प्रदेशको निर्वाचनपछि आर्थिक क्रान्ति हुने अर्थमन्त्रीको दाबी

प्रदेशको निर्वाचनपछि आर्थिक क्रान्ति हुने अर्थमन्त्रीको दाबी


अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आसन्न प्रदेशको निर्वाचनपछि देशमा आर्थिकक्रान्त्रि हुने बताएका छन् । उनले मुलुकको अर्थतन्त्रमा सकारात्मक सूचक देखिन थालेकाले सबै क्षेत्रबाट सहयोग एवं लगानीका क्षेत्रमा क्रियाशील हुन समेत आग्रह गर्दै आर्थिक क्रान्त्रिको विकल्प नभएको बताएका छन ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को १८ औँ वार्षिक साधारणसभामा अर्थमन्त्री कार्कीले सो कुरा बताएका हुन । उनले मुलुकलाई संवृद्धिको दिशामा अगाडि बढाउन सरकार क्रियाशील रहेको र अर्थतन्त्रको दायरासमेत फराकिलो हुँदै गएकाले थप लगानी गर्न सहज हुने बताए ।  लगानी ल्याउन र त्यसलाई सहीरूपले परिचालन गर्न जरुरी रहेको भन्दै उनले भने, ‘शहरी र ग्रामीण क्षेत्रमा आर्थिक गतिविधि बढाउनु जरुरी छ, त्यसले आर्थिक विकास मात्रै नभइ रोजगारीका अवसर समेत सिर्जना गर्दछ ।’

नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले २३ वर्षयता मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ९ प्रतिशत रहेको र १३ वर्षपछि मुद्रास्फिति दर समेत चार प्रतिशतको हाराहारीमा रहेकाले आर्थिक क्षेत्र थप सवल बन्दै गएको तथा लगानीका वातावरण समेत बनेको दाबी गरे ।

उनले बैंक तथा वित्तीय संस्था ऐन र राष्ट्र बैंक ऐन निर्माणका क्रममा आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारको ठूलो सहयोग रहेको र त्यसले आफूहरुलाई काम गर्न समेत सहयोग पुगेको बताए । बैंक तथा वित्तीय संस्थाको क्षमतामा समेत बढोत्तरी भएको उल्लेख गर्दै उनले ८० प्रतिशत भन्दा बढी भू–भागमा वित्तीय संस्थाको पहुँच पुगेको र बाँकी रहेको २० प्रतिशत क्षेत्रमा समेत छिट्टै विस्तार गर्ने नीति रहेको बताए ।

निजी क्षेत्रका प्रतिनिधिले संविधान कार्यान्यवको प्रक्रियासँगै मुलुकमा लगानीको वातावरण बनेकामा खुसी व्यक्त गर्दै दीर्घकालीन सुधारका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले सरकारको सकारात्मक पहलपछि मुलुकमा आर्थिक क्षेत्रको विस्तार भएको, लगानीको वातावरण बनेको र रोजगारीका थप अवसर सिर्जना भएको बताए ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकार, निजी क्षेत्र र सञ्चार जगतको सहकार्यले नै मुलुकमा आन्तरिक ताथ बाह्य लगानी भित्राउन सहयोग पुग्ने बताए । चेम्बरका अध्यक्ष श्रेष्ठले आर्थिक गतिविधि बढ्दै गएको र निरन्तर विद्युत् आपूर्तिले उद्योग व्यवसायीलाई लगानीका लागि अभिप्रेरित गरेको उल्लेख गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले आर्थिक क्षेत्रको विकास र विस्तारमा आफूहरु सबैसँग सहकार्य गरेर अगाडि जान तयार रहेको बताए ।