बुटवल औद्योगिक क्षेत्रको व्यवस्थापनले मनपरी गरेपछि…

बुटवल औद्योगिक क्षेत्रको व्यवस्थापनले मनपरी गरेपछि…


बुटवल औद्योगिक क्षेत्रका उद्योगीहरुले ब्यवस्थापन पक्षले मनपरी गर्न थालेको गुनासो गरेका छन् । औद्योगिक क्षेत्रको विकासका लागि नभई अस्तब्यस्त बनाउने खालका गतिविधि गर्न लागेको उनीहरूको आरोप छ ।

पटक–पटक नाली बनाउन माग गर्दा ब्यवस्थापन कार्यालयले बेवास्ताले हालैको वर्षाबाट झण्डै करोडको क्षति ब्यहोर्नुपरेको भन्दै उनीहरूले क्षतिको विवरण लिने कामसम्म नभएको दुःखेसो गरे ।

औद्योगिक क्षेत्र ब्यवस्थित तुल्याउन धेरै काम गर्न सकिन्छ तर कुनै पनि योजनाबारे उद्योगीसँग समन्वय गरिँदैन भन्दै हालै आयोजित पत्रकार सम्मेलनमा उनीहरूले भने– ‘शान्ति सुरक्षालगायतका अनेक समस्या छन् तर समस्या हल गर्न भन्दा उल्टै गेटैबाहिर कर्मचारीका आफन्तलाई भट्टी पसल सञ्चालन गर्न लगाइन्छ, यसले विकृति मौलाएको छ ।’

बुटवल औद्योगिक क्षेत्र उद्योग संघले हालका कार्यालय प्रमुखबाट उद्योगीका हित र औद्योगिक क्षेत्रको विकासमा काम हुन नसकेको बतायो । संघका अध्यक्ष रामबहादुर गुरुङले ब्यवस्थापन पक्षले बैंक, मेडिकल सेन्टर, स्वस्थ चमेना गृहको स्थापनामा ध्यान नदिएको आरोप लगाए भने पूर्वअध्यक्ष रतनलाल अग्रवालले समस्या राख्दा कार्यालय प्रमुखले ध्यान नदिने गर्दा समस्या बढेको तर्क गरे ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष गणेश अधिकारीले ब्यवस्थापन पक्ष र उद्योगीवीच नङ र मासुको जस्तै सम्वन्ध रहेको भए पनि पछिल्ला दिनमा उद्योगीहरूसँग समन्वय नगरी काम गर्ने प्रवृत्ति बढेको भन्दै सुधारको खाँचो औंल्याए । अर्का पूर्वअध्यक्ष एजाज आलमले पनि यस्तै गुनासो गरे ।

उद्योगी उपेन्द्र अग्रवालले औद्योगिक क्षेत्रको विकास हुने गरी बजेटको छलफल गर्ने र त्यही किसिमको माग गर्नुपर्ने अडान उद्योगीहरूको रहँदै आएको उल्लेख गरे । उनले ढलको उचित निकास नहुँदा केही दिन अगाडीको बर्षाका कारण २५ वटा उद्योगीहरुले झण्डै एक करोडको क्षती ब्याहोर्नु परेको बताए ।

औद्योगिक क्षेत्रभित्र सर्भिस एरिया ब्यवस्थापन, ढल निकास, विद्युतको नियमित आपूर्ति, सुरक्षाको प्रबन्ध, पानीको उचित ब्यवस्थापनदेखि धेरै समस्या रहेको व्यवसायी बताउँछन् । जग्गा अभावमा उद्योगीहरूले समस्या भोग्दै आएको भन्दै समस्या समाधानमा ध्यान जानुपर्ने उनीहरूको सुझाव छ ।

उता बुटवल औद्योगिक क्षेत्र ब्यवस्थापन कार्यालयका प्रमुख तुलबहादुर रानाले चाहिँ उद्योगीले लगाएको आरोपमा सत्यता नभएको दाबी गरेका छन् । उनले गेट बाहिरसञ्चालनमा रहेका भट्टी पसलका सन्दर्भमा ती पसलहरू आफूले सञ्चालनमा नलगाएको भन्दै ती हटाउन आफ्नो तर्फबाट पहल थालेको जानकारी दिए । कार्यालय प्रमुख रानाका अनुसार उद्योगीहरुले औद्योगीक क्षेत्रभित्र सडक क्षेत्रमा समेत अब्यवस्थित रुपमा कच्चा पदार्थ तथा तयारी सामान राखेको पाएपछि ती सामान हटाउन खोज्दा अनावश्यक आरोप लगाएर विरोधमा उत्रिएको दाबी गरे ।

– चन्द्रकान्त खनाल