नाइजेरियामा अनौठो रोगले दर्जनौँको मृत्यु

नाइजेरियामा अनौठो रोगले दर्जनौँको मृत्यु


‘अनौठो रोग’का कारण दर्जनौँ नागरिकको मृत्यु भएपछि नाइजेरियामा द्रूत गतिमा फैलिने उक्त रोगको विषयमा अनुसन्धान सुरु गरिएको छ । शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण मानिस बिरामी पर्ने र बिरामी अत्यन्त कमजोर हुँदै दुई चार दिनभित्रै मृत्यु हुने समस्याले विगत तीन हप्तामा ५० जनाको मृत्यु भएको नाइजेरियन अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । द गार्जियन दैनिकले जनाएअनुसार आज शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ ।

शुरुमा कोगी राज्यको पश्चिमी क्षेत्रका तीन गाउँमा एक बालकमा उक्त समस्या देखिएको र रोगका कारण गत साता उसको मृत्यु भएको थियो । सो गाउँमा पुगेको चिकित्सकसहितको स्वास्थ्य टोलीले गाउँमा पुगेर नमूना ल्यावमा पठाएको थियो । नमूना परीक्षणबाट गाउँमा अफ्रिकी मुलुकमा देखापर्ने गरेको लास्सा ज्वरो वा रक्तस्रावसम्बन्धी समस्या नभेटिएको बताउँदै उक्त रोग नयाँ प्रकृतिको भएको बताइएको छ ।

यस विषयमा प्रभावित क्षेत्रमा पुगेका मेडिकल कन्सल्टेन्ट जेनेटे हाथोर्नले समस्या लास्सा ज्वरोका कारण भएको नभएको तर साँच्चै के समस्या हो भन्ने पनि बुझ्न नसकिएको उल्लेख गर्दै रोगबारे अन्तिम निष्कर्षमा पुग्ने प्रयास भइरहेको जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका प्रभावित क्षेत्रमा उपलव्ध प्रतिनिधिले विरामीबाट नमूना सङ्कलन गरी थप परीक्षणका लागि पठाएकाले रिपोर्टपछि मात्र रोग पत्ता लाग्ने बताए । कोगी राज्यका स्वास्थ्य प्रमुख साका आउदुले गाउँको अवस्था ‘गम्भीर’ भएको जानकारी दिए ।

नाइजेरियन सरकारले यसबारे पूर्ण जिम्मेवारी लिँदै अवस्थालाई छिट्टै नियन्त्रणमा ल्याइने दबी गरेको छ ।