मेरो उम्मेदवारी र पराजयको कारण

मेरो उम्मेदवारी र पराजयको कारण


-देवप्रकाश त्रिपाठी
माओवादीको रणनीतिक कोपभाजनमा नेपाली काङ्ग्रेस पटक-पटक परिरहनु नेपालको प्रजातान्त्रिक आन्दोलनका निम्ति सुखद एवम् सकारात्मक सङ्केत होइन भन्ने महसुस गर्नेहरूमध्ये म पनि एक हुँ । पुरानो र ऐतिहासिक पार्टी भएका कारणले मात्र होइन विश्वमा प्रचलित संसदीय प्रजातन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रता र सम्पत्तिमाथिको स्वामित्वको अधिकारका पक्षमा काङ्ग्रेस जति सुस्पष्ट एवम् दृढतापूर्वक अन्य कुनै पनि दल नउभिएका सन्दर्भमा स्वतन्त्रताप्रेमी हरेक नागरिक काङ्ग्रेसको भविष्यप्रति चिन्तित रहनु स्वाभाविक थियो र म पनि यिनै चिन्तितहरूमध्येमा लामबद्ध थिएँ । पेसाले पत्रकारितामा आबद्ध मेरा निम्ति लोकतन्त्र र लोकतान्त्रिक पार्टीप्रतिको विशेष ममता जायज थियो । बितेका केही वर्षयता माओवादीले तर्जुमा गरेका एजेण्डाहरू कुनै समय भानुभक्तको रामायण नेपालीहरूको घर-घरमा पढाएझैं पार्टीहरूभित्र प्रवेश गराउने र पढाउने काम हुँदै गरेको कुराले मलाई उद्वेलित तुल्याएको थियो । काङ्ग्रेसको मौलिक विचार र चिन्तनधारालाई विस्थापित गर्ने गरी केही ‘नेता’हरू काङ्ग्रेसभित्र माओवादी एजेण्डालाई स्थापित गर्न अनेक ढङ्गले सक्रिय रहेको टुलुटुलु हेर्न नसक्नुको कारण पनि मेरो उदार प्रजातन्त्रप्रतिको अगाध आस्था नै थियो । २०६२/०६३ को जनान्दोलन सफल भएपछि नेपाली राजनीतिको मूलप्रवाहमा काङ्ग्रेसले आफूलाई सुरक्षित राख्न सकेको भए देशको राजनीति यसरी बिथोलिने थिएन र शान्ति स्थापना प्रक्रिया पनि शीघ्र निष्कर्षमा पुग्ने आशा गर्न सकिन्थ्यो । माओवादीका एजेण्डामा अन्य पार्टीसरह काङ्ग्रेस पनि बग्दा अन्ततः देशको राजनीतिको मूल प्रवाह माओवादी बन्न पुग्यो र माओवादी अगुवा पार्टी बन्नुको पीडा देश आज व्यहोर्दै छ ।
०६३ सालमा लोकतन्त्र स्थापनापश्चात् असार दुई गते प्रधानमन्त्रीनिवास बालुवाटारमा तात्कालिक प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्डबीच आठबुँदे सम्झौता भयो । नेपालको लोकतान्त्रिक आन्दोलनलाई कमजोर तुल्याउन र माओवादीलाई नेपाली राजनीतिमा हावी गराउन त्यही आँठबुँदे सम्झौताले मुख्य योगदान पुर्याएको छ । एउटा सच्चा प्रजातन्त्रवादी सचेत नागरिकका रूपमा मलाई त्यस सम्झौताले आहत तुल्यायो । त्यसको केही दिनमै मैले गिरिजाप्रसाद कोइरालासँग भेट गरी उहाँबाट भएको त्रुटि औंल्याउँदै अब काङ्ग्रेस र प्रजातान्त्रिक आन्दोलन कमजोर हुने स्पष्ट विश्लेषण गरेको थिएँ । यदि ‘यही’ सम्झौताको भावनाअनुरूप अघि बढ्ने हो भने काङ्ग्रेस सङ्कटमा पर्ने र तपाईंचाहिँ ‘च्याङ काइ सेक’ बन्नुहुनेछ भनी मैले गिरिजाबाबुलाई सुझाएको थिएँ । उहाँले मेरा कुराहरू निकै ध्यानपूर्वक सुन्नु त भयो तर आफूसँग राम्रा सहयोगीहरू नभएको बताउँदै त्यसबेला उहाँले एकप्रकारको लाचारी प्रकट गर्नुभएको थियो । गिरिजाबाबुको लाचारी देखिसकेपछि मैले उतिबेलै काङ्ग्रेस र प्रजातन्त्र गम्भीर ढङ्गले सङ्कटमा पर्ने अनुमान लगाइसकेको थिएँ । माओवादीमा अन्य दलका नेता, कार्यकर्ता, प्रशासक, प्रहरी र परिस्थिति सबैलाई आफ्नो पक्षमा उपयोग गर्न सक्ने क्षमता थियो -अझै छ) । विभिन्न दलमा माओवादीको प्रशंसा प्राप्तिका निम्ति लालायित मानिसहरू क्रियाशील हुन थालेका थिए । माओवादीद्वारा निसृत एजेण्डाहरू आफूसम्बद्ध दलहरूभित्र बहस तथा छलफलमा ल्याउनु, सार्वजनिक समारोहमा सकारात्मक अभिव्यक्ति दिएर माओवादीको मन जित्न प्रयास गर्नु, माओवादीका गल्ती एवम् कमजोरीप्रति मौन रहनु र सरकारी ओहोदामा रहेकाहरूले चाहिँ माओवादीका अपराधजन्य क्रियाकलापलाई मौन र्समर्थन गरेर प्रोत्साहित गर्नु माओवादीका ती हितैषीहरूको मुख्य कर्म थियो । आफूलाई खाँटी लोकतन्त्रवादी ठान्ने मेरा निम्ति यस्ता व्यवहार अत्यन्त पीडादायी बन्न पुग्यो । यो पीडाले पनि मलाई काङ्ग्रेस केन्र्दीय सदस्यको उम्मेदवार बन्न प्रेरित गरेको हो । तेस्रो ठूलो दल एमालेमा वामदेव गौतम र झलनाथ खनालहरू माओवादीको हितैषी भूमिकामा थिए भने नेपाली काङ्ग्रेसमा झापाका कृष्ण सिटौला, नरहरि आचार्य र डा. शेखर कोइरालाको भूमिकालाई माओवादीले सदैव प्रशंसनीय मान्दै आएको छ । प्रथम राष्ट्रपति बन्ने या राजासँग बदला लिने मनोभावनाले गिरिजाप्रसाद कोइरालालाई माओवादीको कति निकट पुर्याएको थियो भन्ने कुरा छलफलको विषय हुनसक्ला, तर सिटौला, आचार्य र शेखरहरूचाहिँ माओवादीको प्रशंसा प्राप्त गर्न सदा छटपटिइरहे । नरहरि आचार्यको भूमिका माओवादीका एजेण्डालाई सम्पादनसहित काङ्ग्रेसभित्र प्रवेश गराउँदै बहस तथा छलफल गराउने थियो भने सिटौलाको भूमिकाचाहिँ गृह मन्त्रालयको प्रमुखका हैसियतले माओवादी कार्यकर्तालाई सुरक्षा र प्रोत्साहन दिनु थियो । डा. शेखर माओवादी, मित्रराष्ट्र र गिरिजाप्रसाद कोइरालाबीचको एक भरपर्दो पुलका रूपमा क्रियाशील थिए । त्यसबेला गिरिजाप्रसादको बुढ्यौली सिटौलाहरूको निम्ति आफ्नो राजनीतिक भविष्य सुदृढ तुल्याउने साधन बनेको थियो भने कोइराला स्वयम्को आकाङ्क्षा -प्रथम राष्ट्रपति बन्ने) चाहिँ माओवादीको निम्ति आफ्नो राजनीतिक गन्तव्यभेदनको प्रभावकारी अस्त्र बनिरहेको थियो । मैले गिरिजाप्रसाद कोइरालादेखि झापाका कृष्ण सिटौलासम्मलाई भेटेर माओवादीबाट प्रजातन्त्र र काङ्ग्रेस बचाइदिन जोडदार आग्रह गरेको थिएँ, तर कोइराला ‘डा. राजेन्र्दप्रसाद’ बन्ने आकाङ्क्षाले अन्धो बन्नुभएको थियो र उहाँ आफ्नो त्यस्तो आकाङ्क्षा माओवादीबाहेक अरू कसैले पूरा गर्न सक्छ भन्ने ठान्नुहुन्नथ्यो । सिटौलाचाहिँ प्रचण्डको वरिपरि घुम्न पाउनु र उनको ‘सवारी’ चलाउन पाउनुलाई नै आफ्नो जीवनको सुखद क्षणका रूपमा मानसपटलमा कैद गर्दै थिए । वास्तवमा त्यसबेला कोइराला र सिटौलाहरूले पार्टी र लोकतन्त्र होइन आफ्नै राजनीतिक भविष्य हेरेर माओवादीसँग मितेरी नाता गाँसेका थिए । त्यसैले उनीहरूको व्यवहार काङ्ग्रेस र लोकतन्त्र प्रतिकूल र माओवादी अनुकूल हुँदै गएको थियो । मैले ०६३ साउनको तेस्रो साता गिरिजाप्रसाद कोइरालालाई माओवादीको उपयोगवादी राजनीतिको बारेमा व्याख्या गर्दै गणतन्त्र घोषणासम्म मात्र माओवादीको साथ प्राप्त हुनसक्ने जानकारी गराएको थिएँ । यसरी पटकपटक माओवादीको रणनीतिक चालबाजीबारे सचेत गराउने प्रयास गर्दा पनि काङ्ग्रेस नेतृत्व र नेतृत्वलाई आफ्नो बसमा पारेर क्रियाशील भएकाहरूले माओवादी हितैषीको आफ्नो भूमिकामा परिवर्तन ल्याउन चाहेनन् । माओवादीको वैचारिक नेतृत्वमा काङ्ग्रेसलाई हिँडाउनु र उनीहरूका गैरप्रजातान्त्रिक एवम् हिंसात्मक व्यवहारलाई प्रोत्साहित गर्नुको परिणाम काङ्ग्रेसले संविधानसभा निर्वाचनका क्रममा हासिल पनि गर्यो । काङ्ग्रेस आफ्नो इतिहासमै सबभन्दा प्रतिकूल अवस्थामा पुग्यो । काङ्ग्रेस यस्तो पीडादायी अवस्थामा पुग्नुमा जो-जो दोषी थिए, तिनले काङ्ग्रेसजनसँग सार्वजनिक रूपमा क्षमायाचना गर्दै पार्टी राजनीतिबाट विश्राम लिनसक्ने आशा र अनुमान मैले गरेको थिएँ । तर, तिनमा कुनै प्रकारको ग्लानिबोध भएन । काङ्ग्रेसको घातक पराजयमा पनि तिनको मुस्कुराहट थामिएन । बरु गिरिजाप्रसाद कोइरालाको निधनपश्चात् निष्ठावान नेता सुशील कोइरालाको वरिपरि तिनको सगबगाहट अरू बढेको देखियो । माओवादीको कोपभाजनमा थप पर्नबाट काङ्ग्रेसलाई जोगाउनुपर्ने समयमा नेतृत्वको वरिपरि तिनै विभीषणहरूको बाक्लो उपस्थिति देखिन थालेपछि लोकतन्त्र सुदृढीकरणका निम्ति काङ्ग्रेसको रक्षा अत्यावश्यक भइसकेको निष्कर्षमा एउटा प्रतिबद्ध लोकतन्त्रवादी कार्यकर्ताका रूपमा म पुगेँ । काङ्ग्रेसको बाह्रौं महाधिवेशनमा केन्र्दीय सदस्य पदमा मेरो उम्मेदवारी यही पृष्ठभूमिमा भएको थियो । नीति-निर्माण तहमा मेरो उपस्थितिले काङ्ग्रेस नेतृत्वलाई सहयोग पुग्ने विश्वास मैले लिएको थिएँ । म कुनै वैयक्तिक महत्त्वकाङ्क्षाले चुनावी मैदानमा उभिएको थिइनँ । उम्मेदवारी दिनुअघि सभापति सुशील कोइरालाज्यूलाई भेटी यदि ‘प्यानल’ बनाउने हो भने मेरो नाम पनि समाविष्ट गर्न अनुरोध गरेको थिएँ र यस्तै अनुरोध मैले नेता खुमबहादुर खड्कासमक्ष पनि राखेको थिएँ । सुशील कोइरालाज्यूले ‘टिम’ नबनाउने बताउँदै आफैं प्रयास गर्नु अन्तिममा ‘पुस’ गरौँला भन्नुभएको थियो । तर, खुमबहादुर खड्काज्यूले भने देउवाको टिममा बसेर चुनाव लड्नुपर्ने अवस्था आएको जानकारी दिनुभयो । मैले देउवाबाट आफूलाई कुनै पनि हालतमा सहयोग नहुने बताउँदा उहाँले ‘टिम बनाइसकेपछि त्यस्तो नहुने’ आश्वासन दिनुभएको थियो । आखिर कान्तिपुर दैनिकमा म देउवाको टिममा परेको भन्ने समाचार पनि सार्वजनिक भयो । तर, निर्वाचनका दिन -असोज ५ गते) देउवाका तर्फबाट वितरित गुप्त सूचीमा मेरो नाम थिएन, देउवाले मेरो नाम काटेर नामावली तयारी गरी र्समर्थकहरूलाई उपलब्ध गराउनुभएको रहेछ । देउवाको टिममा परेको भन्ने प्रचारबाजीका कारण सुशील कोइरालाको टिममा मेरो नाम समाविष्ट गरिएन । नेपालको राजनीतिक इतिहासमा कुनै पार्टीले आन्तरिक प्रजातन्त्रको विहंगम अभ्यास गरेको यो नै स्मरणीय घटना हो । यस किसिमको अभ्यासमा जब पार्टी जुटिसकेको थियो भने गुप्त टिम खडा नगरी व्यक्ति-व्यक्तिबीच स्वस्थ प्रतिस्पर्धा हुने स्थिति सिर्जना गरिएको भए यो अभ्यास अरू सान्दरि्भक र सुगन्धित हुन सक्थ्यो । कसैको पनि टिममा नपारिनुको परिणाम म तीन सय तेह्र मत प्राप्त गरेर पराजित भएको छु । यद्यपि म पराजित हुनुमा अन्य कारणहरू पनि नभएका होइनन् । तर, कुनै पनि टिममा समावेश नगरिनु नै मेरो पराजयको मूल कारण बनेको महसुस मैले गरेको छु । यस अवसरमा मलाई मतदान गर्नुहुने समस्त काङ्ग्रेसजनप्रति आभार प्रकट गर्दै मेरो नाममा मतदान गर्न बाँकी सम्पूर्ण अगुवा कार्यकर्ता एवम् नेताहरूमा हारि्दक धन्यवाद ज्ञापन गर्दछु । देश, लोकतन्त्र र काङ्ग्रेसको भविष्य सुखद र सुन्दर रहोस्, शुभकामना ।
[email protected]