नेपालमा सबै प्रकारको अस्थिरताको अन्त्य : महासंघ

नेपालमा सबै प्रकारको अस्थिरताको अन्त्य : महासंघ


नेपाल उद्योग वाणिज्य महासंघले नेपालमा सबै प्रकारको अस्थिरताको विस्तारै अन्त्य हुँदै गएको, निजी क्षेत्रले धेरै समयदेखि माग गर्दै आएका ऐन कानुनहरू पास हुँदै गएको जनाएको छ ।  अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को नेपालका लागि देशीय निर्देशक डा. रिचार्ड हवार्डको नेतृत्वमा आएको आईएलओ प्रतिनिधिमण्डलसंगको भेटमा महासंघले सो जनाएको हो । । महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिङको अन्त्य र स्थानीय निकायको चुनावसमेत सम्पन्न भइसकेकाले अब लगानीको वातावरण बन्नेमा निजी क्षेत्र विश्वस्त रहेको बताए ।

रोजगारदाता र ट्रेड युनियनहरूको संयुक्त सहकार्य र सहमतिमा आएको श्रम ऐन, सामाजिक सुरक्षा ऐन महत्वपूर्ण रहेको भन्दै अब यसको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकभित्र आर्थिक विकास र रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर आएको दाबी समेत सो भेटमा बताएका छन् ।

महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा निकै धेरै क्षेत्रमा काम गरी रोजगारीका अवसर सिर्जना गर्न सकिने उदाहरण दिँदै नयाँ श्रमऐन र सामाजिक सुरक्षा ऐन औद्योगिक विकासको महत्वपूर्ण औजार हुने बताए। । उपाध्यक्ष ढकालले रोजगारदाता र ट्रेड युनियनबीचको सहकार्यमा आएको श्रम ऐन र सामाजिक सुरक्षा ऐन प्रभावकारी ढंगमा कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त रहेको बताए ।

महासंघको रोजगारदाता परिषद्का उपसभापति भरतराज आचार्यले नेपाल अब विस्तारै आर्थिक विकासको मार्गमा अगाडि बढ्ने विश्वास निजी क्षेत्रमा बढ्दै गएको बताए । आईएलओ र महासंघबीचको सहकार्य उत्कृष्ट रहेको बताउँदै उपसभापति आचार्यले आगामी दिनमा अझ बढी सहयोग एवं सहकार्यको खाँचो भएको बताए ।

आईएलओका देशिय निर्देशक डा. रिचार्डले नयाँ श्रम ऐन र सामाजिक सुरक्षा ऐन नेपालको आर्थिक विकास, रोजगारी सिर्जना एवः रोजगारदाता र ट्रेड युनियनबीचको सम्बन्ध अझ मजबुत बनाउन महत्वपूर्ण कडी हुने जनाए । उनले महासंघको रोजगारदाता परिषद्लाई अझ बढी सशक्त ढंगबाट अगाडि बढाउन र परिषद्मार्फत उद्यमशीलता विकास तथा आवश्यक प्राविधिक सहयोग गर्न आईएलओ तयार रहेको विश्वास दिलाए ।