पैसा नतिर्नेको लाइन काट्नु : उर्जामन्त्री

पैसा नतिर्नेको लाइन काट्नु : उर्जामन्त्री


ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले लामो समय सम्म विद्युत महसुल नतिर्नेको लाइन काट्न नेपाल विद्युत प्राधिकरणलाई कडा निर्देशन दिएका छन् । उनले लामो समयदेखि बाँकी रहेको महसुलको बक्यौता उठाउन र महसुल नबुझाउनेमाथी कारबाही गर्न समेत प्राधिकरणलाई निर्देशन दिएका छन् ।

विद्युत् महसुलको बक्यौता उठाउन बाँकी रहँदा प्राधिकरणलाई ठूलो आर्थिक भार परेको भन्दै तत्काल बक्यौता असुल उपर गर्न र तिर्न अटेर गर्नेको लाइन काट्नसमेत मन्त्री शाहीले निर्देशन दिएको छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत उच्च पदस्थ कर्मचारीलाई ऊर्जा मन्त्रालयमा बोलाएर महसुल नतिर्नेलाई छुट नदिन निर्देशन दिए ।

आर्थिक भार कम गर्न र बक्यौता नतिर्ने प्रवृत्तिको अन्त्य गर्न कडा कदम चाल्नु जरुरी रहेको भन्दै उनले कुनै पनि बहानामा संस्थालाई घाटामा पार्ने काम कोही कसैबाट पनि गर्न नहुने बताए । ऊर्जामन्त्री शाहीले निश्चित समयसीमा तोकेर सूचना जारी गर्न र तोकिएको समयसीमाभित्र बक्यौता रकम नबुझाउने, रकम बुझाउन आनाकानी गर्नेलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउनसमेत कार्यकारी निर्देशक घिसिङलाई निर्देशन दिएका छन् ।

मुलुकभर २ अर्ब रुपैयाँभन्दाबढीको बक्यौता रहेको प्राधिकरणले जनाएको छ । लामो समयदेखिको बक्यौता नतिर्नेमा सरकारी निकाय अग्रपङ्क्तिमा छ भने नेताको आडमा विद्युत महसुल नतिर्ने केही व्यक्ति र उद्योगहरु समेत रहेका छन् ।

केही औद्योगिक तथा घरायसी ग्राहकले समेत महसुल तिरेका छैनन् । प्राधिकरणले महसुल नतिरेका केही ग्राहकलाई कालोसूचीमा राखेर कारबाही प्रक्रिया अगाडि बढाएको समेत कार्यकारी निर्देशक घिसिङले बताएका छन् । कतिपय स्थानमा त्यसो गर्दासमेत महसुल उठ्न नसकिएको समेत उनले बताए ।

प्राधिकरणले भने बक्यौता असुल उपर गर्ने कार्य नियमित प्रक्रिया नै भए पनि अटेर गरेर बसेका केही ग्राहकलाई थप समय दिएर उठाउने योजना बनाएको छ । कार्यकारी निर्देशक घिसिङले महसुल उठाउने र चुहावट नियन्त्रण गर्ने कार्यलाई अभियान र निरन्तरताको कार्यका रुपमा अगाडि बढाउने योजना रहेको र सो मौका दिदा पनि महसुल नबुझाए ऐन अनुसार कारबाही गर्ने चेताबनी समेत दिए ।