अब गन्ट्याङ-गन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ : ओली

अब गन्ट्याङ-गन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ : ओली


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंबाट पोखरासम्म एक घण्टामै आईपुग्ने गरी रेल आउने दोहोर्‍याएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले देशलाई गरिब बनाइराख्न नहुने बताए । ‘यो देशलाई अबपनि गरिब बनाइ राख्न मिल्दैन, र हुँदै हुँदैन ।’ ओलीले भने ।

उनले देशमा गरिबी हटाएर समृद्ध बनाउन औद्योगिकरण, कृषिलाई आधुनिकिकरण गर्नुका साथै रेल, केवलकारलगायतको तीव्र विकास गर्नुपर्नेमा जोड दिए ।

पोरखाको सराङ्कोटमा शुक्रबारबाट सुरु भएको ‘तेश्रो सराङ्कोट पर्यटन महोत्सव’को उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले काठमाडौंबाट पोखरासम्म आउने रेलको काम सुरु भइसकेको र केही वर्षभित्रै सन्चालनमा आउने दावी गरे ।

‘काठमाडौंबाट पोखरासम्म आउने अहिलेको जस्तो गन्ट्याङ-गन्ट्याङ बाटो हुँदैन, सुलुलु चल्ने रेल आउँछ ।’ ओलीले भने, ‘रेल निर्माणमा केही ढिलाई भएपनि यो कुनैपनि हालतमा आउने र कसैले रोक्न सक्दैन ।’

उनले कृषिलाई आधुनिकिकरण गरेर मात्र नपुग्ने बरु यसको विकाससँगै स्वस्थ अर्गानिक उत्पादन गरेर विदेशमा निर्यातसमेत गर्नसक्नेतर्फ अग्रसर हुनुपर्ने आवश्यक्तामा जोड दिए ।

ओलीले चरा/मुसाले जसरी भरे के खाउँ ? भोलि के खाउँ ? भनेर नेपाली जनताले चिन्तित भएर सोंच्न नपर्ने किसिमको समृद्ध नेपाल निर्माण गर्नुपर्ने बताए ।

सराङकोट टोल विकास संस्था समन्वय समितिको आयोजना तथा सराङकोट समाज सेवा युवा क्लव, स्मृति युवा क्लव र सराङकोट पर्यटन विकास समितिको सह-आयोजनामा शुक्रबारदेखि सराङ्कोटमा सुरु भएको महोत्सव भदौ २५ गतेसम्म सञ्चालन हुनेछ ।

कार्यक्रममा ओलीले परेवा र बेलुनको गुच्छा उडाएर महोत्सवको उद्घाटन गरेका थिए । महोत्सवमा करिब ६० वटा विभिन्न व्यापारिक तथा हस्तकलाका स्टलहरु राखिएका छन् ।