सुपथ मूल्यपसल सुरु, चामलदेखि बोकासम्ममा छुट

सुपथ मूल्यपसल सुरु, चामलदेखि बोकासम्ममा छुट


सरकारले नजिकिँदै गरेको ठूला पर्वहरुलाई लक्षित गरि सुपग पसल सुरु गरेको छ । दशैं, तिहार र छठलाई दक्षित गरेर सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको हो । आम नागरिकलाई लक्षित गर्दै यस वर्ष सरकारले बिभिन्न उपभोग्य सामानमा छुट सहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पाेरेसन लिमिटेड र दुग्ध विकास संस्थानले विभिन्न वस्तुमा छुट सार्वजनिक गरि सामान बिक्री गर्दै आएका छन् । सुपथ मूल्य पसलमा चामल, चिनी, घ्यू, गेडागुडीलगायत, खसीबोका खरिदमा पनि सहुलियत राखिएको आपूर्ति मन्त्रालयले जनाएको छ । उपत्यकासहित मुलुकको तीनदर्जन स्थानमा यस्ता सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ ।

आपूर्ति मन्त्रालयले संस्थानहरुलाई स्वीकृत बजेटबाटै कटाउने गरी छुट सुविधा दिन निर्देशन दिएको छ । मन्त्रालयले साल्ट ट्रेडिङलाई चिनी र नुनको सहुलियतबापत १ करोड ८५ लाख रुपैयाँ र खाद्य संस्थानलाई ६० लाख रुपैयाँ बजेट सहुलियतबापत खर्च गर्न स्वीकृत दिएको छ ।

कति छुट ?

साल्ट ट्रेडिङ कम्पनीले चिनीमा प्रतिकिलो ५ र नुनमा प्रतिकिलो २ रुपैयाँ छुट दिइएको छ । खाद्य संस्थानले मोटो चामलमा प्रतिकिलो ५ रुपैयाँ र मसिनो बास्मती चामलमा प्रतिकिलो १० रुपैयाँ छुट, फापरको पीठोमा पनि प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ ।  खाद्य संस्थानले बिक्री गर्ने खसी, बोका र च्याङग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिएको छ । दुग्ध विकास संस्थानले घ्यू र पनिरमा प्रतिकिलो १०÷१० रुपैयाँ छुट दिएको छ ।