यसरी नेपाल भित्रियो रामदेव को अवैध रकम

यसरी नेपाल भित्रियो रामदेव को अवैध रकम


– रोशन कार्की

भारतीय योगगुरु रामदेवले नेपाली व्यवसायीको सहयोगमा हुण्डीमार्फत अवैध रकम नेपाल भित्र्याएको रहश्य खुलेको छ । आफु संलग्न रहेको कम्पनीबाट मुनाफा वितरण गर्न नपाउने कुनै पनि कम्पनीले लगानी अन्यत्र ल्याउन पाउँदैन, तर आफ्नो अवैध स्रोत नखुलेका सबै सम्पत्ति वैध बनाउनकै लागि बाबा रामदेवले हुण्डीमार्फत रकम नेपाल ल्याएको एक उच्च स्रोतले जनाएको छ ।

कानूनी रुपमा अर्को कम्पनीसँग पनि उनको कुनै सम्बन्ध नरहेको भेटिएपछि हालै नेपालको वीरगञ्जमा स्थापना गरेको उनको कम्पनी गैरकानूनी तवरले अर्थात् विनास्वीकृति सञ्चालन गरेको समेत खुलेको छ ।

आफुलाई महान समाजसेवीका रुपमा प्रचार गर्दै आएका योगगुरु रामदेवले अनुमति नै नलिई पतञ्जली आयुर्वेद प्रालिमार्फत नेपालमा लगानी गरेपछि उनको धन्धाको खुलासा भएको हो । कुनै देशमा लगानी गर्नुभन्दा पहिला सो देशको लगानी कानुनअनुसार विवरण पेश गरी दर्ता गरेर लगानी गर्न पाइने प्रावधान रहेको छ, रामदेवले नेपाली कानुन विपरीत लगानी गर्नुअगावै विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा लगानी बोर्ड ऐन २०६८ अनुसार स्वीकृति नलिई आफ्नो व्यवसाय सञ्चालन गरेका छन् ।

उनी नै सेयर सदस्य रहेको मुनाफा वितरण नगर्ने पतञ्जली योगपीठ तथा आयुर्वेदिक कम्पनीसमेत कानुन मिचेर दर्ता गरिएको पाइएको छ । कानूनविपरीत नै उनले १ अर्ब ५० करोड रुपैयाँ लगानी गरिसकेको भन्दै आफ्नो अवैध लगानीको जानकारी समेत गत वर्ष काठमाडौंमा पत्रकार सम्मेलन गरेर दिएका थिए ।

हालसम्म रामदेव आफैले कुनै पनि उद्योगमा लगानी गर्न पाउने अनुमति लिएको कतै भेटिएको छैन । उनले आफुले सिधै लगानी गर्न नमिल्ने भएपछि गैरआवासीय नेपाली उपेन्द्र महतोको नाममा लागनी देखाएर अवैध लगानी गरेको सम्बद्ध क्षेत्रमा चर्चा छ । पतञ्जली आयुर्वेद प्रालिमा महतोकी श्रीमती समता प्रसादको मात्रै लगानी रहेको उल्लेख छ ।

२०७१ भदौ २४ गते समताको नाममा शतप्रतिशत स्वदेशी लगानी रहने गरी उक्त कम्पनी उद्योग विभागमा दर्ता गरिएको थियो । रामदेवले भने उक्त कम्पनीमार्फत आफूले नेपालमा लगानी थालिसकेको दाबी गर्दै ५ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेका थिए ।

विदेशी नागरिकले नेपालमा कुनै उद्योग खोल्नुपूर्व उद्योगमन्त्रीले अध्यक्षता गर्ने औद्योगिक प्रवद्र्धन बोर्ड वा प्रधानमन्त्रीले लगानी गर्ने लगानी बोर्डबाट लगानी रकम स्वीकृत गराउनुपर्ने प्रावधान रहेको छ । सो प्रावधानलाई बेवास्ता गरि रामदेव र महतोले आफूअनुकुल उद्योग सञ्चालन गरेका छन् ।

सरकारी अधिकारीका अनुसार उक्त उद्योगमा रामदेवले गैरकानूनी तवरबाट रकम भित्राएको अनुमान गरिएको छ । भारतमा अवैध रुपमा रहेको करोडौँ रुपैयाँको स्रोत खुलाउन नसक्ने भएपछि रामदेवले हुण्डीमार्फत रकम नेपाल ल्याएको अनुमान समेत सरकारी निकायका कर्मचारीले गरेका छन् ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत रहेका महतोले रामदेवको लगानी मुनाफा वितरण नगर्ने कम्पनीबाट नभई पतञ्जली आयुर्वेद प्रालिमार्फत रहेको बताउँदै आएका छन् । मुनाफा वितरण नगर्ने कम्पनी कर नतिरेर सामाजिक काम गर्नका लागि दर्ता गरिएको हो, अवैध रुपमा सञ्चालन भएको सो उद्योगलाई मन्त्री र सचिवहरुको दबाबमा दर्ता गरिएको समेत खुलेको छ ।

विदेशी नागरिकले नेपालमा कुनै उद्यम गर्नका लागि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ अनुसार मात्रै अनुमति पाउँछ, उक्त ऐनअनुसार अनुमति नलिई कम्पनी रजिस्ट्रारको कार्यालयले सोझै दर्ता गर्नु गैरकानुनी हो । विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०४९ वा पछिल्लो समय लगानी बोर्ड ऐन २०६८ को व्यवस्थाअनुसार लगानीको अनुमति लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।