आन्दोलनले विराटनगर भन्सार ठप्प : पाँच दिनदेखि गाडी आएनन्

आन्दोलनले विराटनगर भन्सार ठप्प : पाँच दिनदेखि गाडी आएनन्


भारतीय बाढी पीडितले गरेको आन्दोलनका कारण विराटनगर भन्सार कार्यालयको काम कारवाही ठप्प भएको छ । बिहार सरकार तथा अररिया जिल्ला मेजिस्ट्रेड कार्यालयले समेत वास्ता नगरेको भन्दै भारतीय नागरिकले नेपाल–भारत सीमाको जोगबनी नाकामा टायर बालेर प्रदर्शन गरिरहेका छन ।

विगत पाँच दिनदेखि सीमामा भई रहेको आन्दोलनले भन्सार राजश्व असूली प्रभावित बनेको हो । ठूला मालवाहक गाडी आउन सकेका छैनन् भने नेपालतर्फबाट समेत मालसामान निर्यात ठप्प भएको छ । गत शनिबार आएको बाढीमा परेर निधन भएका भारतीय नागरिकलाई त्यहाँको सरकारले राहत तथा क्षतिपूर्ति नदिएको भन्दै पाँच दिनदेखि सीमाको जोगबनी नाकामा दिनहुँ प्रदर्शन भई रहेको छ ।

जसका कारण भारतबाट नेपालतर्फ आउने मालवाहक सवारी आवगमनमा समस्या भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ । भन्सार कार्यालयका प्रवक्ता दिलिप केसीका अनुसार बाढी प्रभावितको आन्दोलनले भन्सार असूलीमा निकै ठूलो असर गरेको छ।

साउन २८ गते शनिबारदेखि मालवाहक गाडीहरू सीमापारी रोकिएको तर उताको यार्डमा भएका गाडीहरु भने लगभग सीमासम्म आइसकेको विराटनगर भन्सार कार्यालयले जनाएको छ । गाडी नआउँदा भन्सार असूली घट्ने क्रम सुरु भएको हो।

दैनिक साढे ६ करोडसम्म राजस्व संकलन गरिरहेको कार्यालयले अहिले मुश्किलले पाँच लाखसम्म संकलन गरिरहेको छ । कार्यालयले २८ गते ४ लाख, २९ गते १ लाख ८७ हजार, ३० गते ३९ लाख र ३१ गते ५३ लाख राजस्व संकलन गरेको थियो ।

पेट्रोल तथा डिजलका गाडी बाहेक यो नाकाबाट ६० वटासम्म मालवाहक गाडी नेपाल भित्रने गरेका छन । साउनमा भन्सार कार्यालयले २ अर्ब १८ करोड लक्ष्य लिएकोमा १ अर्ब ७० करोड मात्र संकलन गरेको छ । विराटनगर भन्सारले चालु आर्थिक वर्षमा ३१ अर्ब राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।