२० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा

२० करोड क्षतिपूर्ति माग गर्दै मुद्दा


नियोजित रूपले समाचार प्रकाशन गरी गाली–बेइज्जति गरेको भन्दै नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले ‘नागरिक दैनिक’माथि २० करोड क्षतिपूर्ति दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।

निगमले पेट्रोलियम पदार्थ भण्डारण गर्ने उद्देश्य राखी खरिद गरेको जग्गामा आर्थिक चलखेल भएको समाचार निरन्तर रूपमा प्रकाशन गरी आएको नागरिक राष्ट्रिय दैनिकका प्रबन्ध सञ्चालक विनोदराज ज्ञवाली, सञ्चालक शोभा ज्ञवाली, सम्पादक गुणराज लुईंटेल र रिपोर्टर दिलिप पौडेललाई प्रतिवादी बनाई निगमका प्रमुख खड्काले गाली–बेइज्जती मुद्दा दायर गरेका हुन् ।

मुद्दामा नेपाल आयल निगमको सेवा विस्तारबाट रुष्ट भएको अमुक व्यापारीको प्रभावमा परि नागरिक दैनिकले आफूमाथि विभिन्न आर्थिक अपचलनको आरोप लगाएको भन्दै नियोजित तवरले आफूलाई बेइज्जती गर्ने प्रतिवादीहरूसँग खड्काले जनही २० करोड क्षतिपुर्तिको साथै २ वर्षसम्म कैदको माग गरेका छन् ।

गोपाल खड्का र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्नेतबीच कुनै नाता नभए पनि नागरिक दैनिकले नाता कायम गर्न खोजेको, नागरिक दैनिकले समाचार प्रकाशन गरेको भरमा अख्तियारले गोपाल खड्काउपर कारवाही नथालेको कारण अख्तियार प्रमुख समेतलाई बदनाम गर्ने जस्ता आरोप निवेदक खड्काले लगाएका छन् ।