सिमेन्टको आयात सय प्रतिशत नाघ्यो

सिमेन्टको आयात सय प्रतिशत नाघ्यो


नेपालमा सिमेन्टको आयातलाई विस्तापित गर्दै स्वदेशी सिमेन्टमै आत्मनिर्भर गराउने  व्यवसायीहरुको योजना असफल भएको छ ।  आर्थिक बर्ष २०७३/७४ मा १ दर्जन बस्तुहरुको आयात १ सय प्रतिशतभन्दा बृद्धिभएसंगै सिमेन्टको आयात १ सय प्रतिशतले बृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्याङक अनुसार सिमेन्ट, एमएस बिलेट, बिटुमिटलगायतका बस्तुहरुको आयात शतप्रतिशतभन्दा बढीले बृद्धि भएको छ । नेपाली व्यवसायीहरुले नेपाल पछिल्लो समय सिमेन्टमा आत्मनिर्भर बन्दै गएको बताएपनि सोको तुलनामा आयात उच्च रुपमा बढेको तथ्याङकले देखाउँछ । गत आबमा सिमेन्टको आयात १ सय ५ प्रतिशतले बढ्दै २४ अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ ।

यसैगरी सोही अबधिमा एमएस बिलेट पनि १ सय ५ प्रतिशतले बढ्दै ४६ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ । जुन गत आबमा १४ प्रतिशतले घट्दै २२ अर्ब ६५ करोड रुपैयाँको मात्र आयात भएको थियो । गत आबमा मोलासिस सुगर, एयरक्राफ्ट स्पेयरपार्टस, खाद्य तेललगायतका बस्तुको आयात १ सय प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।

यस्तै अघिल्लो आबमा ४० प्रतिशतले घटेको पेट्रोलियम पदार्थ गत आबमा ८१ प्रतिशते बढ्दै १ खर्ब १८ अर्ब रुपैयाँको आयात भएको छ । तर, सो अबधिमा चामल आयातको बृद्धिदर भने घटेको छ । अघिल्लो आबमा ४० प्रतिशतले बढेको चालमको आयात गत अबमा आइपुग्दा बृद्धिदर घट्दै ७ प्रतिशतमा सिमित भएको छ । सो आबमा कुल २३ अर्ब ६० करोडको चामल आयात भएको छ ।

यसैगरी सुन आयातको बृद्धिदर पनि ओरालो लागेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ । आब २०७२/७३ मा सुन आयात १ सय ५१ प्रतिशतले बढेकोमा गत आबमा आइपुग्दा बृद्धिदर घट्दै ७० प्रतिशतमा सिमिति भएको छ । गत आबमा कुल २७ अर्ब ४३ लाख रुपैयाँको सुन आयात भएको छ ।