हरेक नेपालीको टाउकोमा २४ हजार ऋण

हरेक नेपालीको टाउकोमा २४ हजार ऋण


प्रत्येक नेपालीको टाउकोमा २४ हजार ऋण पुगेको छ । एक वर्षमा नेपालीको प्रतिव्यक्ति ऋण ३ हजारले बढेसंगै सो ऋणको भार थपिएको हो । राष्ट्र बैंकको गत आव २०७३/७४ को प्रतिवेदन अनुसार गत असारसम्ममा सरकारले तिर्न बाँकी ऋण ६ खर्ब ९७ अर्ब ३७ करोड रहेको छ ।

केन्द्रिय तथ्यांक बिभागको प्रक्षेपण अनुसार यस वर्ष सन २०१७ मा जनसंख्या लगभग २ करोड ८८ लाख रहेको छ । यसआधारमा हेर्दा प्रति नेपालीको टाउकोमा २४ हजार १ सय ४७ रुपैयाँ ऋण रहेको देखाएको छ । गत वर्ष सन २०१६ भने नेपालको कुल जनसंख्या २ करोड ८४ लाख रहेको थियो भने सरकारले अघिल्लो आव २०७२/७३ मा तिर्न बाँकी ऋण ६ खर्ब १५ अर्ब रहेको थियो । यस आधारमा प्रति नेपालीको भागमा २१ हजार ६ सय ३३ रुपैयाँ ऋण पर्न आएको थियो ।

सरकारले यसरी तिर्न बाँकी ऋणमा नेपालीहरुलाई २ खर्ब ८३ अर्ब तिर्न बाँकी रहेको हो । अघिल्लो आवमा सरकारले नेपालीहरुबाट उठाएको २ खर्ब ३४ अर्ब ऋण तिर्न बाँकी थियो । चालु आव २०७४÷७५ मा भने सरकारले नेपालीबाट १ खर्ब ४५ अर्ब रुपैयाँ उठाउने तालिका सार्वजनिक गरेको छ । सरकारले विदेशी मुलुकहरुबाट लिएको ४ खर्ब १३ अर्ब ऋण तिर्न बाँकी रहेको छ । गत आवमा भने ३ खर्ब ८१ अर्ब बाह्य ऋण तिर्न बाँकी थियो ।

एक वर्षमा नेपाल सरकारले तिर्न बाँकी रहेको आन्तरिक र बाह्य ऋणमा ८१ अर्बले वृद्धि भएको हो । कुल गार्हस्थ उत्पादन (जीडिपी) को आधारमा यो दर घटेको छ । गत आवमा कुल गार्हस्थ उत्पादनको लगभग २७ दशमलव ७ प्रतिशत बराबर यस्तो ऋण रहेको थियो भने चालु आवमा यो दर २६ दशमलव ८ प्रतिशतमा सिमित भएको छ । जीडिपीको तुलनामा बाह्य ऋण घटेपनि आन्तरिक ऋण भने केही बढेको छ ।