लक्षित राजस्व संकलन गर्न सरकारले लियो कठोर नीति

लक्षित राजस्व संकलन गर्न सरकारले लियो कठोर नीति


लक्षित राजस्व संकलन गर्न सरकारलाई कठिनाई भएपछि यसै आर्थिक वर्षदेखि राजस्व संकलनमा थप कडाई गर्ने भएको छ । चालु आवको लागि ७ खर्ब ३० अर्ब रुपैयाँको राजस्व असुली लक्ष्य रहेकोमा सो लक्ष्य पुरा गर्न राजस्व नीतिमा कडाई गर्ने भएको हो । लक्ष्य अनुसार चालु आवमा राजस्व संकलनको लागि सरकारले बिभिन्न सुधार गरिरहेको र राजस्व चुहावटमा निर्मम भएर लाग्ने नीति लिएको समेत राजस्व सचिव शिशिरकुमार ढुंगानाले बताएका छन् । उनले व्यवस्थापिका संसदको लेखा समितिमा भएको छलफलमा राजस्व नीतिमा अब कडाई गर्नुको विकल्प नभएको बताएका हुन ।

सरकारले हाल भन्सारमा आयातित बस्तुको मूल्यांकन गर्दा व्यवसायीको स्वघोषणा र सरकारी स्तरमा तयार भएको सन्दर्भ मूल्य पुस्तिकालाई आधार लिइदै आएको छ । तर यो व्यवस्थाले पनि बस्तुको मूल्यांकनमा अधिमुल्यन देखि अवमूल्यन हुने भएकाले नीतिमा कडाई गरेर अगाडि बढ्ने सरकारको योजना रहेको उनले बताए ।

सो राजस्व संकलनमा गरिने सुधार सरकारले ३ लाख ५० हजार बस्तुको बजार (उपभोक्ता) मूल्य संकलन गरेर सुरु गरेको राजस्व सचिब ढुंगानाले बताए । सरकारले संकलन गर्ने प्रतिबस्तु मूल्यको ४० देखि ६० प्रतिशतको दरमा सो बस्तुको आयात गर्दाको मूल्य तय गर्नेछ र भन्सार दर लगाइने उनले जनाए । सरकारले भारतबाहेक अन्य तेस्रो मुलुकबाट हुने आयातको लागि भुक्तानी बैंकिङ प्रणाली मार्फतमात्र गर्नुपर्ने व्यवस्था लागु गर्न लगाउने छ ।

आयात गर्दा बैंकिङ उपकरणहरु एलसी, टिटी र ड्राफ्टबाट मात्र गरिने व्यवस्था गरेको छ । राजस्व सचिब ढुंगानाका अनुसार अझै पनि चीनबाट हुने आयातमा समस्या रहेको जनाएका छन् । उनले चीनबाट अनौपचारिक माध्यमबाट पनि आयात हुने गरेको पाइएकोले यसमा केही समसया देखिएको हो । नेपालको कुल आयातमा चीनबाट हुने औपचारिक आयात मात्रै १८ प्रतिशतको हाराहारीमा रहदै आएको पाइन्छ ।

भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स र जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने व्यवस्था सरकारले सुरु गरेको छ । नेपाल र भारतबीच इलेक्ट्रोनिक डाटा एक्सचेन्ज अर्थात विद्युतीय तथ्यांकको आदान प्रदान गर्ने गरी सम्झौता हुने भएको हो ।

नेपालको भन्सार बिभाग र राजस्व बिभागबीच पनि तथ्यांक अनुगमनको लागि इन्टरफेस (दुई वा दुईभन्दा बढि प्रणाली एकीकृत गर्ने) तयार भइरहेको समेत राजस्व सचिब ढुंगानाको भनाई रहेको छ । व्यापारीहरुले सामान आयात गरेदेखि बिक्री गर्दासम्मको लगत राख्न सरकारले साउनबाट व्यापारीहरुलाई अनिवार्य रुपमा एक्जिम कोड लिनुपर्ने व्यवस्था गरेको छ ।