अचाक्ली महँगियो तरकारी, अनुगमन गर्ने निकाय मौन !

अचाक्ली महँगियो तरकारी, अनुगमन गर्ने निकाय मौन !


तरकारीको भाउ अचाक्ली महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार करिब दुई सातायता हरियो तरकारी भाउ थोक मूल्यमै २ सय २७ प्रतिशतले बढेको हो ।

समितिको तथ्यांकअनुसार भिन्डी, परवल, धनियाँ, प्याज, लौका, घिरौंला, बन्दा, गोलभेडा, आलु, भटमास, काउली, फर्सीलगायत तरकारीको मूल्य अकासिएको छ ।

दुई साताअघि किलोको २२ रुपैयाँ (थोक मूल्य) पर्ने भिन्डी हाल २ सय २७ प्रतिशतले बढेर ७२ रुपैयाँ पुगेको छ । प्रतिकिलो ३३ रुपैयाँ पर्ने परवर हाल १ सय ३६ प्रतिशतले बढेर ७८ रुपैयाँ पुगेको छ ।

किलोको २८ रुपैयाँ पर्ने झिगुनी बढेर ५८ रुपैयाँ पुगेको तथ्यांकमा छ । किलोको १ सय ५ रुपैयाँ पर्ने धनियाँ बढेर १ सय ९५ रुपैयाँ पुगेको छ । किलोको ४५ रुपैयाँ पर्ने गोलभेडा ७२ रुपैयाँ, ३४ रुपैयाँ पर्ने प्याज बढेर ५४ रुपैयाँ पुगेको जनाएको छ ।

समितिका अनुसार २८ रुपैयाँ पर्ने लौका बढेर ४२ रुपैयाँ, किलोको ५२ रुपैयाँ पर्ने बोडी बढेर ७८ रुपैयाँ, १३ रुपैयाँ पर्ने बन्दा बढेर १९ रुपैयाँ पुगेको छ ।

यस्तै ४८ रुपैयाँ पर्ने घिउसिमी बढेर ८२ रुपैयाँ, ४२ रुपैयाँ पर्ने घिरौंला ५८, २२ रुपैयाँ पर्ने सेतो आलु २८, १ सय ६५ रुपैयाँ पर्ने च्याउ १ सय ९५ रुपैयाँ पुगेको समितिको तथ्यांकमा छ । उत्यकामा मुख्यतः धादिङ, नुवाकोट, काभ्रे, चितवन, मकवानपुरलगायत तराईका जिल्लाबाट पनि तरकारी भित्रिन्छ ।

बाढी–पहिरोको बहानामा थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीहरूले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।
व्यवसायीले पसलपिच्छे फरक मूल्यमा बिक्री गरेका छन् । बजारमा खुल्लामखुला ठगी भए पनि सम्बन्धित निकाय भने मौन बसेको छ ।

बजार अनुगमन, नियमन र हस्तक्षेप गर्ने अधिकार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग मौन बसेको हो । यसले उपभोक्ता थप मारमा पर्ने देखिन्छ ।