‘पाखण्डी राष्ट्रवाद’ले नेपाललाई फासीवादतर्फ लान्छ : प्रचण्ड

‘पाखण्डी राष्ट्रवाद’ले नेपाललाई फासीवादतर्फ लान्छ : प्रचण्ड


सत्तासीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारको राष्ट्रवादले फासीवादतर्फ लैजाने बताएका छन् । प्रत्येक नागरिकमा राष्ट्रवाद हुनु एकदमै राम्रो हो, उनले भने, ‘तर उग्र राष्ट्रवादले ल्याउने परिणमलाई पनि हामीले ख्याल गर्नुपर्दछ ।’

वाइसीएल नेपालको ‘एकताको दोस्रो सम्मेलन’ उद्घाटन गर्दै प्रचण्डले उपलब्धिलाई कुनै क्वाटरमा बसेर सामन्तीहरुले निस्तेज पार्ने कसरत गरिरहेको दाबी गरे । त्यस्तो कसरत सफल नुहने जिकीर पनि उनले गरे ।

परिवर्तन टुंगोमा पुगिनसकेको भन्दै उनले नेपालको संविधान समाजवादउन्मुख भएकाले त्यसको लक्ष्यप्राप्तिका लागि युवावर्ग नै जागरुक हुनुपर्ने धारणा राखे ।

अध्यक्ष प्रचण्डले नेपालका अझै अधिकारको लडाइँ नसकिएकाले युवाहरुले व्रिगेडको रुपमा काम गर्न आग्रह गरेका छन् । ‘नेपालमा अधिकारको लडाई सकिएको छैन । उपलब्धिको रक्षा गर्न प्रतिक्रियावादीहरुका विरुद्धमा युवाहरु व्रिगेडको रुपमा रहनुपर्छ ।’

अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा २००७ साल यताका परिवर्तनहरु पटकपटक उल्ट्याउने काम भयो । पछिल्लो परिवर्तन पनि उल्ट्याउने खतरा भइरहेको छ । युवाहरुले षड्यन्त्र कहाँ-कहाँबाट भइरहेको छ । चिन्न जरुरी छ ।’

परिवर्तन उल्ट्याउन दिने छुट अब युवाहरुलाई छैन’, उनले नेपालको विकासका लागि उत्पादन विग्रेडमा जुटेर काम गर्न पनि आग्रह गरे । माओवादी जनयुद्धका बेला वाइसिएलले विभिन्न ओडार र गुफाहरुमा बसेर अनेकौँ दुःख कष्ट सहेर परिवर्तनको लागि लडेको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘माओवादी आन्दोलन कमजोर भए परिवर्तन उल्टिन सक्छ । त्यसको विरुद्धमा एकजुट हुँदै उत्पादमा जोडिनुपर्छ ।’

उनले मेसिनगन चलाउने ब्रिगेड नभई आर्थिक समृद्धिको विकास गर्नै फौजको रुपमा युवाहरु लाग्नुपर्ने बताए । २१औँ शताब्दीको नयाँ क्रान्तिको नेतृत्व अव वाइसिएलले गर्नुपर्ने पनि जिकीर गरे । उनले युवाहरु झोक्रिएर वा टोलाएर बस्न नुहने बताए ।

उनले माओवादीबाट विभाजित भएर गएका मोहन वैद्य, डा. बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीबाट थुप्रै नेता तथा कार्यकर्ता एकजुट हुन सुरु भएको दाबी गरेका छन् । पार्टी फुटाउँदा कसैलाई फाइदा नभएको भन्दै उनले भने, ‘पार्टी फुटाउँदा राम्रो हुने भए बैद्यजीको पार्टी सबैभन्दा ठूलो हुनुपथ्र्यो, तर त्यस्तो देखिएन ।’

के के न गर्छु भनेर विप्लवजीले पार्टी फूटाएर निर्वाचनमा सामेल हुनुभयो तर जनताले पत्याएनन् ।’ उनले भने, ‘बाबुरामजीले केजरीवाल नै बन्छु झैँ गरेर पार्टी फुटाउनु भयो । जनताले तिमी माओवादी नै हौँ भनेर पत्याएनन् ।

‘हामीलाई पनि जनताले खासै पत्याएनन् । सबैलाई एकजुट गराउ भनेर जनताले सन्देश दिएका छन् । अहिले हामी माओवादी घटक मिलाउन प्रयत्न गरिरहेका छौँ ।’ उनले क्रान्तिकारी कम्युनिष्टहरु एक भएर मात्रै समाजवादको लक्ष्य प्राप्त गर्न सकिने दाबी गरे ।