । तत्कालीन समयमा बुद्धिचाल खेलका प्रतियोगिताहरू कमै हुने भए पनि २०६१ सालमा १३औं राष्ट्रिय बुद्धिचाललाई सफल पार्न ज्ञानेन्द्रले महत्त्वपूर्ण भूमिका निभाएका थिए । यही कुरालाई मध्यनजर गर्दै तत्कालीन अध्यक्ष सीताराम अग्रहरिले उनको कार्यकुशलताको प्रशंसा गर्दै आर्बिटरको प्रशिक्षण गर्न लगाएका थिए । सुनौलो पर्खाइमा रहेका ज्ञानेन्द्रले मौकामा चौका हान्ने क्रममा उक्त प्रशिक्षणमा आफूलाई उत्कृष्ट सावित गरेका थिए । उक्त प्रशिक्षणमा पहिलो स्थान हासिल गरेपछि बुद्धिचालका लागि ज्ञानेन्द्र पहिलो च्वाइसमा पर्दै आएका छन् ।
आर्बिटरको रूपमा परिचित र स्थापित भएदेखि वर्तमान अवस्थासम्म बुद्धिचाल खेलको विकास र विस्तारमा कटिबद्ध भएर लागेका ज्ञानेन्द्र २०६४ सालमा सम्पन्न भएको दोस्रो महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । २०६५ सालमा विश्व बुद्धिचाल महासङ्घ फिडेका लागि नेपालको रेटिङ अफिसरको जिम्मा पाएका ज्ञानेन्द्र हालै काठमाडौंमा सम्पन्न ग्रान्ड मास्टर प्रतियोगिता पछि नेपालको पहिलो अन्तर्राष्ट्रिय आर्बिटर बनेका हुन् ।
ज्ञानेन्द्र पहिलो अन्तर्राष्ट्रिय आर्बिटर बनेपछि नेपालमा बुद्धिचालको विकास र सम्भावनाका बारेमा आफ्नो धारणा राख्ने क्रममा बुद्धिचाललाई निकै सकारात्मक पाटोसँग जोडेका छन् । केही वर्ष पहिलेसम्म कस्तुरीले आफ्नै बिना खोजेजस्तै स्थितिमा रहेको बुद्धिचालप्रति उनले दुःख प्रकट गरेका थिए । नेपालको बुद्धिचाल कहाँ पुगिसक्नुपर्ने थियो त्यो ठाउँमा पुग्न नसकेकोमा गुनासो गर्दै कुहिरोमा हराएको कागजस्तै भएको स्पष्ट पारेका थिए । वर्तमान अवस्थामा अध्यक्ष राजेशहरि जोशीको नेतृत्वमा अन्तर्राष्ट्रिय सम्बन्धमा भएको विकासले गर्दा छोटो समयमा बुद्धिचालले ठूलो फड्को मारेको उनले स्वीकारेका छन् । अझ अध्यक्ष जोशी फिडे कार्यसमितिको सदस्यमा निर्वाचित भएपछि बुद्धिचाल खेलमा नयाँ आयाम थपिएको ज्ञानेन्द्रको दाबी छ ।
बुद्धिचाल खेलको विकासमा निकै गम्भीर देखिएका ज्ञानेन्द्रले यसलाई सोचेअनुरूप विकास गर्न स्कुलको प्राथमिक तहदेखि नै कोर्समा राख्नुपर्ने बताएका छन् । विदेशका थुप्रै मुलुकमा चेसको विकासका लागि यस्तै रणनीति अख्तियार गरिएको बताउँदै नेपालमा पनि यस्तो गर्न सके बुद्धिचालले छोटो समयमै अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय ठाउँ ओगट्ने प्रस्ट पारेका थिए । अन्य खेलको विकासका लागि जसरी जिम्न्यास्टिक खेललाई आधारभूत खेलको रूपमा लिइन्छ त्यस्तै खेलाडीहरूलाई मानसिक रूपमा स्वस्थ र सबल राख्न बुद्धिचाल महत्त्वपूर्ण हुने बताएका थिए ।

पूर्वयुवराजद्वारा विद्यार्थी र दाता सम्मानित
सार्वजनिक कार्यक्रमहरूमा बढ्दो सक्रियताका कारण चर्चामा रहनुभएका पूर्वयुवराज पारस शाह गत १४ गते बिहीबार अर्को एक सार्वजनिक कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभयो । हिमालयन अन्तरसांस्कृतिक सङ्घको आयोजनामा विभिन्न छात्रवृत्ति पाउने विद्यार्थी एवम् दाताहरूलाई पुरस्कृत र सम्मान गर्ने कार्यक्रममा उपस्थित भई पूर्वयुवराजले जापानी नागरिक योसिनोटी फुकुइ, श्रीलंकाली प्रसिद्ध खेलाडी पालिथा गालापथ्थीलगायत अन्य कलाकारहरूलाई सम्मानित तुल्याउनुभयो ।
नेपाल क्योकुसिन कराते सङ्घका अध्यक्ष तथा हिमालयन अन्तरसांस्कृतिक सङ्घका अध्यक्ष दमन बस्नेतको सभापतित्वमा सम्पन्न सो सम्मान कार्यक्रममा हिमालयन अन्तरसांस्कृतिक सङ्घद्वारा विगत आठ वर्षदेखि छात्रवृत्ति पाइरहेका १४ विद्यार्थीलाई पूर्वयुवराज पारसले शुभकामनापत्र प्रदान गर्नुभयो भने हिमालयन सङ्घलाई सामाजिक कार्य गर्न सहयोग पुर्‍याउने केदारबहादुर कार्की, बुद्ध शाही, क्लब फिप्टीका अध्यक्ष रमेश लुइँटेल, क्योकुसिन करातेका प्रशिक्षक प्रेमबहादुर लामा, सुदूरपश्चिमका कराते प्रशिक्षक टीकाराम बजगाईं, डा. शास्त्रदत्त पन्तलगायतलाई अभिनन्दनपत्रले सम्मान गर्नुभएको थियो ।

फिडे सदस्यमा राजेशहरि जोशी
नाम मात्रको बुद्धिचाल खेललाई साँच्चिकै बुद्धिचाल खेलको रूपमा परिणत गरेपछि नेपाल बुद्धिचाल सङ्घका अध्यक्ष राजेशहरि जोशीले ठूलो फड्को मार्न सफल भएका छन् । निकै सुशुप्त अवस्थामा रहेको बुद्धिचाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा लोकप्रियता दिलाउन अहम् भूमिका निभाएबापत उनलाई यो पुरस्कार प्राप्त भएको हो । छोटो समयमा नेपालमा बुद्धिचाललाई स्थापित गराउन सफल भएका जोशीले त्यसपछि अन्तर्राष्ट्रिय सम्बन्ध पनि उत्तिकै बलियो पार्न सफल भएका थिए । नेपाल विश्व बुद्धिचाल महासङ्घ -फिडे) को नजरमा परेपछि जोशीले फिडेको कार्यसमितिमा उम्मेदवारी दिएका थिए । हालै रुसको खान्तीमा सम्पन्न ८१औँ फिडे काङ्ग्रेसमा जोशीले अध्यक्षको प्रबल दाबेदार क्रिसनको प्यानलबाट उम्मेवारी दिएका थिए । उक्त निर्वाचनमा क्रिसनले बुद्धिचालका पूर्व विश्व च्याम्पियन कार्पोभलाई पराजित गरेका थिए । क्रिसन विजयी भएपछि जोशी एसियाको प्रतिनिधित्व गर्दै निरि्वरोध निर्वाचित भएका हुन् । नेपालको खेल पदाधिकारी कुनै पनि अन्तर्राष्ट्रिय संस्थाको कार्यसमितिमा पुगेको यो पहिलो अवसर हो । जोशी फिडेको कार्यसमितिमा निर्वाचित भएपछि घटना र विचारसँग कुरा गर्दै यो जित सम्पूर्ण नेपाली र खेलकुदको हो भने ।

कबड्डीमा लालकुमारको पकड
कबड्डी खेललाई अन्तर्राष्ट्रिय जगत्मा बद्नाम गराएपछि खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्ले तत्कालीन कबड्डी सङ्घलाई विघटन गरी लालकुमार लामाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । कबड्डीलाई व्यवस्थित र विवादरहित तरिकाले अगाडि बढाउन लामो समयदेखि गरिएको होमवर्कले हालै पूर्णता पाएको छ । जसले कबड्डीको सम्पूर्ण विवादलाई साम्य पार्दै नयाँ किरणको आशा जगाएको छ । राखेपले विश्वास गरेका राखेप सदस्य तथा कबड्डी सङ्घका अध्यक्ष लालकुमार लामाको अध्यक्षतामा वैधानिक रूपमा कबड्डी सङ्घको गठन भएको छ । उक्त कार्यसमितिको उपाध्यक्षमा मोती गुरुङ, राजअहमद अन्सारी, फूलमहमद अन्सारी, गोपीचन्द्र शर्मा, भरत चन्द छन् भने सचिवमा अरविन्दकुमार झा रहेका छन् । त्यस्तै सदस्यहरूमा रेखा यादव, सञ्जयकुमार शाह, पशुराम झा, विनोद नेपाल, प्रेमबहादुर बराल, रत्नकान्त झा, कृष्णशङ्कर शाह, प्रगतिमान रञ्जित, मोहनकाजी भण्डारी, विकास लामा, रमेश पौडेल, दिनेश लामा, सागर थापा, गोपाल रोकाय, राजीव लामिछाने, श्रीराम भट्ट, नरेन्द्र मिश्र, नवीन भट्टर्राई, प्रकाशकुमार बस्नेत र चेतनारायण शर्मा रहेका छन् ।

एन्टाद्वारा ३२ खेलाडीलाई ब्ल्याकबेल्ट
अखिल नेपाल तेक्वान्दो सङ्घ एन्टाले हालै ३२ जना खेलाडीहरूलाई ‘कुकिवन डान’ ब्ल्याकबेल्ट प्रदान गरेको छ । एन्टाका अध्यक्ष प्रदीप जोशीको उपस्थितिमा पाँचौं र छैटौं ब्याचका खेलाडीलाई ब्ल्याकबेल्ट र प्रमाणपत्र प्रदान गरिएको थियो । सो अवसरमा अध्यक्ष जोशीले मङ्सिरमा तेक्वान्दो ओपन प्रतियोगिता आयोजना गर्ने बताएका थिए । कार्यक्रममा क्यानेडियन समाजसेवी स्यारोन क्यामरुनले एक लाखबराबरको खेल-सामग्री साइनिङ स्टार तेक्वान्दो डोजाङलाई हस्तान्तरण गरेका थिए । स्मरण रहोस्, ३२ जना ब्ल्याकबेल्ट पाउने खेलाडीहरूमा एकै परिवारका ६ जना थिए । तेस्रो डान प्राप्त यी खेलाडीहरू प्रशिक्षक पदम रानाको प्रशिक्षण थिए ।