भूपूपाइलट ‘जर्साब’ले चर्तीकला देखाएपछि…

भूपूपाइलट ‘जर्साब’ले चर्तीकला देखाएपछि…


हवाई विभागअन्तर्गत फ्लाइट सेफ्टीमा एकजना वरिष्ठ पाइलट ‘जर्साब’ करारमा कार्यरत हुनुहुन्छ, हेलिकोप्टरतर्फ हेर्ने गरी । उहाँ पहिला नेपाली सेनाका पाइलट हुनुहुन्थ्यो, बाहिनीपतिसम्म भएर रिटायर्ड भएका । भनिन्छ, उहाँको पालामा नेपाली सेनामा सबैभन्दा धेरै जहाज किनिएको थियो, माओवादी जनयुद्धताका । ठूलै धनराशि उहाँको हातमा परेको चर्चा अहिले पनि चलिरहन्छ । काठमाडौंलगायत नेपालभरि प्रशस्त जग्गा–जमिन जोड्नुभएका उहाँ विभिन्न एयरलाइन्समा सेयरहोल्डर पनि हुनुहुन्छ । सेनाबाट रिटायर्ड भएपछि उहाँ सिम्रिक एयरमा काम गर्न जानुभयो । त्यहाँका मालिकसँग खटपट भएपछि श्री एयरमा काम गर्नुहुन्थ्यो । त्यहाँ पनि कम्पनीका मालिकसँग उहाँको राम्रो सम्बन्ध बन्न सकेन । कारण एउटै थियो– मालिकले धेरै कमाउने, तर आफ्नो हातमा तोकिएको तलब मात्र हात पर्ने । अहिले उनी देखाउनका लागि फ्लाइट सेफ्टीमा कार्यरत हुनुहुन्छ उहाँ वरिष्ठ कन्सल्यान्टको रूपमा । तर, उहाँ एउटा प्राइभेट हेलिकोप्टर कम्पनीका मालिक हुनुहुन्छ । यसरी एकै प्रकृतिको सरकारी निकायमा रहेर सँगसँगै यसैसम्बन्धी व्यापार गर्न पाइन्छ कि पाइँदैन ? गम्भीर प्रश्न खडा भएको छ ।

आफ्नो एयरलाइन्सको काम आँखा चिम्लेर गर्ने ‘जर्नेल पाइलट’ले एयरलाइन्सका आफूलाई मन नपर्ने पाइलटहरूलाई साह्रै दुःख दिने गर्नुभएको छ । बिनापैसाको काममा हातै नहाल्ने उहाँले कुन पाइलटलाई कुन एयरलाइन्समा फिक्स गर्ने भन्ने जिम्मा पनि लिनुभएको छ । हालै मात्र उहाँकै दबाबमा परी प्रभु हेलिकोप्टरले नेपालगञ्जतिरका काम छोडेर बसेका पाइलट राखेका कारण उक्त एयरलाइन्स बन्द गर्नुपर्ने अवस्थामा पुगेको थियो । एयरलाइन्सहरूको सेफ्टी अडिटमा पनि उहाँको ठूलै चलखेल रहने गरेको छ । भनिन्छ उहाँको हितमा काम नगर्ने एयरलाइन्सलाई टिक्न मुस्किल पर्छ ! एउटै व्यक्ति यसरी अनधिकृत तवरले हाबी हुने भएपछि कसरी हुन्छ नेपालको हवाई क्षेत्रको विकास ? यसर्थ, उहाँजस्ता ‘महाशय’लाई हाम्रो सुझाव छ– या त निष्पक्ष भएर काम गर्नुस् कि चाहिँ आफ्नै एयरलाइन्समा गएर एकचित्तले काम गर्नुस् । यसरी बीचमा बसेर ल्याङ–ल्याङ गरी अरूलाई किन दुःख दिने ? शत्रु किन कमाउने ? सम्बन्धित निकायको पनि यस विषयमा समयमै ध्यान जाओस् ।

– सम्बन्धित सबै कर्मचारी तथा विमानचालकहरू