कृष्णको उम्दा कर्म : नेपाली रंगमञ्च अध्ययनको एउटा आधार

कृष्णको उम्दा कर्म : नेपाली रंगमञ्च अध्ययनको एउटा आधार


■ मणि लोहनी

पचासको सुरुतिर हुनुपर्छ । सामान्य लघुकथा र कविता लेखेर हिँड्ने कृष्ण शाह यात्रीसँगको भेटमा उनको अनुहारमा निकै ठूलो सम्भावनाको आकाश देखेँ । नपत्याउँदो किसिमले उनीभित्र रंगमञ्चप्रतिको लगाव मात्र होइन, मैले रंगमञ्चलाई लिएर शाहमा गहिरो प्यासन देखेँ । उनको त्यही प्यासनमाथि विश्वास गर्दै ०५४ सालतिर यही साप्ताहिक (घटना र विचार)मा मैले लेखेको थिएँ, ‘कृष्ण शाह यात्री मेरो समयको एक उम्दा रंगकर्मी हुन् । यही किसिमको सक्रियता रहिरह्यो भने चाँडै नै नेपाली रंगमञ्चले शाहलाई सधैँ सम्मानका साथ लिइरहनेछ ।’ करिब बीस वर्षअघि मैले लेखेका यी शब्दहरू सत्य ठहरिए । शाहले तयार पारेको ‘नेपालको रंगमञ्च विगत र आगत’ पुस्तक हेरिसकेपछि म निकै हर्षित छु ।

नेपाली रंगमञ्चमा ‘कामहरू’ भएका छन्, तर ‘अध्ययनहरू’ भएका छैनन् । त्यसो त अध्ययन हुँदै नभएका पनि होइनन् । जति भएका छन् ती सीमित थिए । अहिलेसम्म नेपाली रंगमञ्चमाथि अध्ययन गर्नेहरूले काठमाडौंको गतिविधिलाई मात्र विषय बनाउँदै आइरहेका थिए । रंगमञ्चको क्षेत्र जति फराकिलो छ । अध्ययनकर्ता, समालोचक र अन्वेषकहरूको दृष्टिकोण त्यहाँसम्म पुग्न सकिरहेको थिएन । त्यसो त जसरी रंगमञ्चमा एकपछि अर्का मिहिनेती र जुझारु कलाकार–निर्देशकको उदय भइरहेको छ । त्यसैगरी समालोचना र अन्वेषणमा पनि एक–दुई युवा रंगकर्मी जुटिरहेका छन् । त्यही एक–दुईभित्र पर्छन् कृष्ण शाह यात्री । यिनले रंगमञ्चलाई काम र अध्ययनको रूपमा मात्र लिएनन् । यसैमा आफ्नो जीवन अर्पित गरे ।

अध्ययन र अनुसन्धानहरू पूर्ण हुँदैनन् । तर, मिहिनेत र इमानदारीका साथ गरिएका अध्ययन र अनुसन्धानले नयाँ विद्यार्थी र अनुसन्धानकर्तालाई मार्ग प्रसस्त गर्दछ । यस नाट्य पुस्तकमा नेपालको रंगमञ्चको इतिहासको बृहत् अभिलेखन भएको छ । यो पुस्तक सामान्य पाठकदेखि नाट्यकलामा चासो राख्ने अनुसन्धाता, अध्येताहरूका निम्ति पनि उपयोगी बनेको छ । यस पुस्तकले नेपाली रंगमञ्चको स्पष्ट र वैज्ञानिक तरिकाले कालक्रम विभाजन गर्नुका साथै कलेज र विश्वविद्यालयमा वर्षौंदेखि रहेको रंगमञ्च विषयको पाठ्यपुस्तकको अभावलाई समेत पूरा गरेको छ ।

पुराना कलाकार र निर्देशकका बारेमा समेत आवश्यक अनुसन्धान र अध्ययन नभएको बेला शाहले रंगमञ्चमा भएका पछिल्ला उपलब्धिलाई समेत पुस्तकमा समेटेका छन् । नयाँ पुस्ताका कलाकार र निर्देशकबारे परिचर्चा गरेका छन् । पछिल्ला समयका क्रियाशील नाटककारप्रति न्याय गरेका छन् । यो यस पुस्तकको सबैभन्दा ठूलो कुरा हो । इतिहासदेखि वर्तमानसम्म इमानदार भएर लेख्नु चानचुने कुरा होइन । अनुसन्धानकर्ताले तटस्थ भएर अनुसन्धान गरेका विषयलाई कुनै पनि आग्रह–पूर्वाग्रहबिना डकुमेन्टेसन गर्नु ठूलो कुरा हो । यही ठूलो कुरा शाहले यस पुस्तकमा गरेका छन् । ‘अहिलेका नयाँ पुस्ताका युवा नाटक निर्देशक, कलाकार र नाट्यसंस्थाको कामको अभिलेखीकरण कहिले हुने होला ?’ नाटकघरहरूमा नाटक हेर्दै र नाटक प्रदर्शन गर्दै हिँड्दा शाहलाई यही प्रश्नले चिमोटिरहन्थ्यो । यही प्रश्नबाट छुटकारा पाउन उनी लागे नेपालको रंगमञ्चको विगत र आगत विषयको साङ्गोपाङ्गो अध्ययन गरिएको पुस्तक लेख्न । उनको यो अध्ययन र अनुसन्धानलाई पुस्तकको रूप दिन साथ दियो नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानले । नाट्यकर्मी शाह उदयपुरबाट काठमाडौं आएताका अर्थात् ०५० मा महिनामा मुस्किलले १–२ वटा नाटक हुने राजधानीमा अहिले एकैसाथ नयाँ र पुराना पुस्ताका नाटकहरू मञ्चन भइरहेका छन् । नेपाली रंगमञ्चमा देखिएको यो ठूलो परिवर्तनलाई शाहले पुस्तकमा सगर्व समेटेका छन् ।

त्यसो त यो पुस्तक एक–दुई वर्षको मिहिनेतले मात्र सम्भव भएको होइन । विगत दुई दशकभन्दा लामो समयदेखि कृष्ण शाह यात्री निरन्तर रंगमञ्चसम्बन्धी शोध र अनुसन्धानमा व्यस्त थिए । यस अवधिमा उनले करिब ४० जिल्लामा गएर स्थलगत अध्ययन गरे । पूर्वमा इलामदेखि सुदूरपश्चिममा डोटी र कर्णालीको हुम्लालगायत देशका २५ जिल्लामा रंगमञ्चको स्थिति कस्तो रहेको छ भन्नेबारे उनले खुलासा गरेका छन् । यस पुस्तकमा समेटिएको जिल्लाका रंगमञ्चीय गतिविधिले स्थलगत अध्ययनलाई पुष्टि गर्छ । भोजपुर, सुनसरी, सुर्खेत, मकवानपुर, धनुषा, कास्की, नुवाकोट, पर्वतलगायतका जिल्लाका प्रतिनिधिमूलक नाट्य गतिविधिले नेपालको रंगमञ्चको क्षेत्र निकै फराकिलो रहेको प्रस्ट पारेको छ । यसैगरी पुस्तकमा नेपाली भाषाका साथै मैथिली, नेवारी, थारूलगायतका भाषाको नेपालको नाट्यकलाको समेत विस्तृत रूपमा चर्चा र विश्लेषण गरिएको छ ।

सात खण्डमा विभाजित यस पुस्तकमा रंगमञ्चको सैद्धान्तिक स्वरूप, नेपाली रंगमञ्चको प्रारम्भिक अवस्था, आधुनिक कालयात्रा, मोफसलको नेपाली रंगमञ्चको स्थिति, नेपाली रंगमञ्चका प्रतिनिधि नाटक निर्देशक र कलाकारहरूको नाट्यकर्मको छुट्टाछुट्टै व्याख्या र विश्लेषण गरिएको छ ।

शाह उत्कृष्ट नाटककार, निर्देशक र कलाकारसमेत हुन् । नेपालमा सर्वप्रथम सङ्केत नाटकको अवधारणा विकसित गर्दै त्यसलाई विश्वसामु प्रयोगमा ल्याउने एक प्रयोगवादी रंगकर्मीको पहिचानसमेत उनले बनाएका छन् । यो पुस्तकलाई उनको रंगमञ्चप्रतिको निरन्तर लगाव, सक्रियता, नवीन सोच र साधनाको प्रतिफल मान्न सकिन्छ । लिच्छविकालीन, मल्लकालीन हुँदै आधुनिक नेपालको रंगमञ्च परम्परा, विकास र प्रयोगबारे विस्तृत, गहन र पूर्ण रूपमा कुनै कृति बनेको छ भने अहिलेसम्मलाई चाहिँ शायद यही पुस्तक हो भनेर दाबी गर्न सकिने थुप्रै आधार नेपाली रंगमञ्च विगत र आगतले बहन गरेको छ ।

त्यसो त पछिल्लो समय, नेपाली नाटक लेखन र निर्देशन क्षेत्रमा शाह सक्रिय छन् । विनीत स्वभावका शाह नेपाली नाट्य क्षेत्रका अग्रज पुस्ताहरूका पदचिह्न पछ्याउँदै नेपाली रंगमञ्चलाई समृद्ध बनाउन दत्तचित्त छन् । नाटकलेखन र निर्देशनबाट माथि उठेर उनी नेपाली नाटकको इतिहासदेखि सैद्धान्तिक पक्षहरूलाई केलाउन पनि उत्तिकै क्रियाशील रहे । उनको त्यही क्रियाशीलताकै उपलब्धि हो– नेपालको रंगमञ्च, विगत र आगत ।

पछिल्लो समय प्रयोगका रूपमा रंगमञ्चमा साहित्यका अरू विधाहरू कथा, कविता, निबन्ध, लघुकथाको मञ्चनबारे पनि शाहले पुस्तकमा लेखेका छन् । साथै सडक नाटक, गीति नाटक, कचहरी, सङ्केत नाटकबारे पनि उनले पुस्तकमा समेटेका छन् ।

नेपाली रंगमञ्चलाई समृद्ध, फराकिलो र जीवन्त बनाउने निर्देशकहरूका सङ्क्षिप्त चिनारी पनि उनले पुस्तकमा राखेका छन् । बालकृष्ण समदेखि पछिल्लो पुस्ताका घिमिरे युवराजसम्मको नाट्य यात्राबारे उल्लेख गरेका छन् । यसैगरी, नेपाली रंगमञ्चमा समर्पित कलाकारहरू रत्नदास प्रकाशदेखि पछिल्लो पुस्ताका दयाहाङ राई र महिला कलाकारतर्फ बुद्धिदेवी महर्जनदेखि सरस्वती चौधरीसम्मका सङ्क्षिप्त नाट्य यात्राबारे पुस्तकमा उल्लेख गरिएको छ ।

पाँच सय बीस पृष्ठको यो पुस्तक नेपाली रंगमञ्चका विषयमा पूर्णचाहिँ छैन । पुस्तक पल्टाउँदै जाँदा रंगमञ्चका नसमेटिएका धेरै प्रसङ्गहरू भेटिन्छन् । रंगमञ्चको विकास र उत्थानका लागि दूरदराजमा बसेर साधनारत केही कलाकार र निर्देशक छुटेका पनि छन् । प्राचीनकालदेखि नै विभिन्न जातजातिमा परम्परागत रूपमा हुँदै आएका नाटकबारे पुस्तक मौन छ । गुरुङ, मगर, राई, लिम्बूका नाट्यकर्म समेटिन सकेको छैन । र पनि नेपाली रंगमञ्चबारे अध्ययन गर्न एउटा ठूलो आधार यस पुस्तकले तयार पारेको छ । केही पनि नहुनुभन्दा केही त भयो– हो, यो पुस्तकको सौन्दर्य पनि यही हो ।
[email protected]