राष्ट्रिय प्रतियोगिता काँचुली फेर्दै छ जिम्न्यास्टिक खेल

राष्ट्रिय प्रतियोगिता काँचुली फेर्दै छ जिम्न्यास्टिक खेल


-श्रीविक्रम भण्डारी
जिम्न्यास्टिक खेलको उत्पत्ति मानवको उत्पत्तिसँगै भएको कुरा इतिहासमा प्रस्ट छ । जिम्न्यास्टिक खेल प्रत्येक खेलका लागि सहायक खेल भएकोले यसलाई ‘मदर अफ स्पोर्टस्’ पनि भनिन्छ । तत्कालीन समयमा शारीरिक तथा मानसिक तन्दुरुस्तीका लागि जिम्न्यास्टिक खेल्ने गरिन्थ्यो । नेपालमा जिम्न्यास्टिक खेल ०२९ सालमा जेओसीभीका स्वयम्सेवक तथा प्रशिक्षक मासाता मोरीले शुभारम्भ गरेकी हुन् । त्यसपछि जापानी स्वयम्सेवक प्रशिक्षकहरूले सर्वसाधारण नागरिक, सेना र प्रहरी सेवामा पनि प्रशिक्षण सञ्चालन गरी नेपालमा जिम्न्यास्टिक विकासमा अहम् भूमिका खेल्दै आएका छन् ।
नेपालमा जिम्न्यास्टिक सङ्घको स्थापना ०३७ सालमा भएको थियो । आफ्नो स्थापनाको तीन दशक पार गरिसकेको जिम्न्यास्टिक सङ्घले सन् १९८१ मा अन्तर्राष्ट्रिय जिम्न्यास्टिक महासङ्घबाट मान्यता पाएको थियो । देश, काल, परिस्थितिसँगै पौंठेजोरी खेल्दै कछुवाको गतिमा अगाडि बढेको जिम्न्यास्टिक सङ्घले पाँच महिनाअघि मात्र काँचुली फेर्ने मौका पाएको थियो । नाम मात्रको जिम्न्यास्टिक सङ्घको रूपमा राष्ट्रिय खेलकुद परिषद्मा दर्तामा रहेको यो सङ्घका पदाधिकारीहरू खेलकुदको माथिल्लो पदमा आसिन हुन पुगे पनि जिम्न्यास्टिकको अस्तित्वचाहिँ धरापमा परेको थियो । यही कुरालाई मध्यनजर गर्दै राखेपले पाँच महिनाअघि जिम्न्यास्टिक सङ्घलाई विघटन गरेर राखेपका पूर्वसदस्यसचिव किशोरबहादुर सिंहको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो ।
सम्पूर्ण खेलको जननी मानिने जिम्न्यास्टिक खेलको नेतृत्व किशोरबहादुर सिंहले सम्हालेपछि यो खेलमा नयाँ ज्यान पलाएको छ । सङ्घले खेलको सम्भावनालाई आत्मसात् गर्दै जिम्न्यास्टिक खेलको विकास, विस्तार र लोकप्रियता अभिवृद्धि गर्न कम्मर कसेको छ । खेलहरूको मेरुदण्डको रूपमा चिनिने जिम्न्यास्टिक खेललाई आमजनतासम्म पुर्याउने पहल शुभारम्भ गरेको छ । नवनिर्वाचित कार्यसमितिका अगाडि अहिले विभिन्न बाधा-अड्चन भए पनि त्यसलाई किनारा लगाउँदै जिम्न्यास्टिकलाई नयाँ लिगमा ल्याउने प्रयासमा जुटेको छ । सङ्घको यो सिर्जनात्मक पहलले जिम्न्यास्टिक खेलले नयाँ ज्यान पाएको छ भने खेलाडीहरूमा नौलो तरङ्ग उत्पन्न भएको छ ।
नेपाल जिम्न्यास्टिक सङ्घको आयोजनामा यही असोज १५ र १६ गते एनआईसी फाउन्डेसन राष्ट्रिय खुला जिम्न्यास्टिक च्याम्पियनसिप प्रतियोगिताको आयोजना हुँदै छ । खेलाडीहरूको स्तरवृद्धि, खेलप्रति जनमानसमा अभिरुचि बढाउन र खेलको विकास र विस्तारका लागि प्रतियोगिता आयोजना गरिन लागेको बताएको छ । यो प्रतियोगितामा १६ जिल्लाका एक सय ३० खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । चालीस अफिसियलको पनि सहभागिता रहने यो प्रयिोगितामा लगभग पाँच लाख खर्च हुने आयोजकले बताएको छ । प्रतियोगिताको मुख्य प्रायोजक र उपप्रायोजकमा क्रमशः राठी गु्रप, बैंक अफ एसिया र सिर्द्धार्थ बैंक रहेका छन् । प्रतियोगितामा सर्वोकृष्ट हुने खेलाडीलाई घरेलु सामग्री प्रदान गरिनेछ ।
प्रतियोगिताको आयोजनाको बारेमा प्रतिक्रिया दिँदै नेपाल जिम्न्यास्टिक सङ्घका अध्यक्ष किशोरबहादुर सिंहले राखेपको उद्देश्यअनुरूप राष्ट्रिय गौरव तथा स्वस्थ नागरिकका लागि खेलकुद भन्ने नारालाई साकार पार्न प्रतियोगिता आयोजना गर्न लागेको बताए । अध्यक्ष सिंहले समाजमा अनुशासित र गतिशील नागरिक तयार पार्न खेलाडीको स्तर मापन गर्न, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न, खेलकुदलाई जीवनको अभिन्न अङ्गको रूपमा विकास गर्न र जिम्न्यास्टिक खेलको विकास, विस्तार र लोकप्रियता अभिवृद्धि गर्नु प्रतियोगिताको उद्देश्य रहेको स्मरण गराएका थिए । अध्यक्ष सिंहले लामो समयपछि पहिलोपटक आयोजना हुन गइरहेको राष्ट्रिय जिम्न्यास्टिक प्रतियोगिताले जिम्न्यास्टिक खेलको विकासमा नयाँ आयाम थप्ने विश्वास प्रकट गरेका थिए ।
त्यस्तै नेपाल जिम्न्यास्टिक सङ्घका सचिव नवीन उप्रेतीले यो प्रतियोगिता ढिलै भए पनि राम्रै हुने बताएका छन् । उप्रेतीले यो प्रतियोगिताको माध्यमबाट सङ्ख्यात्मक सहभागिताबाट गुणात्मक क्षमतावान खेलाडी र जिल्ला पहिचान गर्नुको साथै सङ्घलाई भावी रणनीति र प्राथमिकताका आधारमा कार्यक्रम तथा योजना तर्जुमा गर्न मद्दत पुग्ने बताएका छन् । साथै जिम्न्यास्टिक खेलको परिवर्तित नयाँ अन्तर्राष्ट्रिय र राष्ट्रिय खेल नियमहरूसँग परिचित हुँदै स्तरीय खेलाडी हुनका लागि चाहिने प्राविधिक ज्ञान प्राप्त हुने बताएका छन् । त्यस्तै यो प्रतियोगिता निर्णायक र प्राविधिक प्रशिक्षकहरूका लागि पनि निकै महत्त्वपूर्ण हुने खुलासा गरेका थिए ।

छैटौँ राष्ट्रिय खेलकुद सुदूरपश्चिममा
पाँचौँ राष्ट्रिय प्रतियोगिताको समाप्तिसँगै राष्ट्रिय खेलकुद परिषद्को ७२औँ बोर्ड बैठकले सुदूरपश्चिममा छैटौँ राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको थियो । देशकाल, परिस्थितिले गर्दा सोचेअनुरूप छैटौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको बारेमा कुनै प्रगति देखिएको थिएन । सोही कुरालाई मध्यनजर राख्दै राखेपले केही साता पहिले अनुगमन टोली आयोजना स्थलको निरीक्षणका लागि धनगढी पठाएको थियो । उक्त अनुगमन टोलीले भौतिक पूर्वाधार, खेलमैदान र व्यवस्थापनलगायतको बारेमा कैलाली र कञ्चनपुरमा विस्तृत अध्ययन गरेर राजधानी फर्केको थियो । अनुगमन टोलीले आफ्नो प्रतिवेदन राखेपमा बुझाएपछि राखेपको ७६औँ बोर्ड बैठकले छैटौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता सुदूरपश्चिममा गर्ने निर्णय गरेको हो । उक्त बोर्ड बैठकले केही पूर्वाधारहरूको निर्माण हुन बाँकी रहेको अवगत गराउँदै आउँदो फागुनको २१ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको हो ।
छैटौँ राष्ट्रिय खेलकुदमा समावेश भएका तीस खेलमध्ये २७ खेलको आयोजना सुदूरपश्चिममा गरिनेे भए पनि पूर्वाधार नभएका पौडी, स्क्वास र गल्फ खेलको आयोजना भने काठमाडौंमा हुनेछ । कैलाली, कञ्चनपुर र डडेलधुरा गरी तीन जिल्लामा सम्पन्न हुने उक्त राष्ट्रिय खेलकुदमा करिब पाँच हजार खेलाडीले प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक एथलेटिक्स ट्रयाक, प्याराफिट र टेनिसकोर्ट निर्माणका लागि राखेपले बजेट उपलब्ध गराउने निर्णयसमेत गरेको छ । यी सबै पूर्वाधारहरू धनगढीमा निर्माण हुनेछन् । स्मरणीय छ, पाँचौँ राष्ट्रिय खेलकुदको आयोजना लागि सुदूरपश्चिमले झण्डा बोके पनि कारणवश उक्त प्रतियोगिता राजधानीमा सारिएको थियो ।

राष्ट्रिय खेलकुद नीति पारित
राष्ट्रिय खेलकुद नीतिको अभावमा बिनालगामको घोडाजस्तै बनेको नेपाली खेलकुदले बल्ल आफ्नो बाटो भेट्टाएको छ । सरकारले विभिन्न आठ बुँदामा विभाजित ‘राष्ट्रिय खेलकुद निति-२०६७’ लाई हालै पारित गरेको छ । डेढ वर्षअघि नेपाल ओलम्पिक कमिटीका अध्यक्ष ध्रुवबहादुर प्रधानले उक्त राष्ट्रिय खेलकुद नीतिको मस्यौदा मन्त्रालयलाई बुझाएका थिए । मन्त्रालयको निर्देशनमा प्रधानको संयोजकत्वमा रहेको २८ सदस्यीय मस्यौदा समितिले उक्त खेलकुद नीति तयार पारेको थियो । उक्त राष्ट्रिय खेलकुद नीतिमा ‘सबैका लागि खेलकुद’ भन्दै समग्र नेपाली खेलकुदको विकास र उत्थानका लागि जोड दिइएको छ । नीतिमा प्रधानमन्त्रीको अध्यक्षतामा एक बहुपक्षीय खेलकुद समन्वय परिषद् गठन गर्ने, युवा तथा खेलकुद मन्त्रालय, खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्, राष्ट्रिय खेल सङ्घहरू र नेपाल ओलम्पिक कमिटीबीच आपसी तालमेल स्थापित गराएर खेलकुदको विकास र विस्तारलाई अगाडि बढाउने उल्लेख गरिएको छ ।
बारम्बार खेलकुद नीतिका मस्यौदा तयार गरिए पनि आफ्नोअनुकूल नभएका कारणले दराजमै थन्क्याउँदै आएको खेलकुद मन्त्रालयले विभिन्न ठाउँबाट आएको दबाबका कारणले खेलकुद नीति परित गरेको थियो । हिजोसम्म खेलकुद नीतिको औचित्य र आवश्यकताप्रति मौनता साँध्दै आएको मन्त्रालयले अहिले राष्ट्रिय नीति पारित गरेलगत्तै नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्न खेलकुदलाई आग्रह गर्नुले अहिले खेलकुदमा नयाँ तरङ्ग उत्पन्न भएको छ । ढिलै भए पनि नेपाली खेलकुदको विकासका लागि छोराकै रूपमा आएको खेलकुद नीतिले नेपाली खेलकुदको विकासलाई अपेक्षाकृत अगाडि बढाउने खेलकर्मीहरूलेे विश्वास लिएका छन ।

कराँतेे विवाद विघटनसम्म
१६औँ एसियाली खेलकुद छनोट प्रतियोगिताअन्तर्गत कराँते खेलमा भएको विवादले अहिले खेलकुदलाई तताएको छ । केही साता पहिले सम्पन्न दुई खेलमा पराजित भएका खेलाडीले रेफ्रीको निर्णयप्रति असहमति जनाउँदै उजुरी दिएपछि विवाद उत्पन्न भएको थियो । छनोट प्रतियोगितामा पुरुषतर्फको ५५ केजी तौल समूहमा रवीन्र्द दाहालले साग च्याम्पियन सुनिल लामा र महिला ६८ केजी तौल समूहमा तारा गुरुङले मीना पाठकलाई पराजित गरेका थिए । आफ्नो पराजयको कारण रेफ्रीको गलत निर्णय भएको दुवै पराजित खेलाडीले बताउँदै आएका छन् । विश्व कराँते महासङ्घको नियमअनुसार यदि रेफ्रीको गलत निर्णयका कारणले यस्तो अवस्थाको सिर्जना भएमा पीडित खेलाडीले तुरुन्तै उजुरी गर्नुपर्ने र सङ्घले अरू खेललाई रोकेर आधा घण्टामा निर्णय दिनुपर्छ ।
खेलका क्रममा पराजित खेलाडीले गरेको उपद्रोलाई समेत अनदेखी र अनसुनी गरेको महासङ्घले समयमा निर्णय गर्नुको साटो विवादलाई चुइगमजस्तै तानेर राख्दा यस्तो अवस्थाको सिर्जना भएको एक कराँते प्रशिक्षकले बताएका छन् । महासङ्घको नियमअनुसार समयमै उजुरी भएन भने पुनः खेल नहुने र विजयी खेलाडीलाई नै विजयी गराइने प्रावधान रहेको छ । यसरी छनोट चरणमा भएको विवादलाई समयमै समाधान गर्न नसक्नुमा कराँते महासङ्घको कमजोरी हो भन्दा अतिशयोक्ति नहोला । अहिले यही कमजोरीको फाइदा उठाउँदै राखेपका मार्शल आर्टस्का संयोजक तथा एसियाली खेलकुद प्रतियोगिताका संयोजक मीनकृष्ण महर्जनले महासङ्घको निर्णयलाई आत्मसात् गर्दै रवीन्र्द र तारा नै विजय भएको घोषणा गर्दै कराँते महासङ्घलाई विघटन गर्न सदस्यसचिव हरिबाबु चौधरीसमक्ष प्रतिवेदन प्रस्तुत गरेका छन् । महासङ्घ विघटन होला-नहोला त्यो आफ्नो ठाउँमा भए पनि कराँतेमा देखिएको यो फोहोरी खेलले पुनः कराँतेको प्रतिष्ठामा भने प्रश्नचिह्न लगाइदिएको छ । तर्सथ वास्तविकता के हो – त्यसलाई आत्मसात् गरेर कराँते महासङ्घले अगाडि बढ्नु नै सबैका लागि कल्याणकारी हुनेछ ।