यातायात, श्रम र मालपोतमाथि अख्तियारको विशेष निगरानी

यातायात, श्रम र मालपोतमाथि अख्तियारको विशेष निगरानी


सरकारी कार्यालयबाट लिइने सेवाका क्रममा कर्मचारीहरूले विभिन्न बहाना बनाई रकम माग्ने कार्यमा तीव्रता आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित स्थानमा चेतनामुलक होर्डिङ बोर्ड राख्ने भएको छ । अख्तियारले पहिलो चरणमा श्रम, यातायात र मालमोत कार्यालयमा बेग्लै कार्यालय नै खडा गरी निगरानी सुरु गरेको हो ।

सेवाग्राहीको ज्यादा घुइँचो हुने तथा भ्रष्टाचारमा कहलिएका सरकारी कार्यालयहरूमा अख्तियारले सचेतनामूलक होडिङ बोर्ड राख्ने नीति अवलम्बन गर्न लागेको हो । ‘राष्ट्रसेवक कर्मचारीले घुस मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होर्डिङ बोर्ड सरकारी कार्यालयमा राख्ने अख्तियारको तयारी रहेको छ ।

यस्तो बोर्ड सर्वसाधारणले देखिने स्थानमा कार्यालयको अगाडि राखिने छ भने पहिलो चरणको कार्यको प्रभावकारिता हेरेर यसलाई विस्तार गर्दै लैजाने आयोगले जनाएको छ । बताइएअनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिने छ । एकपटकमा सातवटा फोन कल ‘रिसिभ’ गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

अख्तियारले सर्वसाधारणलाई सहज र सरल रूपमा कार्य सम्पन्न गर्ने क्रममा कुनै कर्मचारीले घुस मागेको खण्डमा तत्काल जानकारी गराउनसमेत आग्रह गरेको छ । कुनै सरकारी अड्डाका कर्मचारीले सेवा प्रवाहमा अनेक बहाना बनाई घुस मागेमा अब सिधै अख्तियारमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ । अख्तियारले आफ्नो मोवाइल वा ल्याण्डलाइन फोनबाट १०७ मा डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था मिलाइएको हो । यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन ।

सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले सो व्यवस्था गरेको जनाएको छ । सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको प्रष्ट्याइएको छ ।

अख्तियारका प्रवक्ता जीवराज कोइरालाका अनुसार सरकारी सेवामा हैरानी भोगेका सेवाग्राहीलाई कहाँ–कसरी उजुरी गर्ने भन्ने जानकारी नभएको देखिन आएकाले सो उजुरी गर्न आयोगले हटलाइन सेवा सुरु गरेको बताए । उनले भने, ‘यो हटलाईन सेवाबाट सरकारी निकायमा हुने भ्रष्टाचार नियन्त्रण गर्न र सेवा प्रवाहमा जनताको हैरानीको समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने छ ।’