१ करोड ६६ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको दाबी

१ करोड ६६ लाख निःशुल्क एसएमएस आदानप्रदान भएको दाबी


बाढीपहिरो प्रभावित क्षेत्रमा आफ्ना ग्राहकको सञ्चार सुनिश्चित गर्न एनसेलले गत मंगलबारसम्म प्रदान गरेको निःशुल्क एसएमएस सेवाअन्तर्गत १ करोड ६६ लाख भन्दा बढि एसएमएस आदानप्रदान भएको एनसेलले जनाएको छ । विपतको बेला आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहयोग गर्नका लागि एनसेलले आफ्ना ग्राहकलाई आइतबारबाट तीन दिनसम्म प्रतिदिन प्रति ग्राहक ५० वटा निःशुल्क एसएमएस उपलब्ध गराएको थियो ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको निर्देशनअनुसार एनसेलले बाढीपहिरो प्रभावित २३ जिल्लाका ग्राहकलाई निःशुल्क एसएमएस सेवा प्रदान गरेको थियो । यस बाहेक भ्वाइस तथा डेटा सेवालाई सहज बनाउन एनसेलले ब्यालेन्स ट्रान्सफर सेवा पनि निःशुल्क बनाएको थियो भने एनसेल सापटी सेवाअन्तर्गत प्राप्त हुने सापटी रकमलाई वृद्धि गरि विद्यमान सेवा शुल्कमै रु ६० सापटी प्रदान गरिएको थियो ।

प्राकृतिक विपद्का बेला ग्राहकलाई सम्पर्कमा रहन विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको एनसेलले जल तथा मौसम विज्ञान विभागसँग सहकार्य गर्दै बाढीको जोखिम रहेका क्षेत्रमा आफ्ना ग्राहकलाई बाढीसम्बन्धी पूर्वसूचना (एसएमएस अलर्ट) पनि प्रदान गर्दै आएको बताइएको छ । यसअन्तर्गत कम्पनीले विगत एक सातामा (साउन २४ देखि साउन ३० सम्म) ६० लाख भन्दा बढि पूर्वसूचना पठाएको थियो ।