निद्रा रहस्य : स्वास्थ्य र आत्म-रुपान्तरणको कुंजी

निद्रा रहस्य : स्वास्थ्य र आत्म-रुपान्तरणको कुंजी


सन् १९८९ मार्च २४ का दिन एक अमेरिकी सामुद्रिक इन्धनबाहक पोत एक्जेन भाल्डेज १२ लाख ब्यारेल कच्चा तेल लिएर आलस्काको भाल्डेजको ब्ली रिफमा रोकियो । त्यसका तीन जनामध्ये एक चालकको गल्तीले गर्दा सो पोतका ८ वटा ट्याङ्कबाट साढे २ लाख ब्यारेल तेल चुहियो जसले गर्दा त्यो दुर्घटना विश्वकै अपुरणीय वातावरणीय क्षतिमा परिणत भयो । छानबिनको क्रममा सुरक्षाबोर्डले के निष्कर्ष निकाल्यो भने जुन तेस्रो चालकले पोतको सञ्चालनको जिम्मा लिएका थिए उनी अघिल्लो रात मात्र ४ घण्टा र दिउँसो एक घण्टा मात्र सुतेका थिए । कामको प्रकृति संवेदनशील तथा भौतिक रूपले पनि तनावयुक्त थियो । राष्ट्रिय परिवहन सुरक्षाबोर्डले दिएको प्रतिवेदनमा सो दुर्घटना निद्राको कमी र अतिशय थकानका कारणले अमेरिकाको सबैभन्दा दोस्रो ठूलो वातावरणीय क्षति निम्त्याउने दुर्घटना भएको उल्लेख छ । यो घटना एक अलग घटना होइन यस्ता प्रकृतिका घटनाहरू हरेक दिन घटिरहेका छन् ।

पृथ्वीका प्राणीहरूको सबैभन्दा प्रिय वस्तु निद्रा नै हो । निद्रा हाम्रो आधारभूत आवश्यकता हो । मानिसको निद्रा एक जटिल र रहस्यमय विषय हो । हजारौँ वर्षदेखि मानवले यसको रहस्यलाई बुझ्न विशेष रुपले प्रयास गरेको छ । हाम्रो जीवनको रहस्य बुझ्ने, उत्प्रेरणा प्राप्त गर्ने तथा भविष्यलाई जान्ने साधनका रुपमा पनि निद्राको विशेष अवस्थाहरू सृजन गरी प्रयोग भएको पाइन्छ । निद्रामा हामी पूर्ण रुपले बाहिरी जगतबाट मुक्त हाम्रो भित्री अचेतनको जगतसँग जोडिन्छौँ । सबै प्राणीमा निद्रा रुपमा स्थित सृजनकी प्रतीक देवीको रुपमा हिन्दुहरूले निद्राको महिमा गाएका छन् ।

पुरानो अंग्रेजी भाषाको मुल शब्द स्लापेनबाट स्लिप शब्द आएको हो जसको अर्थ हो अकृया अथवा सुप्त अवस्थामा पुगेको स्थिति । ल्याटिनमा निद्राको लागि सोमन्स भन्ने शब्द छ जुन संस्कृतको सोम भन्ने शब्दसँग मिल्दोजुल्दो छ । सोम भनेको चन्द्रमा हो जुन रातको प्रतीक पनि हो । ग्रीकमा हिप्नोस् भन्ने शब्दले पनि निद्रालाई जनाउँछ यसको अर्थ सम्मोहित हुनु हो । त्यसैले पूर्वीय आध्यात्मिक संस्कृतिहरूमा निद्रालाई प्रकृतिको गहन सम्मोहनको रुपमा अथ्र्याइएको पाइन्छ । त्यस्तै जुन मानिस कुनै वस्तु, व्यक्ति, विचार या वासनाद्वारा सम्मोहित हुन्छ त्यसलाई बेहोसी र निद्राको स्थितिको रुपमा लिइएको छ । यसरी सम्मोहित व्यक्तिको चेतना वास्तवमा सुतेकै स्थितिमा हुन्छ । उसले सबै काम निद्रामै गर्छ । त्यसैले सम्बोधि प्राप्त व्यक्तिलाई हामी जागृत व्यक्ति भन्छौँ । चेतनाको परम जागरणको अवस्था प्राप्त गरेका उनीहरूलाई जगतको सम्मोहनले छुन सक्दैन । जगतको बहुआयामिक सम्मोहनका तहहरूबाट स्वतन्त्र भई हल्का, निर्भार, निर्मल स्थिर चित्त भएको अवस्थालाई हामीले मुक्ति भनेका छौँ ।

निद्रा र ध्यान एकै सिक्का दुई भागहरू हुन् । ध्यान वास्तवमा जागरण र निद्राको मिश्रित अवस्था हो । बाहिरी जगतका सबै विषयहरूबाट निद्राले हामीलाई अलग गर्छ भने हर समय अनेक विषयहरूले भरिएका वृत्तिहरू माझ जागृत भएर तिनीहरूलाई हेर्ने ध्यानले हामीलाई स्थिरता दिन्छ । पूर्ण विश्रामको स्थितिमा पनि हामीले भित्री जागरणलाई गुमाएनौँ भने त्यो विश्रान्ति योग निद्रा हुन्छ । यस्तो निद्रा चेतनाको त्यो स्थिति हो जो समाधिमा रुपान्तरित हुन सक्छ । निद्राले हामीलाई सहजै आफ्नो केन्द्रको नजीक पुर्‍याउँछ । ध्यानमा जागृत भएर आफ्नै केन्द्रमा पुग्न निष्ठापूर्ण साधना चाहिन्छ भने निद्रामा सहजै यो अवस्थामा हामीलाई पुर्‍याइदिन्छ । ध्यानमा भित्री चालक जागृत हुन्छ भने निद्रामा चालक मनको पर्दामा देखिएका दृश्यको तादात्यमा लीन हुन्छ । निरन्तर साधनाका माध्यमबाट कुनै साधकको वासना तथा कर्म बन्धन क्षीण हुँदै गए भने उसको निद्रा योग निद्रामा परिणत हुन्छ ।

अब विज्ञानको कुरा । सृष्टिको पहिलो घटना विगवेङ्गको महाविष्फोटपछि आजभन्दा साढे १३ अर्ब वर्षअघि परमात्माको प्रारम्भिक प्रयोगशालामा आकार र वस्तुरहित रहस्यमय उर्जा स्पन्दित भयो । यसबाट परमाणु तथा अणुहरूको उषाकाल प्रारम्भ भयो । प्रक्रिया जटिल हुँदै सृष्टिको अनन्त श्रृंखला चल्दै जाँदा रसायनिक परिदृश्यमा सरल कोषीय जीवन प्रादुर्भाव भए रे ! यो कुरा करिब साढे ३ अर्बअघिको हो । त्यसपछि यो विश्व–विद्यालयका अनेक विभागहरू पास गर्दै आज हामी यहाँ आइपुगेका छौँ ।

उर्जाको महाविस्फोटबाट शुरु भएको यो ब्रह्माण्डीय दिव्य अनुष्ठानको पहिलो अवस्था शुन्य हो । यसबाट प्रादुर्भाव भएकोले यही प्रारम्भिक शून्य नीरव स्थितिमा पुग्नु नै सबै साधनाको लक्ष्य हो । वास्तवमा साधनामा सबै आकार र वस्तुहरूको द्वैत जगतलाई पार गर्दै पूर्ण जागृतिको निर्विकल अवस्थालाई समाधि भनिएको छ । यो उद्गमसम्म पुग्न प्रकृतिको सुक्ष्म सम्मोहन र निद्राको लोकलाई पार गर्नुपर्छ । त्यसैले साधना एक सचेतन जागरणको प्रयास हो ।

भनिन्छ– निद्राले सधै जित्छ र सबैलाई बराबर पार्छ । निद्रा र मृत्यु सबैभन्दा ठूला साम्यवादीहरू हुन् । यिनीहरूले कसैलाई भेदभाव गर्दैनन् । तर आज मनुष्य यति सकृय छ कि उसले प्रकृतिप्रदत्त गहन आरामको स्रोत निद्रालाई गुमाउँदै गएको छ । पृथ्वीका एक तिहाई मनुष्यलाई गहिरो निद्रा आज आकाशको फल झैँ असम्भव भएको छ ।

आधुनिक मनुष्यको स्थिति जटिल भएको छ । भनिन्छ– निद्राले सधै जित्छ र सबैलाई बराबर पार्छ । निद्रा र मृत्यु सबैभन्दा ठूला साम्यवादीहरू हुन् । यिनीहरूले कसैलाई भेदभाव गर्दैनन् । तर आज मनुष्य यति सकृय छ कि उसले प्रकृतिप्रदत्त गहन आरामको स्रोत निद्रालाई गुमाउँदै गएको छ । पृथ्वीका एक तिहाई मनुष्यलाई गहिरो निद्रा आज आकाशको फल झैँ असम्भव भएको छ । पोषणयूक्त भोजन, नियमित व्यायाम र सम्यक निद्रा स्वास्थ्यको लागि आवश्यक कुरा हुन् । यसमा पनि निद्रा एक सुक्ष्मतर अनुभव भएकोले यसको महत्व अझ गहन छ । निद्राको उद्गम हाम्रो मस्तिष्कबाट शुरु हुने भएकाले निद्राले शरीरका प्रत्येक तन्तु र अंगलाई असर गर्छ । निद्राको बेला मस्तिष्कले जुन अवस्था प्राप्त गर्छ शरीरका समग्र भागको अवस्था पनि त्यही हुन्छ । यदि मस्तिष्क निदाउन सकेन भने उसको पुरा अस्तित्व अस्तव्यस्त हुन्छ ।

हाम्रो शरीरमा उत्पन्न भएको भित्री फोहर मैलोलाई संग्रहीत गर्ने र स्रावका माध्यमबाट शरीरबाट उत्सर्जन गर्ने एक प्रतिरक्षा प्रणाली हुन्छ जसलाई लिम्फाटिक सिस्टम भनिन्छ । तर यो प्रणाली हाम्रो मस्तिष्कसम्म पुग्दैन । सन् २०१५ सम्म यो धारणा थियो कि मस्तिष्कालाई सफा गर्ने सयन्त्र हाम्रो शरीरमा छैन । तर दुई वर्षअघि एक अद्भूत तथ्य पत्ता लाग्यो जसले मस्तिष्क तन्त्रिका अध्ययन गर्ने सबैको विश्वव्यापी रुपमै ध्यान खिच्यो । हाम्रो मस्तिष्कामा यसका सुक्ष्म तन्तुहरूलाई सफाई गर्ने प्रणाली पनि रहेछ जसले त्यहाँ जम्मा हुने फोहर तथा अपव्ययलाई रगतको माध्यमबाट बाहिर फाल्छ । यसलाई ग्लीम्फाटिक सिस्टम भनिन्छ । यो प्रणालीको सबैभन्दा महत्पूर्ण कार्य भनेको मस्तिष्कमा जम्मा हुने विकारयुक्त प्रोटिन अमिलोइड बेटालाई मस्तिष्कबाट प्रक्षालन गर्ने हो । अल्जाइमरका बिरामीहरूको मस्तिष्कमा यही विकारयुक्त प्रोटिन जम्मा हुन्छ । यो ग्लीम्फटिक सिस्टम हामी जागेको बेलामा भन्दा सुतेको बेलामा ६० प्रतिशत बढी क्रियाशील हुन्छ । त्यसैले मस्तिष्कमा सफाईको काम हामी जागेको भन्दा निद्राको क्षणमा बढी तीव्रताले हुन्छ ।

निद्राले हाम्रो मस्तिष्कको स्मरण शक्ति र हाम्रो सिक्ने क्षमतामा वृद्धि गर्नुका साथै मांसपेशीहरूलाई विश्रान्ति दिन्छ । अनिदोपनाले मस्तिष्कको तन्त्रिकाहरूको क्षय हुन थाल्छ तथा हाम्रो मस्तिष्कको कुनै कुरा सिक्ने तथा स्मृतिको क्षमतालाई पनि प्रतिकुल असर पार्छ । पर्याप्त तथा गहन निद्राको लामो समयसम्म कमी भयो भने त्यसले अनेक मानसिक समस्या निम्त्याउन थाल्छ तथा शरीरले प्रतिरोधक क्षमता पनि गुमाउँछ ।

रात्रिको निद्रालाई साधनाको रुपमा अभ्यास गर्न सकिन्छ । अचेलको मनुष्य दिनको शारीरिक थकानबाट मुक्ति पाउन निद्राको शरणमा जान्छ तर दिनभरिका संकल्प, उल्झन र विक्षेपहरू लिएर ऊ विस्तरामा पुग्छ । यही तनाव र चिन्ताको बोझिलो मनमा उल्झिएर नानाभाँती कुराहरू खेलाउँदाखेलाउँदै अर्धमुर्छित भएर निदाउँछ । त्यसपछि दिनभरी पुरा हुन नसकेका इच्छाहरू निद्रामा साकार गराउन उसको मनले अनेक प्रतीक, वस्तु, स्थितिहरूको छायाचित्र प्रक्षेपण गरेर सपनाहरू देखाउँछ । यो आफ्ना इच्छाहरूबाट मानसिक सन्तुष्टि लिने भित्री उपाय पनि हो । तर भय, विशाद र तनावले भरिएको जीवनचर्या हुन थाल्यो भने यही सपनाहरूले भयावह, अनियन्त्रित रुप पनि लिन्छ । तर मन निर्मल भयो भने सपनाहरू अन्तदृष्ट्रिका स्रोत पनि बन्न सक्छन् । अझ वास्तविक जीवनका समस्याहरूबाट भागेर लागु तथा मादक सेवनले सपनाहरू भ्रामक हुने जीवनका वास्तविक स्थितिको अनुभवबाट पलायनतिर लैजान्छ ।

निद्रा एकदृष्टिले मृत्यु पनि भएकोले यसलाई हल्का, शान्तिपूर्ण र सुखद अनुभूतिको स्रोतमा परिणत गर्ने कला सिक्नु एक ठूलो साधना र अभ्यास हो । यसका लागि सुत्नुभन्दा अघि ५ मिनेट मात्र भएपनि समय दिन सकियो भने यसले जीवनलाई एक नयाँ दिशा दिन सक्छ । जीवनको एक तिहाई समय निद्रामा बित्ने भएकाले यति लामो समयलाई साधनाको भाग बनाउन सकियो भने निद्रा पनि रुपान्तरणको कुंजी बन्न सक्छ । त्यसैले यो अलौकिक यात्रामा प्रवेश गर्नुभन्दा पहिला मन शान्त हुन जरुरी छ । निद्राको शक्तिलाई साधना बनाउने अनेक विधिहरू छन् । तर एक छोटो विधि यहाँ उल्लेख गर्न चाहान्छु ।

सुत्ने विस्तारमा पुगेर करिब १५ चोटि विस्तारै लामो, गहिरो श्वास लिँदै स्थिर भएर बसौँ । त्यसपछि श्वासलाई साधारण श्वासप्रश्वासको अवस्थामा आउन दिऔँ । आउने विचारहरूद्वारा मनलाई भट्कनबाट जोगाउन आउने–जाने स्वासलाई हेरौँ । यसरी मन शान्त हुँदै जान्छ । अब आफ्नो गुरु, इष्टदेवको छवि या सबैको भलो, करुणा जस्ता उद्दात्त भावहरूलाई चित्तमा आच्छादित हुन दिऊँ । शरीरलाई पैतालादेखि शिरसम्म महसुस गर्दै पूर्ण सुख, आनन्दले उदीप्त तेजस्वरुप तरंगहरू आफूबाट गतिमान भई संसारभरी फैलिएको महसुस गरौँ । यसले विचारभन्दा गहिरो भावशक्तिलाई मजवुत, सशक्त बनाई यो जीवन जगतसँग हाम्रो मैत्री र घनिष्ठतालाई बढाउँछ । यो अभ्यासबाट हाम्रो अन्त:करण संकीर्णताबाट विशालतातिर गतिमान हुन थाल्छ । यसबाट हामी अनेक अन्तरप्रेरणा प्राप्त गर्न सक्छौँ ।

आमाको गर्भमा चौबिसै घण्टा आवश्यक भएको निद्रा बुढेसकालमा आएपछि केही घण्टा मात्रमा सीमित हुन्छ । यसबाट के बोध गर्न सकिन्छ भने बाल्यकालमा निद्रा बढी तर आयु बढ्दै जाँदा त्यही निद्रा कम भई जागरणको मात्रा प्रकृतिले बढाउँदै लैजाँदो रहेछ । तर जागरणका लागि प्रकृतिले बाटो खोले पनि खराब संस्कार, भ्रमित दृष्टिकोण, छद्म ज्ञानको गुलामीको कारण मनुष्यले यो सजगता जगाउन सक्दैन । बुद्ध बन्ने अपार आन्तरिक सम्पदा र क्षमता बोकेको मनुष्य भिखारी नै यो संसारबाट बिदा हुन्छ । निदाएर जन्मेको मनुष्य फेरि निदाएरै मर्छ ।