अख्तियारले सीधा गुनासो सुन्ने : घूस मागे ? १०७ मा फोन गर्नूस्

अख्तियारले सीधा गुनासो सुन्ने : घूस मागे ? १०७ मा फोन गर्नूस्


सरकारी कार्यालयमा भ्रष्टाचार र अनियमितता बढेको गुनासो आउन थालेपछि सर्वसाधरणको सुविधाका लागि अख्तियारले यस्तो छुटै व्यवस्था गरेको छ । सरकारी निकायको भ्रष्टाचार र अनियमितताको छानविन गरी मुद्दा चलाउने संवैधानिक निकाय अख्तियारले सरकारी कर्मचारीलाई जनताप्रति उत्तरदायी बनाउन यस्तो सेवा सुरु गरेको बताएको छ ।

आफ्नो मोवाइल वा फोनबाटै १०७ अंक डायल गरेर अनियमितता गर्ने सरकारी कर्मचारीलाई उजुरी दिन सकिने व्यवस्था अख्तियारले थालेको हो । यो नम्बरमा फोन गर्दा पैसा नलाग्ने अख्तियारले जनाएको छ ।आयोगका अनुसार हटलाइनबाट आएको सूचनाको तत्काल सम्बोधन गरिनेछ । एकपटकमा सात वटा फोनकल ‘रिसिभ’ गर्नसक्ने व्यवस्था मिलाइएको अख्तियारले जनाएको छ ।

अख्तियारले बढी सेवाग्राहीको बढी घुइँचो हुने तथा भ्रष्टाचार हुने सरकारी कार्यालयहरूमा सचेतनामूलक होडिङ बोर्ड राख्ने भएको छ ।  आयोगले शुक्रबारदेखि नै ‘राष्ट्रसेवक कर्मचारीहरूले घूस/रिसवत मागेमा १०७ मा फोन गर्नुहोला’ भन्ने व्यहोराको होडिङ बोर्ड सरकारी कार्यालयमा राख्ने तयारी गरेको जनाएको छ ।

जसअन्तर्गत पहिलो चरणमा बढी भ्रष्टाचार हुने देखिएका स्थानमा यस्तो होडिङबोर्ड राखिने अख्तियारले बताएको छ ।  यस्तो बोर्ड सर्वसाधारणले देखिने स्थानमा कार्यालयको अगाडि राखिने आयोगले बताएको छ । पहिलो चरणको कार्यको प्रभावकारीता हेरेर यसलाई विस्तार गर्दै लाने आयोगले जनाएको छ ।