झरना सन्न्यासको मूडमा-राजन घिमिरे

झरना सन्न्यासको मूडमा-राजन घिमिरे


बाह्र वर्षमा खोलो पनि र्फकन्छ भन्छन् तर अभिनेत्री झरना बज्राचार्यको जीवनमा भने यो भनाइ मित्थ्या सावित भएको छ । धेरै ठूला अवसर अनि गहन भूमिकाहरू हात पार्दा पनि झरना कहिले पनि ‘वाहवाही’को पात्र बन्न सकिनन् । ‘हिरोइन भनेको त झरनाजस्तो हुनुपर्छ सबै पक्षबाट फिट अनि मिल्दो,’ उनको बारेमा प्रशंसाका यस्ता थुप्रै भनाइ बजारमा बारम्बार सुनिने गरिन्छ । तर विडम्बना चर्चाअनुसार उनले अभिनय गरेका सिनेमाहरू सफल नभइदिँदा यतिबेला झरना कतै ‘अनलक्की’ नायिका त होइनन् ? प्रश्न उठ्न थालेका छन् ।
निकै लामो समयको अन्तरालपछि झरना बज्राचार्यले एउटा सिनेमा हात पारिन् ‘कोही… मेरो’ । उनलाई यो सिनेमामा रामै्रसँग अवसर दिएका थिए निर्देशक आलोक नेम्वाङले । अरूहरूले ‘अनलक्की’ नायिका भनेर चर्चा चलाइरहेको अवस्थामा ठूलै ‘रिक्स’ मोलेर आलोकले झरनालाई ‘कोही…मेरो’ मा लिएका थिए । अन्ततः सो चलचित्रको ‘रिजल्ट’ व्यावसायिक रूपमा चित्तबुझदो नआएपछि यसको सबै दोष झरनालाई नै गयो । यसपछि सबैले आलोकलाई गाली गर्न थाले, ‘अनलक्की नायिकालाई राख्दा यस्तै हुन्छ ।’ आलोकलाई यसरी गाली गर्नेहरूले बुझेनन् कि एउटा सिनेमा हिट वा फ्लप हुनुमा त्यसको दोष केवल नायिकालाई मात्र जान्छ । सिनेमा ‘टिमवर्क’ हो र यसको गुण वा दोष सबैको भागिदार टिम नै हुनुपर्छ ।
नेपाली सिनेमाप्रेमी दर्शकहरूको चाहना र इच्छा पनि बुझिनसक्नु छ । कुनै त्याग, र्समर्पण अनि निरन्तरताको एउटा झिनो उदाहरण र इतिहाससँग नजोडिएका हिजो सिनेमा आएका युवतीहरूको सिनेमा सोचेभन्दा बढी चल्छ तर सिनेमा क्षेत्रमा नै समर्पित सोच, भावना र उद्देश्य बोकेका कलाकारहरूको सिनेमा चल्दैन र दर्शकहरू हेर्दैनन् । रहरे नायिका श्वेता खड्काको चलचित्र चल्छ, उषा पौडेल व्यस्त हुन्छिन् तर झरना बज्राचार्यजस्ती उच्च सोच अनि शिक्षित नायिकाले एक त फिल्म पनि पाउँदिनन् र पाए तापनि उनको फिल्म व्यावसायिक रूपमा चल्दैन, यस्तै छ यहाँको चलन ।
कसैको हात समातेर उसैको पछि लाग्नेहरू रातारात अगाडि बढिरहेको अवस्थामा आफ्नै क्षमता, दक्षता अनि प्रतिभाका कारण जनमानसमा भिजेका झरनाजस्ता कलाकारको सिनेमा नचलेपछि अब यस्ता कलाकारहरू विस्तारै विस्थापित हुने अवस्थामा पुग्न थालेका छन् । आफूले अभिनय गरेको चलचित्रहरूले निर्माताहरूले सोचेजस्तो व्यापार नगरेपछि यतिबेला नायिका झरना बज्राचार्यको मन पनि कुँडिएको छ । केही समय बेलायतमा रहेकी झरना अब नेपाली सिनेमा नै खेल्ने र यही क्षेत्रमा समर्पित हुने उद्देश्यका साथ विदेशमा आएका राम्रो अवसरहरू छाडेर स्वदेश फर्किएकी थिइन् । तर, प्रतिफल हातमा लाग्यो शून्य भएको छ । यस्ता विविध कारणहरूले गर्दा विक्षिप्त हुन पुगेकी झरना सिनेमा क्षेत्रबाटै औपचारिक रूपमा सन्न्यास लिने घोषणा गर्ने सोचमा पुगेको चर्चा पनि नचलेको होइन । तर, झरनाजस्ती बुझेकी युवतीले यति चाँडै हरेस खान नहुने प्रतिक्रिया पनि उनका शुभेच्छुकहरूको रहेको छ ।

शालीनताको गफ दिँदै ग्ल्यामर बन्ने धुन
अध्येता वास्तवमा नै भाग्यमानी सावित भएकी छिन् यतिबेला । तस्बिर हेरेकै भरमा उनलाई नेपाली चलचित्रका वितरक कृष्ण कार्कीले एकसाथ दुईवटा नयाँ चलचित्रमा नायिकाको रूपमा अनुबन्धित गरेका छन् । ‘क्षेत्रप्रतिको लगाव अनि केही गरौँ भन्ने जोस र उत्साह उनमा देखेँ । यस कारणले पनि अध्येतालाई मैले एकैपटक यति धेरै सिनेमामा अनुबन्धित गरेको हुँ,’ निर्माता कार्कीले बताए ।
अध्येता अब चाँडै नेपाली रजतपटमा एकसाथ दुईवटा चलचित्र युवराज र वषर्ात्मा नायिकाको रूपमा देखापर्ने भएकी छिन् । युवराजको निर्देशन शोभित बस्नेतले गर्ने भएका छन् भने वषर्ात्को निर्देशनको जिम्मा सानु शाक्यले पाएका छन् । दुवै सफल निर्देशकका चलचित्रबाट बजारमा आउँदा आफू पनि सफल हुने कुरा बताइन् अध्येता लोहनीले ।
विराटनगरमा स्थायी बसोबास गर्ने अध्येता बीएससी नरि्सङमा अध्ययनरत छिन् । डाक्टर पढिरहेकी अध्येताजस्ती युवतीको प्रवेशले अवश्य पनि नेपाली सिनेमा उद्योगमा शिक्षित नायिकाको अभावलाई पर्ूर्ति गर्ने देखिन्छ । चलचित्र अभिनयसँगै आफ्नो पढाइलाई पनि अगाडि बढाउँदै लैजाने योजनामा छिन् उनी । सिनेमामा अभिनय गर्ने पहिलेदेखि नै भए तापनि अहिले आएर आफ्नो इच्छा पूरा भएकोमा खुसी भएकी अध्येता तडक-भडक नभएर शालीन र भद्र भूमिकामा आफू अभिनय गर्ने र आफ्नो भूमिकाले समाजमा राम्रो प्रभाव पार्नुपर्ने कुरा बताउँछिन् ।

‘बेमान’ अब आफ्नै पछि लाग्ने
‘कति अरूको पछि लाग्नु अनि अरूकै इशारामा मात्र काम गर्नु । न दाम छ न जस नै छ’ यो गुनासो हो हास्य कलाकार बेमान अर्थात् रविन डङ्गोलको ।
चर्चित हास्य शृङ्खला ‘तीतो सत्य’बाट बेमानको उपनामले बहुचर्चित हुन सफल रवि यतिबेला आफ्नै बलबाहुमा उभिने सुरमा छन् र उनलाई साथ दिएका छन् पूर्ण थापाले ।
थापा पनि नेपाली हास्य कलाकारिता क्षेत्रमा निकै पुरानो नाम हो । ‘धेरै अरूको काम गरियो, अब आफैं मिलेर अगाडि बढौँ भन्ने उद्देश्यका साथ म र पूर्ण थापा लागिपरेका छौँ,’ रविले बताए । पूर्ण र रविको संयुक्त निर्देशन रहेको हास्य टेलिशृङ्खला जय होस् अबदेखि नेपाल टेलिभिजनको पर्दामार्फत दर्शकहरू माझ आउने भएको छ ।
यो शृङ्खला आजै बुधबारदेखि राति साढे नौ बजेबाट प्रसारण सुरु हुने भएको छ ।
विशुद्ध रूपमा प्रेमकथामाथि आधारित टेलिशृङ्खला जय होसमा प्रमुख भूमिकामा रवि र पूर्ण देखिने छन् भने रमेश केसी, मञ्जु श्रेष्ठ, राजन थापा, जानुका केसी, नवराज भण्डारी, कमला अर्याल, हरिशा बानियाँ र बाल कलाकार सर्ुदर्शन न्यौपानेको पनि अभिनय रहनेछ यसमा ।

नागार्जुनमा काव्यगोष्ठी
नागार्जुन साहित्यिक प्रतिष्ठानको हरेक महिनाको पहिलो शनिबार हुने शुभप्रभात काव्यगोष्ठीको ४७औं शृङ्खला सम्पन्न भएको छ ।
अनामनगरस्थित दाहालको दैलोमा रहेको कार्यालयमा सम्पन्न काव्यगोष्ठीमा सहभागी स्रष्टाहरूले आ-आफ्ना सिर्जना वाचन गरेका थिए । कार्यक्रममा स्रष्टाहरू आनन्दराम पौडेल, गोपालकुमार मैनाली, चेतनाथ धमला, देवकुमारी लुइँटेल, प्रकाश सिलवाललगायतले आफ्ना सिर्जना वाचन गरेका थिए ।